यी पाँच नायिका, जो विवाहपछि पनि आफ्नो क्षेत्रमा चम्किए

नायिकाहरु सिने क्षेत्रबाट पलायन हुनुको कारण विवाह र सिनेमा करिअरलाई सन्तुलन गर्न नसक्नु नै हो।

बागलुङ, २९ असार-नेपाली सिने क्षेत्रका नायिकाहरु अक्सर विवाह पश्चात पलायन हुने गरेका छन्। पारिवारिक कारण, विदेशी मोहको कारण होस् या निर्माता–निर्देशकको अरुचिका कारण– विवाह पश्चात नायिकाहरु पलायन हुने संख्या नेपाली सिनेउद्योगमा धेरै छ। जस्तो: नायिका जल शाह, विपना थापा, सारंगा श्रेष्ठ, अरुणिमा लम्सालदेखि पछिल्ला पुस्ताकी नायिकाहरुमा रेजिना उप्रेती, गरिमा पन्त ,प्रकृती श्रेष्ठ, आशिष्मा नकर्मी लगायतका दर्जनौँ नायिकाहरु विवाह पश्चात् आफ्नै पारिवारिक संसारमा रमाइरहेका छन्।
नायिकाहरु सिने क्षेत्रबाट पलायन हुनुको कारण विवाह र सिनेमा करिअरलाई सन्तुलन गर्न नसक्नु नै हो। यद्यपि, नायिका मेलिना मानन्धर, सञ्चिता लुइँटेल, रिमा विश्वकर्मा लगायतका केही नायिकाहरु विवाहपछि सानै भूमिकामा भएपनि बेलामौकामा सिनेमामा देखिने गरेका छन्। केहीले भने वैवाहिक सम्बन्धलाई नै तिलाञ्जली दिएर सिने करिअरलाई निरन्तरता दिएका छन्। पछिल्लो उदाहरण नायिका प्रियंका कार्की हुन्। रोचक मैनालीसँगको पारपाचुकेपश्चात् एक अन्तर्वातामा कार्कीले भनेकी छन्, ‘सिङ्गल हुदाँ जहाँ गएपनि जति बेला घर फर्के पनि किचकिच गर्ने कोही हुँदैन।’
वैवाहिक सम्बन्धमा रहँदा धेरै कुराको जिम्मेवारी सम्हाल्नु पर्ने हुँदा करिअरलाई निरन्तरता दिन अप्ठेरो पर्ने गरेको उनको अभिव्यक्तिले संकेत गर्छ। तर, यस्ता केही नायिका पनि छन्, जसले विवाहपछि पनि पूर्ववत रुपमा आफ्नो सिने करिअरलाई निरन्तरता दिएका छन्। बरु विवाह पश्चात् उनीहरुको सिने करिअरमा कायापलट आएको पाइन्छ। जस्तै: नायक भुवन केसीसँग विवाहपछि सुष्मिता केसी बम्जन हिट नायिका बनिन्। केसीसँगको पारपाचुकेपछि उनी अहिले निर्माताको भूमिकामा छिन्। नायिकाका रुपमा उनी चम्किनुमा केसीसँगको विवाह नै प्रमुख कारण थियो। आउनुस्: यस्तै ५ नायिकाहरुको चर्चा गरौँ, जसका लागि विवाह सिने करिअरलाई अघि बढाउन फलिफाप भएको छ।
करिष्मा मानन्धर
सधैँ चर्चा र मिडियाको केन्द्रविन्दुमा रहिरहने नायिका हुन् मानान्धर। कस्तुरी सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका बुनु केसी निर्माता विनोद मानन्धरसँगको वैवाहिक सम्बन्धपश्चात् करिष्मा मानन्धरमा परिणत भइन्। र, विवाह उनका लागि फलिफाप भयो।पति बिनोदसँग करिष्मा मानन्धर
पति बिनोदसँग करिष्मा मानन्धर
सिनेबृतका उनी निकटका केही व्यक्तिहरु भन्छन्ः सायद करिष्माको विवाह विनोद मानन्धरसँग नभएको भए हालको स्थानमा करिष्मा हुँदैनथिन्। भाग्यमानी मान्नै पर्छ करिष्मालाई, जसले विनोद जस्ता श्रीमान् पाइन्। यस अर्थमा विवाह पछि निकै सफल नायिकाको पहिलो सूचिमा करिष्मालाई राख्न सकिन्छ।
झरना थापा
कमला राजभण्डारीबाट नायिका झरना थापा बन्नुमा उनको विवाहकै महत्वपूर्ण हुन भूमिका छ। थापा कुनै समय पद्मकन्या क्याम्पसमा पढ्दा राम्रो नाच्ने गर्थिन्, अरुलाई पनि नाच सिकाउथिन्। उनको नाचको चर्चा चुलिएपछि निर्माता सुनिलकुमार थापा उनलाई खोज्दै कलेज पुगेका थिए।पति सुनिलसँग झरना थापा
पति सुनिलसँग झरना थापा
त्यसो त, नायिका थापाले निर्माता थापासँग भेटपूर्व नै दाइजो नामक सिनेमामा काम गरिसकेकी थिइन्। पछि थापाले उनलाई आफ्नो सिनेमा र जीवनमा ल्याए। तत्पश्चात् उनी कमला राजभण्डारीबाट नायिका झरना थापा बनेकी हुन्। विवाहपछि श्रीमान र परिवारको हौसलाले उनले सफलताप्राप्त गरिन्। ए मेरो हजुर, गोर्खाली, आफन्त, हामी तीन भाई, पाहुना, मुग्लान जस्ता हिट सिनेमा दिइसकेकी झरना यतीबेला सफल निर्देशक पनि बनेकी छन्। गत वर्ष रिलिज भएको ‘ए मेरो हजुर–२’ को निर्देशन गरेकी झरना आफ्नै छोरी सुहाना र नायक अनमोल केसी लिएर ‘ए मेरो हजुर–३’ निर्देशन गर्ने तयारीमा छिन्।
रेखा थापा
‘नायिका रेखा थापा’ बनाउन विवाहले निकै साथ दियो भन्दा फरक नपर्ला। छविराज ओझाको निर्माण रहेको सिनेमा ‘हिरो’ बाट रजतपटमा प्रवेश गरेकी रेखा थापा निर्माता छविराज ओझाको मनमा पनि प्रवेश गरिन्। उनीहरु विवाह बन्धनमा बाँधिएपछि नायिका रेखा थापाले पछाडि फर्केर हेर्नु नै परेन।छबि ओझासँग रेखा थापा
छबि ओझासँग रेखा थापा
सिने क्षेत्रमा एक दशक राज गरेकी नायिका रेखाले केही वर्ष पहिले छविराज ओझासँग पारपाचुके गरिन्। त्यसयता उनका सिनेमा खासै सफल भएका देखिन्नन्। जे होस्, रेखा थापालाई विवाह फलिफाप भयो। उनी विवाहपश्चात् नै सफलताको शिखरमा पुग्न सफल भएकी नायिका हुन्।
स्वेता खड्का
विवाहपश्चात् सिने क्षेत्रमा निरन्तर लागिरहेकी नायिकाको सूचिमा स्वेता खड्का अर्को ओजनदार नाम हो। ‘कहाँ भेटिएला’ नामक फिल्मसँगै स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई भेटेकी खड्काले उनैसँग विवाह गरे। श्रेष्ठको असामयिक निधनका कारण नायिका खड्काले स्व श्रेष्ठसँग लामो समय बिताउन पाइनन्। तर उनको सिने यात्रा भने सहज र सरल रुपमा चलिरहेको छ।पति स्व श्रीकृष्ण श्रेष्ठसँग स्वेता खड्का
पति स्व श्रीकृष्ण श्रेष्ठसँग स्वेता खड्का
उनले श्रीमान् श्रीकृष्णसँग ‘कोहुनूर’ फिल्म खेलेपश्चात् लामो समयपछि ‘कान्छी’ सिनेमा निर्माण गरिन्। सफल कारोबार गरेको ‘कान्छी’ बाट हौसिएकी नायिका खड्का वर्षमा एउटा सिनेमा निर्माण र अभिनय गर्ने ध्याउन्नमा छिन्।
स्वस्तिमा खड्का
‘चुलबुले’ एवं ‘राष्ट्रिय भाउजु’ को सम्बोधन पाएकी नायिका स्वस्तीमा खड्का विवाहपश्चात् सिने क्षेत्रमा चम्किएको अर्काे नाम हो। ‘होस्टल रिर्टन्स्’ बाट रजतपटमा प्रवेश गरेकी खड्का निर्देशक निश्चल बस्नेतसँगको विवाहपश्चात अझ चर्चामा आइन् र सिनेयात्रा अझै सरल र फराकिलो बन्न पुग्यो।पति निश्चल बस्नेतसँग स्वस्तिमा
पति निश्चल बस्नेतसँग स्वस्तिमा
होस्टल रिर्टन्स्, लव लव लव, छक्का पञ्जा-२ , दुई रुपैयाँ, प्रेमगीत-२ , जय भोले, छक्कापञ्जा-३, नाइ नभन्नु ल-५, बुलबुल जस्ता सिनेमामा आबद्ध भएकी नायिका खड्का यतिबेला सिने करिअरको ‘पिकआवर’ मा छिन्। हुन त, सिने नगरीका नायिकाहरु विवाहपश्चात् कि श्रीमान् छोड्छन् कि सिनेमा क्षेत्र। तर कमैले परिवार र सिने क्षेत्र दुबैलाई व्यवस्थापन गर्न सकेका छन्। परिवार र सिने क्षेत्र दुबैमा सन्तुलन मिलाएर जाँदा प्राप्त हुने सफलताले नायिकाहरुलाई नाम र सम्मान दुबै दिने गर्छ। बुझ्नुपर्ने कुरा के हो भने, विवाह बन्धन मात्रै होइन, शक्तिपनि हो। साथ-सहारा र खुशी साँट्ने नजिकको साथी पाउनु पनि हो विवाह। विवाहले करिअरलाई असर पार्छ भन्नु आंशिक सत्यता हुन सक्छ। तर निरपेक्ष ढंगले विवाहमाथि आरोप लगाउनु जायज हुँदैन भन्ने कुरा यी ५ नायिकाहरुको सफलताले प्रमाणित गरेको छ। नेपालखबर