बागलुङ नगरपालिकामा अनियमितता रहेको कांग्रेसको आरोप, नगर प्रमुख भन्छन-राजनीतिक पुर्वाग्रह

बागलुङ, ३० असार– बागलुङ नगरपालिकामा भएका क्रियाकलापलाई लिएर सार्वजनिक टिका टिप्पणी शुरु भएको छ । नगरपालिकामा आर्थिक अनियमितता भएको, करोडौं रुपैयाँ नगरप्रमुख र पदाधिकारीको सिफारिसमा बाड्ने काम भएको लगायतको आरोप सहितका समाचारहरु समेत बाहिर आउन थालेका छन् ।
नगरपालिकाले सार्वजनिक सुनुवाई नगरेको, आफ्ना आफन्तलाई जागिर खुवाएको र जथाभावी पाईप, तारजाली र रमक बाँडेको समेत आरोप लगाइएको हो । हरेक तीन तीन महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान भएपनि नगरपालिकाले एउटा पनि सुनुवाई भने गरेको छैन । नगर प्रमुख जनक राज पौडेलले पत्रकार सम्मेलन मार्फत सूचना निरन्तर सार्वजनिक गरिरहेको बताए । ‘सुनुवाई नै गर्नुपर्छ भन्ने छैन, पत्रकार सम्मेलनबाट धेरै सूचना ल्याएका छौं’ उनले भने, ‘राजनीतिक पूर्वाग्रहले नगरपालिकाको टिप्पणी भएको हो ।’ बिहिवार कांग्रेसले प्रेस बिज्ञप्ती प्रकाशित गरेर सार्वजनिक सुनुवाई लगायतका बिषयमा नगरपालिका मौन रहनु, काममा अनियमितता गरेको र भ्रष्ट्राचारका समाचार आउदा नगरपालिकाले प्रतिक्रिया समेत दिन नसकेको आरोप लगाएको थियो ।
शुक्रवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुवरले विज्ञप्ती प्रकाशित गरेर जिल्लाको गौरवको काम गरेकोमा अनियमितताका आरोप लाग्नु आश्चर्यको बिषय भएको टिप्पण्ी गरेका छन् । बलेवा बिमानस्थल संचालनमा गरिएको लगानीलाई अनियमितता भन्न नमिल्ने उनले प्रष्टयाएका हुन् । विभन्नि संचार माध्यममा आएको सूचना पूर्वाग्रही भएको समेत उनले आरोप लगाए ।
सूचनाको हक सम्बन्धी ऐनले सार्वजनिक संस्था, राजनीतिक दल र गैरसरकारी संस्था समेतले खर्च, काम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । ‘सुनुवाई एकपटक पनि नगरेकोले करोडौं रकम कता खर्च भयो थाहा पाउन सकिएन’ कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले भने, ‘नगर प्रमुखको तोकको भरमा करोडौं बाँडिएको, आफ्ना मान्छे भर्ती गरेको बिषय चुहावट हुन्छ भनेर ढाकछोप गरेको देखियो ।’ नगर पालिकाले बलेवा हवाई मैदान संचालन गर्न दुइवटा हवाई कंपनीलाई १०÷१० लाख धरौटी राखिदिएको, उडानको घाटा व्यहोरेको, सरसफाई, सडक निर्माण लगायतका काममा गरेको खर्च पारदर्शी नभएको थापाको बिज्ञप्तीमा उल्लेख छ । नगरपालिकाले अघिल्लो बर्ष हवाई मैदान संचालन गर्ने कार्यक्रम ल्याएपनि नीति तथा कार्यक्रममा नपारेको समेत आरोप लागेको थियो । समीक्षा गरेर हवाई मैदानको स्तरउन्नती गर्ने तथा निरन्तरता दिनेमा नगरपालिका गम्भिर रहेको भन्दै पौडेलले बचाउ पनि गरेका छन् ।