जिन्दगीका उरन्ठ्याउला संस्मरण

‘नजाउ पर आउ ओर ओर, तिम्रो म छु मेरो त को छ र ?
सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छकी जिन्दगानीमा…।’
बिहान साढे पाँच बज्दा नबज्दै परेको मसिनो पानीले यो गीतको सम्झना एक फेर उसैगरी गराइदियो जतिवेला हामी साना थियौ, र पनि दिल खोलेर गाउँथ्यौं। अँ! साँच्चै यो मौसम असारको पो हो त। अक्सर यतिवेला पर्ने पानी पनि सिमसिमे नै हुन्छ। लामो खडेरीपछि पर्ने पानी मुसलधारे हुन्छ तर यतिवेला भने अनौठो संयोग परेको थियो। सायद माथिको गीतको सम्झना गराइदिनलाई हुनुपर्छ। म यो मौसम र गीतको किन चर्चा गरिरहेको छु भने यो जेठ माहिनाको अन्तिम शुक्रबार हामी सबै शिक्षकहरू विद्यार्थी लिएर सिद्धगुफा घुम्न गएका थियौं। यस्लाई विद्यालयले नामाकरण गरेको थियो शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गतको शैक्षिक भ्रमण।
बिहिबार नै विद्यार्थीलाई सूचित गरिएको थिथो। बिहान साढे पाँच बजे विद्यालय प्रांगणमा आइपुग्ने भनेर। केही विद्यार्थी निकै उत्साहित थिए। केहीले सूचना सुन्दै गर्दा प्रतिक्रिया जनाइरहेका थिए भने केही अलि असन्तुष्ट थिए। असन्तुष्टहरुले के छ? त्यो सिद्धगुफामा सँधै त्यही जानुपर्ने भन्नेजस्ता प्रश्न गरिरहेका थिए। यसरी प्रश्न गर्नेहरु प्रायः १० कक्षाका थिए। उनीहरु अघिल्लो वर्ष सामाजिक विषय अन्तर्गतको भ्रमण त्यही गएका हुन्। जे होस यो मौका गुमाउन भने कोही चाहँदैन थिए। शैक्षिक भ्रमणले पनि विद्यार्थीलाई जिज्ञाशू बनाउँछ। अवलोकनकर्ताको हुन मद्दत गर्छ। धारणाको निर्माण गराउन सहयोग मिल्छ। आलोचनात्मक चिन्तनको विकास गराउँछ। आलोचनात्क चिन्तन राख्नेहरू नै प्रश्नकर्ता हुन्। मेरो मनमा कुरा खेलिरहेथे कम्तिमा पनि विद्यार्थीले हामीलाई प्रश्न गर्नेछन्। हामी त्यसको जवाफ दिनुपर्नेछ।
बाटोमा पर्ने सबै ठाउँहरुबारे म आफू जानकार थिएँ, तर सिद्धगुफाको ऐतिहासिक महत्वबारे मैले केही जानेको थिइनँ। त्यका लागि हामीले जानेको साथी लक्ष्मण देवकोटा छानेका थियौं। उनी स्कुलका लाइब्रेरियन् हुन्। उनलाई सिद्धगुफाबारेको केही जानकारी छ। अघिल्लो वर्ष विद्यार्थीत्यहाँ पु‍र्‍याउँदा उनले नै गुफाको महत्वबारे विद्यार्थीलाई जानकारी दिएका थिए। यतिवेला उनी त्यहाँ जान नपाउने भएपछि हामीले उनीबाट कम्तिमा सिक्न जरुरी थियो। सकेसम्म विद्यार्थी सन्तुष्ट पार्न सक्नु हाम्रो कर्तव्य हुन आउथ्यो। हामीले त्यही गर्‍यौं।
उनले धार्मिक कोणबाट हामीलाई जानकारी दिए। उनले दिएको जानकारी यस्तो थियो ‘जुम्लाको मुटु मानिने चन्दननाथ दत्तात्रेय जुम्ला बोहरागाउँको दक्षिणपट्टि देयारखोला जंगलमा विराजमान थिए। उनी मन्दिर र गुफामा ओहोर दोहोर गरिरहन्थे। त्यसका अलावा जुम्ला जिल्लामा खडेरी पर्दा सिद्धगुफामा गई पूजा गर्दा पानी पर्छ भन्ने विश्वास अहिले पनि रहिआएको छ। संयोग नै मान्नुपर्छ त्यसदिन हल्का पानी परिरहेको थियो। केही केटाकेटी र धार्मिक आस्था भएका सर म्याडम हामी आएकैले यहाँ पानी पर्‍यो भन्न भ्याइरहनुभएको थियो। म हाँसिरहेको थिएँ। त्यतिबेला मलाई विज्ञान शिक्षकले सानोमा पानी पर्ने प्रक्रियाबारे सिकाएको कुरा सम्झना आइरहेको थियो। त्यो दिन जति पानी पर्‍यो त्यो सिमसिमे थियो। त्यसयता एक साता पुरै पानी परेन र अगाडि पनि पुरै खडेरी परेको थियो। म नजिकको एउटा विद्यार्थीले सानो स्वरमा भन्छ सर पानी पूजा गरेर पर्छ र? हामी दुबैजना मुस्कुराइदिन्छौं।
सिद्धगुफामा आज पनि भारतबाट योगीहरू आउने गर्छन्। यहाँबाट पूर्वतिर गएका र भारतमा रहेका देवकोटाहरु पनि गुफा खोज्दै आउने गर्छन्। यसरी हेर्दा गुफाको धार्मिक महत्व बढी छ। शुक्रबार बिहान साढे पाँच बजे केही विद्यार्थीहरु विद्यालयमा पुगिसकेका थिए। शिक्षकहरुमा सबैभन्दा पहिला म पुगेको थिएँ। विद्यार्थीले गिज्याउँदै भने, ‘सरहरू त सब अल्छि हुनुहुन्छ क्या।’ मैले हाँस्दै प्रश्न गरे म पनि अल्छि? उनिहरूले त्यसको जवाफ दिए, ‘एक तपाईँ त आउनु भएको छ नी। अरु सर खोई त?’, म फेरि बोल्छु सबै विद्यार्थी पनि त छैनन् नी। विस्तारै विद्यार्थीहरु आउँदै थिए।
पछि जाने भनेका सर म्याडमहरु लगभग आइपुग्नुभयो। अलि पछि नवराज भण्डारी र जगदिस न्यौपाने सर आइपुग्नुभयो। यस्ले झन् उत्साह थपिदियो। विद्यार्थी एकसाथ ठूलो स्वरमा कराए। एक पटक त यस्तो लाग्यो यहाँ विश्वकप फुटबल भइरहेछ। सबै दर्शक भएका छन्। उनीहरुले हुटिङ गरिरहेका छन्। आफ्नो टिमले गोल हान्यो। अनी दर्शक कराए। त्यसपछि ढिलो नगरी हामीलाई हिड्नु थियो। हामी हिड्यौं। बाटो थाहा भएका विद्यार्थी अगाडि लागे। उनीहरूलाई हामी सबैले पछ्यायौं। स्कुलदेखि साँईकुराको धारासम्मको बाटो खास उकालो छैन। त्यहाँसम्म विद्यार्थीहरु सजिलै हिँडिरहेका थिए। त्यसपछि गुफासम्मको बाटो पुरै उकालो छ। उकालो हिड्न त सबैलाई गाह्रो हुन्छ।
हामीकहाँ चलनचल्तीमा एउटा उखान छ ‘रोगी र निरोगी चैत छानिन्छन्।’ चैतमा निकै धुप (गर्मी) हुन्छ। उकालो हिँड्न गाह्रो हुन्छ। रोगीहरु उकालो हिँड्न सक्दैनन्। निरोगीहरु सजिलै हिड्न सक्छन्। अनि रोगी निरोगी छान्न सजिलो हुन्छ। यसरी रोगी निरोगी छान्न चैत नै नचाहिने भए पनि उकालो त पक्कै पनि चाहिने र’छ। पेट ठूलो हुनेहरु, मोटाहरू, हिड्न नसक्नेहरु प्रायलाई सजिलै भनिने गरिन्छ उनीहरु रोगी हुन्छन्। म, अकल सर, कवि सर हामी त्यसैका पर्याय थियौं। उकालो हिड्दै गर्दा एक जना विद्यार्थी बोल्छ-सर त मोटो भइकन पनि बवाल हिड्न सक्नुहुने रै’छ। मैले प्रतिउत्तरमा भने – मजस्तै मोटाहरु पनि कम हिँडेका छैनन् नि हेरत उता। उता अकल सर र कवि सर मज्जाले हिँडिरहनुभएको थियो। भण्डारी सर र जगदिस सर त प्रायः अगाडि हिड्नुहुन्थो। उहाँहरू निरोगी हुनुभयो। म्याडमहरु पनि कम हुनुहुन्थेन। उहाँहरु सब हामी विपरीतको सूचीमा पर्नु भयो।
केही विद्यार्थी पनि मोटा थिए। उनीहरू पनि हिड्न नसक्ने नै भए लगभग। एउटी मोटी केटी हिड्न सकिरहेकी थिइन। उसलाई म फ्याट्ट भनिदिन्छु हिड्न सकेनौं मोटी, मोटी थसुल्ली। अहो ! मैले यो के भने? किन मोटी थसुल्ली भने? ऊ मोटीसम्म हो। त्यति भन्दा त केही फरक पर्दैन तर मोटी थसुल्ली ? मोटी थसुल्ली त मोपासाको चर्चित कथा ब्लुदे स्विपकी पात्र पो हो, किन मैले उस्को नाम बिगारीदिएँ? उदार स्वभाव भएकी मोटी थसुल्ली जो पेशाले वेश्यावृद्धि गर्छे। उसमाथि समाजका तथाकथित सम्भ्रान्त र भलादमिजनहरुले गरेको व्यवहार सम्भवत विश्व साहित्यमै ठिटलाग्दो दृष्य हो। जसरी हरेक पल्ट मोपासाको कथा पढ्दा पाठकले आफू लज्जित भएको महसुस गर्छ। त्यसरी नै म पनि लज्जित भएको महसुस गरिरहेको थिएँ।
टोली अगाडि बढिरहेको थियो। थाक्ने थाकेकै थिए। उत्साहित अगाडि बढेकै थिए। जे होस असिन पसिन सबै थिए। पसिनाले सब भिजेका थिए। सास सबैको फूलेको थियो। सिमसिम पानीले अलिकति भए पनि जिउ सेलाउन मद्धत गरिरहेको थियो। नत्र बिहान भए पनि डाँडाँमा घाम त लागिहाल्थ्यो। त्यसपछि पसिना चुहिने मात्र थिएन। पसिनाको त नदी नै बग्ने थियो। एउटी सानी फूच्ची रेनिका। ऊ ६ कक्षामा पढ्छे। रुन्चे स्वरमा आधा बाटोमै बोल्छे- सअअअअअर हामी नजाने। हामी थाक्यौं। हामी हिड्न सक्दैनौं। हाम्रो लागि सिद्धगुफा यही भयो हामी फर्किन्छौं। म हाँस्दै गीत गाउँदै उसलाई जिस्कादिन्छु मलाई मलेसिया यही, मलाई दुबई, कतार यही। यतिवेला सम्झिइन्छन् पशुपति शर्मा। उनको यो गीतले एकताका खुब चर्चा पायो। रेनिका हाँस्छे। उस्को थकान अलिकति भए पनि कम हुन्छ। ऊ उकालै हिड्छे ओरालो हिड्दिन। मतलव फर्किने आँट गर्दिनँ। ठ्याक्कै त्यतिवेला मलाई फेसबुकमा कसैले लेखेको याद हुन्छ। ‘गन्तव्यको आधा बाटोमा पुगेपछि कहिल्यै नफर्किनू किनभने गन्तव्यमा पुग्न पनि त्यतिकै समय लाग्छ’, रेनिकाले त्यही गरी।
साना नानी बाबुहरुको उकालो चड्ने आँट सगरमाथा चढ्ने जत्तिकै थियो। हो, उनीहरुसँग अक्सिजनको सिलिन्डर थिएन। माक्स थिएन। लट्ठी र ज्याकेट थिएन। ड्याम जुत्ता लगाएका थिएनन् तर पनि एउटा उत्साह थियो। उनीहरु हिँडिरहेथे निरन्तर उकालै उकालो। मेरा आँखाले उनीहरुलाई तेन्जिङ नोर्गे शेर्पा, एड्मन हिलारी, पासाङ ल्यामू शेर्पा देखिरहेका थिएँ। जसले सगरमाथा चढ्दा एउटा इतिहास रचे। साँईकुराको धाराबाट उकालो चढ्दै गर्दा सबैभन्दा पहिला बगर भेटिन्छ। त्यसपछि भेटिने तल्लो मुनारे, माथिल्लो मुनारे, तल्लो डाब, माथिल्लो डाब र ढाडीमेलाहुँदै सिद्धगुफा। लगभग यी सबै ठाउँका नामसँगको ऐतिहासिक पृष्ठभूमिबारे हामी सबै बेखबर छौं। यत्ति हो बाटोमा भेटिएका र देखिएका केही वनस्पति, बोटविरुवा र जडिबुटीलाई हामीले चिनेका थियौं।
सजिलै पाउन सकिने र हामीले चिनेका जडिबुटी पाखनवेद र सुगन्धवाल हुन्। आयुर्वेद विज्ञानका अनुसार पाखनवेदबाट मृगौलामा हुने पत्थरीको औषधी बन्छ भने सुगन्धवालबाट पर्फिम् बनाउन काम लाग्छ। सजिलै भेटिने काठ सल्ला र झुलो हुन्। यी दुबै घर बनाउने र दाउरा बाल्ने दुबैमा प्रयोग गर्न सकिन्छ। जो कोणधारी पतझर हुन। सल्ला र धुपिले हावामा भएको पानीको मात्रा सोसिदिने र सुख्खा हावा मात्र फाल्ने गर्छ। त्यसैले सल्लाको रुख हुने ठाउँमा सुख्खा हावा चल्छ। सुख्खा हावा चल्ने ठाउँमा सापेक्षिक आद्रता कम हुन्छ। जहाँको सापेक्षिक आद्रता कम हुन्छ त्यहाँका मान्छेहरुमा ओठ फुट्ने, अनुहार चम्किलो नहुने र छाला खस्रो हुने समस्या देखिन्छन्। हामी जुम्लीमा यी समस्या बढी हुन्छन्।
लामा–विष्णु सांस्कृतिक समन्वयका प्रतिक नामक पुस्तकमा उप–प्राध्यापक बासु उपाध्यायले माथि उल्लेख भएबाहेकका यस क्षेत्रमा पाइने अन्य महत्त्वपूर्ण जडीबुटीहरुः मौरामुलो, अत्तिस, निर्मसी, सतुवा, गुच्ची च्याउ, भूतकेश, जटामसी, बोझो, मजिठो, बिखम, बिष, हात्तिजडा, कुठकी, खिरौंलो, वायुजडी, निनाईजडी, धुपजडी, महारङ्गी, चिराइतो, यार्सागुम्बा, तितेपाती आदिको बारेमा पनि वर्णन गरेका छन्। यी सबैको उपयोगिताबारे हामी सबैलाई थाहा छैन। कतिको उपयोगिताबारे जिल्ला वनस्पति कार्यालयले अनुसन्धान गरिरहेको छ। यार्सागुम्बाबारे लगभग धेरैलाई थाहा छ। यसलाई जीवनबुटी पनि भनिन्छ। कर्णालीका मान्छेहरुको आम्दानीको मूख्य स्रोत यार्सागुम्बा पनि हो।
उपाध्यायले ‘सिँजा टुरिजम् डेभलपमेन्ट मास्टर्सप्लान’मा यस क्षेत्रमा पाइने वनस्पति, जंगली जनावर, फलफूल आदिको बारेमा विस्तृत रुपमा चर्चा गरेका छन्। हामीले विद्यार्थीलाई सकेसम्म चिनेका र बुझेकाहरुको विषयमा बताउने प्रयास गर्‍यौं। तल्लो डाबबाट माथिल्लो डाब हिँड्दै गर्दा हामीभन्दा अगाडिको टोलीमा गोमा म्याडमहरुको टिम र केही विद्यार्थीहरु बसिरहेका थिए। त्यो टोलीमा छात्रा विद्यार्थी पनि थिए। ती विद्यार्थी प्रायः साना कक्षाका थिए। थाकेका सबै बसेका थिए। एउटीले बसेकाको फोटो खिचिरहेकी थिई। हामी पनि बसेर औला फटाइदिन्छौं, मुख बिगारिदिन्छौ आजभोलि फोटो खिच्ने, सेल्फि हान्ने स्टाइल यीनै त हुन्।
त्यो टोलीमै भएर पनि नबसी उभिरहेकी एउटी सानी फूच्ची थिई। मैले बुझेसम्म ऊ तीन कक्षामा पढ्ने हो। उसलाई मैले मनमनै दृष्टी नाम राखिदिएँ। उसको घरसम्म पुग्न बजारदेखि झण्डै एक दिन लाग्छ। ऊ यहाँ कसैको घरमा बसेर पढिरहेकी छ। बिहान साँझ त्यही घरमा काम गर्छे। दिउँसो स्कुल आउँछे। भ्रमण अवधिभर ऊ सबैको नजरमा थिई। किनकी ऊ एकदम हर्ताकर्ता थिई। म विस्तारै उसबारे कल्पना गर्न थालेको थिएँ। उसमाथि आफूले पढेका उत्कृष्ट कथाका पात्रहरु देखिरहेको थिएँ। उसको हर्ताकर्तापन देखेर ऊ सायद संघर्षशील हुन्छ होला लाग्यो। त्यसैले म उसमा मेक्सिम गोर्कीको विश्वचर्चित उपन्यासकी पात्र सासा देखिरहेको थिएँ। सासा कति सशक्त छ। उनीहरुको सिमारहित सक्रियता र संघर्ष सायदै कुनै क्रान्तिमा भेटाउन सकिएला।
उनीहरू रातिसम्म पनि हिँडिरहेका हुन्छन्। भोकप्यास, निन्द्रा सब बिर्सिएका हुन्छन्। उनीहरुको एउटै गन्तव्य हुन्छ क्रान्ति, फेरि पनि क्रान्ति। कतिवेला म उसमाथि पारिजातको सशक्त उपन्यास अनिदो पहाडसँगैकि पात्र सुवानी अवतार गराउँछु। सुवानि कति संघर्षशील छ। ऊ संगठनमा कति सक्रियतापुर्वक लागिरहेकी हुन्छ। यतिसम्म साहसी छ कि आफ्नै बलात्कार हुँदासम्म पनि समालिएर जनताको सेवा गर्ने भावानाबाट विचलित हुन्न। कतिबेला मनमा डर लागेर आउँछ कतै दृष्टी पारिजातकै विश्व चर्चित उपन्यास शिरिषको फुलकि सकम्बरी पो हुन्छे कि ? यसो भयो भने त अपसकुन हुन्छ। जो सुयोगबिरको एक चुम्बनले नै झरेर जान्छ। शिरिषको फूल झैं।
उसलाई कस्तो बनाउने भन्ने कुरा यो समाजमाथि पनि निर्भर हुनेछ। डरले मलाई छोडेको हुन्न। कतै उसलाई समाजले नयनराज पाण्डेको उलारकी द्रौपति पो बनाउँछ कि। मेरा आँखाहरु तिर्मिराउछन्। मलाई रिंगटा लागेजस्तो, चक्कर आएजस्तो हुन्छ। म समालिन खोज्छु। द्रौपति बाध्यताले यौन व्यवसायी बनेकी हुन्छ। ऊ संघर्षशील हुन्छ या दास मानसिकताले प्राताडित भई गलेर आउँछ। समयले उस्लाई कहाँसम्म पुर्‍याउँछ हेर्न बाँकि नै छ। समयको दोसाँधमा उभिएकि दृष्टी फुलेर, फक्रेर आउँछ या ओखरको फूल झैं एक रातमा फूलेर उही रातमै कसैले नदेख्नेगरी ओइलाई जान्छ, हेर्दै जाँउ। दिन कुर्दै जाँउ। थोरै निरासावादी र धेरै आशावादी बनौं।
हामी अगाडि बढ्यौं। थोरै उकालो पछि केही समय छड्के उकालो बाटोमा हिड्यौ। खोला नजिक पुग्ने बेला एउटा ठूलो चट्टान भेटिन्छ। त्यहिबाट फेरि लेक लाग्ने उकालो चड्नुपर्छ। त्यही नजिक दुइटी दश कक्षाका केटीहरू फोटो खिचिरहेका हुन्छन्। उनीहरूले हाम्रो पनि फोटो खिचिदिन्छन्। हाम्ले हात फैलाएर एक नयाँ खालको पोज दिन्छौं। हाम्रो फोटो खिचिदिने केटीले केही दिन अगाडि बिहे गरेकि छ। उसले बिहे किन गरी? यो खास चासोको विषय होइन। उसले बिहे गरे पनि स्कुल भने आइरहेकि छ। उसको कक्षामा गाउँका केटा साथीहरु आजभोलि देवर बाबु भएका छन्। उसले बिहानै एउटालाई भनेकि थिइ ‘बाबु बाबु यता आउनुस् त तपाईसँग एउटा कुरा छ।’ बिहे अगाडि तिमी, तँ भनेर खस्रो बोलेकी ऊ आजभोलि निकै उच्च आदरार्थी भएकी छ।
एक वर्ष अगाडि एउटी केटी एक साता स्कुल आइन। केही समयपछि थाहा भयो उसको बिहे भयो। पछि ऊ स्कुल आउन थाली। त्यसताका ऊ प्रायः कोठामा निदाउँथी। सर म्याडमले उसबारे कमेन्ट गर्न थाल्नुभएको थियो। औसत उचाईकी गोलो अनुहार, चम्किला आँखा, कालो छाला, फिसिक्क हाँस्दा मिलेका देखिने सेता दाँत, मिजासिलो स्वभाव र केटौले बोलिले ऊ सबैको प्यारी थिई। अघिल्लो वर्ष राजीकोट भ्रमणमा गएको बेला मैले भनेको थिएँ। – जे भयो भैहाल्यो अब पढ। स्कुल नियमित आउँ। पढ्नु राम्रो हो। बुझ्ने हो। धेरै सिक्ने हो।’ ऊ केही बोलिन। बस्, मुन्टो हल्लाएर स्वीकारोक्ति जनाई। उस्को स्कुल रोकिएको थिएन। पढिरहेकि थिई। जे होस उसले आफ्नो पढाई रिकभर गरी। तर आजभोलि ऊ कक्षामा अनुपस्थित छ। मैले एकदिन हाजिर पल्टाए। रोल नं ६ गयल भएको डेढ महिना भइसकेको रहेछ। मैले एक दिन कक्षामा उसका साथीलाई सोधेँ। ऊ किन आइरहेकि छैन? एउटीले भनि सायद उनी आउदिनन्होला सर। मैले फेरि किन भने ? उसले त्यस्तै त्यस्तै भनी। मैले अरू सोधिनँ तर, शंका धेरै गरे सायद ऊ सुत्केरी हुने भई।
लक्ष्मण श्रेष्ठको एउटा उदास पात्र नामको निबन्ध छ। त्यसमा भावनाको कथा छ। कथाकी भावनाको एसएलसी नदिँदै बिहे हुन्छ। ५६ रोल नं. गरेकि भावना गयल हुँदै गैरहेकि हुन्छ। पढ्न नपाएकोमा निकै दुःखी हुन्छे। उसले आफूजस्तै एसएलसी दिन नपाउँदै स्कुल छोड्ने नौ दश लाख बालबालिकाले किन स्कुल छोड्छन्? भनेर तिखो प्रश्न गरेकी छ र पनि ऊ उदास हुन्छ। यतिसम्म उदास भैसकेककी हुन्छ कि उसलाई आफू बाँचिरहेको जीवन पुरै भारी लाग्न थालेको हुन्छ। श्रेष्ठकै उदास खबरलाई सम्बोधन नामका अर्को निबन्धमा नाम नखुलाइएकी एउटा पात्रले पढ्न नपाएकै कारण आत्महत्या गर्छ। त्यसलाई आत्महत्या भन्ने वा छोरीलाई जबर्जस्ती बिहे गराइदिने मानसिकताले हत्या गरेको भन्न् त्यो पाठकले नै बुझ्ने हो।
यो वेला हाम्रो स्कुलकी बिहे गर्ने केटी पनि काली छ। अघिल्लो वर्ष बिहे गर्ने कालि यो वर्ष गयल हुन थालेकि छ। यो वर्षकी कालीको के हुने हो? समय बित्दै जाँदा कति कालिहरुको बिहे हुने हो वा गोरीहरु पनि गयल हुँदै जाने हुन्। सदियौदेखि निरन्तर देखिँदै आएको समाजको यो विरुप तस्विर आधुनिकताको लेप लागेको अहिलेको समयमा पनि कतिन्जेल देखिरहनुपर्ने हो थाहा छैन। बस यत्ति थाहा छ, यहाँ काली र गोरीहरुले बिहे गरिरहिछन् र आमा बनिरहिछन्। एउटा कलिलो उमेरमा। हैन म यो के लेखिरहेछु? किन म यी पात्रहरु खोजिरहेछु। किन यी चित्रहरू कोरिरहेछु। कतै म यिनिहरुको कथा बेचेर खान त लागिनँ? नयनराज पाण्डेले यारका पानामा लेखेका छन्। ‘म लेखक भै टोपलेको एउटा पाखण्डी पुरुष हुँ। सलिमको कथा लेखेर उसको भागको रोयल्टी पचाइरहेछु।’ फेरि लेख्छन् ‘हरेक लेखकले लेख्ने उत्कृष्ट किताब पाखण्डको अति उत्तम सिर्जना हो। हरेक सृजनासँगै लेखकले एउटा अपराध पनि गर्छ।’ म पनि यी पात्रहरुको कथा बेचेर खान त लागिनँ ?
उकाली ओराली गर्दैगर्दा त्यहाँ वरपरको रमणीय वातावरण, हराभरा जंगल, चराचुरुङ्गीको चिरबीर, गज्याङ्गकिरीको (वर्षमा सल्लाका रुखमा बसेर कराउने साना किरा) गीतभन्दा बढी मलाई यी दृष्यहरुले छोएका थिए। त्यसैले यी बेचिखाने कथाभन्दा पनि जिन्दगीका उरन्ठ्याउला संस्मरण हुन मेरा लागि। करिब दश बजेतिर असिन पसिन हुँदै, सास फुल्लाउँदै, कराउँदै, पानी पिउँदै, बस्दै चाउचाउ खाँदै हामी सिद्धगुफा पुग्छौं। स्कुलबाट हेर्दा निकै ठूलो चट्टान भएको ठाउँ नै सिद्धगुफा रहेछ। कठिन उकालोपछि निगालोको झार छिचोल्दै त्यहाँसम्म पुगेपछि एक खालको छुट्टै आनन्दानुभूति र उमंग छाएको थियो। सबै एक अर्कामा खुसी साट्दै कराइरहेका थिए। हामीभन्दा अगाडि पुगेका विद्यार्थीले हामीलाई देख्नेबित्तिकै फ्लाइङ किस गरे। हामीले रिप्लाई गर्‍यौं।
हामी यति जोडले करायौं कि हाम्रो आवाज सुनेर नजिकै वरपर भएका हिंस्रक गंगली जनावर भए पनि डराएर भागे होलान्। गुफाको फेदबाट गुफासम्म पुग्ने बाटो भने निकै अप्ठेरो थियो। जुत्ता निकालेर चट्टानै चट्टानको बाटो काट्दै निकै सावधानिपूर्वक पुग्न सकिने रहेछ। अलिकति मात्र चिप्लियो भने क्राक भएको जिउमात्र फेला पर्ने देखिन्थ्यो। चक्कर लाग्ने, भीरमा डराउने मान्छे माथि नगएकै वेस हुने। भण्डारी सर माथि नजाने भनेर तलै बस्नुभयो। सायद उहाँ डराउनुभयो। विद्यार्थीमा एक दुई जना बाहेक अरु सबैले आँट गरेर गुफासम्म पुगेरै छाडे। गुफाको आकार र बनोट खास अनौठो छैन। कुनै फरक खालका अमूर्त चित्र पनि देखिदैनन्। म्याडमहरुले पूजा गर्नुभयो। हामीलाई भने फोटो खिच्न भ्याइनभ्याई थियो।
विभिन्न स्टाईलका सेल्फि र सामुहिक फोटोहरु खिच्यौं। कठिन उकालोमा पनि फोटो खिच्ने आँट गर्‍यौं। जोखिम मोल्दा खुब मजा आउँदो रहेछ। अर्थशास्त्रमा एफ.डब्लु. हेलेले नाफाको जोखिमको सिद्धान्त प्रतिपादन गरेका छन्। उनले त्यसमा ‘हाइअर दी रिक्स हाइअर दी प्रफिट’ भनेका छन्। बढी जोखिम मोल्दा बढी मजा आयो। त्यसैलाई मैले नाफा सम्झिएँ। सबैजना तल झरिसकेपछि विद्यार्थीका जिज्ञासा मेटायौं। गूफाको धार्मिक महत्वबारे लक्ष्मण देवकोटाले जे सिकाए त्यही भन्यौं। त्यसका अलवा गुफालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने, एक जोखिमपूर्ण र अविस्मरणीय गन्तव्य बनाउन सकिनेगरी यसको प्रचारप्रसार गरिनुपर्नेबारे विद्यार्थीलाई सिकायौं। यदि यसो गर्न सकिएमा विस्तारै मासिदै गएको जंगल बचाउन सहयोग मिल्थ्यो। जंगली जनावरहरुको संरक्षण हुन्थो। साँच्चै पर्यटक भित्र्याउन सकेमा यहाँ होमस्टे बनाउन सकिन्थ्यो। पर्यटन व्यवसायमा लाग्नेहरुको जीवनस्तर उकास्न सहयोग मिल्थ्यो।
त्यहाँ पुग्दा विद्यार्थीका अनुहार चम्किला थिए। बाटोमा हिड्दा रुन्चे स्वरमा बोल्नेहरु गुफा पुग्दा भुक्क फुलेका थिए। खुसीको बहार छाएको थियो। त्यतिवेला लाग्यो यिनीहरु परीक्षामा पास हुँदा पनि यस्तै हुन्थे। गणितका अप्ठ्यारा समिकरणहरु हल गर्दा, विज्ञानका अनौठा प्रयोगपछिको सफलता हाँशिल गर्दा जस्तै देखिन्थ्यो त्यो दृष्य। यात्रा जति कठिन र जोखिमपुर्ण हुन्छ, अध्ययन पनि त्यतिकै गाह्रो छ। जसरी गन्तव्यमा पुग्दा आनन्द आउँछ। कडा मेहेनतपछिको अध्ययनको परिणाम पनि त्यसैको पर्यायवाची हुन्छ। पछि सबैले बोकेर लिएका खानेकुरा बाँडेर खायौं। म्याडमहरुले बोकेर लिएको हरियो काख्रा र पिरो अचार अनि भण्डारी सरले लिएको रोटीसँगको खाएको चाउचाउको नुन विशेष भयो। त्यसपछि हामी ओरालो लाग्यौं। ओरालो हिड्न निकै सजिलो हुन्छ। हाम्रो यतातिर एउटा उखान छ ‘ओरालो हिँड्न सजिलो, अरून भन्न सजिलो।’