पिसाबको रंगले बताउँछ रोग

हाम्रो शरीरको फोहोर, काम नलाग्ने विकार पिसाबको माध्यमले प्राकृतिक तवरले बाहिर निस्किन्छ । पिसाबको रंग र यसमा हुने परिवर्तनले समेत हाम्रो स्वास्थ्य स्थितिबारे संकेत दिन सक्छ । यदि तपाईंको पिसाबको रंग पारदर्शी पहेंलो छ भने तपाईंको स्वास्थ्य ठीक रहेको बुझ्नुपर्छ । तर गाढा पहेंलो रंगको पिसाब आए सतर्क हुनुपर्छ । यो तपाईंको कलेजोसँग जोडिएको समस्याको संकेत पनि हुन सक्छ । यति मात्र नभई रगतको कमीको संकेतको रूपमा समेत यो अवस्था देखिएको हुन सक्छ ।
पिसाबको रंग पहेंलो हुनुले तपाईंको शरीरमा पानीको कमीको संकेतसमेत गर्छ । यदि तपाईंले कम पानी खानुभएको छ भने पर्याप्त मात्रामा पानी खानुस् । स्वत: स्वाभाविक रंगमा फर्कन्छ । तर पानी खाँदासमेत रंग पहेंलो नै रहे चिकित्सकीय सल्लाह आवश्यक हुन्छ । गाढा खैरो रंगको पिसाबले कलेजोको समस्या वा जन्डिसको संकेतसमेत गर्छ । यस्तो समस्या लामो समयसम्म देखिएमा तुरुन्त चिकित्सकीय सहयोग आवश्यक हुन्छ ।
रातो रंगको पिसाब आएमा टयुमर वा मृगौलाको पत्थरीजस्ता रोगको संकेत हुन सक्छ । यस्तो स्थितिमा पनि तुरुन्तै चिकित्सकीय सहयोग आवश्यक पर्छ । सामान्य रूपले आफूले चाहिए जति पानी नखाने स्थितिमा पिसाबको रंग पहेंलो देखिए आत्तिनु हुँदैन । दिनहुँ आफूलाई उपयुक्त रहेको मात्रा अनुसार नियमित पानी सेवन गर्दा यसको रंग आफैं स्वाभाविक हुन्छ ।