‘पानी जहाज’ भाइरल

नेपालमा हरेक दिन एउटा न एउटा कुरा भाइरल भइरहन्छ । केही दिन अघि पर्यटन मन्त्री रबिन्द्र अधिकारीले एभिन्युज खबरले नेपाल वायुसेवा निगमले ल्याएको बोइङबारे प्रश्न गर्दा टेलिभिजनको माइक नै फालेपछि भाइरल भएको थियो । अहिले अबिरल बर्षासंगै राजधानी जलमग्न भएपछि पानी जहाज चलाउनु पर्छ भनेर सामाजिक संजाल फेसबुकमा धेरैले लेखेका मात्रै छैनन् हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाइरहेको फोटो, भिडियो समेत हालेर ब्यग्य गरिरहेका छन् । अहिले जताततै पानी पसेको मात्रै छैन, भक्तपुर लगायतका शहरमा पानीकै कारणले डुबानमा परेको छ । हजारौं नेपाली जनताको पानी कै कारणले उठीबास लागेको छ । राजधानीमा पानी जहाज चलाउनु पर्छ भनेर भन्दा सरकारले सामाजिक संजालमा पानी जहाजकोबारे लेख्नेलाई पक्राउ गरी साइबर अपराधको मुद्वा चलाउनु पर्छ भनेर संसदमा सांसदले माग गरिरहेका छन् ।
अचम्म पनि कति अचम्म भने सामान्य नेपाली जनताले आफुलाई मनमा लागेको कुरा सामाजिक संजालमा पोख्न पनि अब सरकारको अनुमति लिनुपर्ने अबस्था सृजना हुने लक्षण देखिन थालेको छ । साँच्चै हाम्रो देशमा कुनै पनि कुरा ब्यबस्थित छैन । न त शहर न त गाउँ नै जतासुकै सडक, जतासुकै घडेरी अनि घर निर्माण हुन थालेको कारणले पनि यतिबेला बर्षाले राजधानी वरिपरिका जिल्ला डुबानमा परेको छ । पानी बग्ने खोला समेत भुमाफियाले आफ्नो अनुकुल नाप्ने खोला बग्ने ठाउँमा जग्गा प्लानिङ गरेर करोडौं रूपैयाँ कमाउ धन्दा कै कारणले अहिले भक्तपुर काठमाडौ ललितपुर डुबानमा परेको निश्चित हो । सबैभन्दा शक्तिशाली कोही छ भने त्यो सामाजिक संजाल भएको छ । सरकारमा दर्ता भएर संचालन भएको मिडिया भन्दा पनि सामाजिक संजाल फेसबुक शक्तिशाली छ ।
कसैले स्वीकार्नु या नस्वीकार्नु तर अहिले यसलाई सबैले स्वीकार्न बाध्य छन् । यहीँ कुरा बुझेर होला सरकारले अब फेसबुकलाई प्रतिबन्ध लगाउनु पर्ने सुझाव समेत केही महासयले दिदै गरेको कुरा बाहिर सार्वजनिक भएको छ । संसारका जतिसुकै शक्तिशाली बादसाह भएपनि यिनी हतियारधारी दुश्मन भन्दापनि सामाजिक संजाल संचार जगतसंगै डर मान्छन् भन्ने कुरा बिश्वमा धेरै उदाहरण छन् । देशका प्रधानमन्त्रीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराउदै पानी जहाज संचालन गर्ने भनेर जुन कुरा बोल्नु भयो त्यसैलाई बिषय बस्तु बनाएर कुराकानी हुनु स्वभाबिक हो । पानी जहाज कहाँ चलाउने भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन नसकेको कारणले पनि राजधानीमा नै डुबानको समस्या परेपछि जनताको आक्रोश मात्रै हैन अर्को रूपमा भन्ने होभने यो सरकारलाई पानी जहाज छिट्टै चलाउन दबाव पनि हो भनेर बुझ्दा राम्रो हुन्छ भन्ने लाग्छ । हो कतिपयले अर्को केही खेती गर्न नसकेपछि पानी जहाजको कुरालाई भाइरल बनाएका हुन् भन्ने कुरा बुझ्न धेरै टाढा जानुपर्छ भन्ने लाग्दैन । सामाजिक संजाल फेसबुकलाई सरकारले मंसीरदेखि प्रतिबन्ध लगाउने भनेर हल्ला चलिरहेको छ । साँच्चै यो हल्ला मात्रै हो कि सरकारले नीति बनाउन लागेको हो त्यो कुरा स्पष्ट भने भएको छैन । हुन त सामाजिक संजालको सदुपयोग कम दुरुपयोग धेरै हुदै गएको कारणले पनि यो कुरा आएको हुन सक्छ । अहिले मनपरि ढंगले फेसबुक खोल्ने अनि मनपरि ढंगले आफुलाई मन नपर्ने ब्यक्ति र संस्थालाई आघात पु¥याउने गरेर तथानाम लेख्ने क्रम तिब्र गतिमा चलिरहेको सबै सामुन्ने छताछुल्ल छ । पत्रपत्रिकाले समाचार लेख्दा यो पित पत्रकारिता भयो भनेर बिरोध हुने नगरेको पनि हैन अहिले त सामाजिक संजालले गर्दा सबै एकसे एक पत्रकार बनेका छन् अनि आफ्नो रिस पोख्ने थलो बनाएका छन् । यस्तो खालको गलत कामलाई भने रोक्न जरुरी छ । अर्काेतिर पानी जहाजको बारेमा लेख्नेलाई साइबर अपराधको मुद्दा लगाउनुपर्छ भनेर संसदमा बोली हाल्ने बेला भने अहिले नै भएको छैन कि भन्ने लाग्छ ।
अहिले काठमाडौ, भक्तपुर र ललितपुरमा पानी कै कारणले जुन बस्ती डुबानमा प¥यो । अहिले जग्गा दलाल कै कारणले भएको समस्या हो भन्ने कुरा दुनियाँलाई थाहा छ । तर देशको शक्तिशाली सरकार चुपचाप छ । सरकारले गरेको काम गतिविधि हेर्दा एकातिर आधी अर्काेतिर झोलुङ्गो भने झै देखिन्छ । यातायातमा भएको सिण्डिकेट हटाएको भनेर जुन तामझाम गरेर देखाइयो तर उपलब्धि हातमा लायो जिरो भन्दा अर्को केही भएको छैन । अहिले पनि सवारी चढ्न आम उपभोक्तालाई सास्ती कायमै छ । दलाल, भ्रष्ट र माफियाकै वरिपरि चलिरहेको देखिन्छ सरकार । अझैसम्म त्यो घेरा तोड्न सकेको छैन भन्ने कुरा दिउँसोको घाम झै छर्लङ्ग छ । पानी जहाज कहिले कसरी आउने भन्ने कुरा आफ्नो ठाउँमा छदैछ । नेपाल वायु सेवा निगमले २४ अरबमा खरिद गरेर ल्याएको बोइङबारे पर्यटन मन्त्रीसंग मिडियाले प्रश्न गर्दा माइक नै खोसेर फाल्ने काम भयो । मन्त्रीले गरेको एक गल्ती नै भाइरल बन्यो । दुई तिहाइको तालाचाबी हातमा भएको शक्तिशाली कम्युनिस्ट सरकार छ । अबको समय भनेको सरासर काम गरेर देखाउने समय हो ।
काम गर्नलाई फलानोले रोक्यो, फलानोले छेक्यो भन्ने कुनै ठाउँ छैन । बहाना बनाउने मात्रै भएका मन्त्रीले दम्भ देखाउने होभने नेपाली जनताले के आशा गर्ने मुख्य कुरा यहीँ हो भन्ने लाग्छ । सधै उखान टुक्का हालेर मुलुक अगाडि जान सक्दैन । भएको कमीकजोरीलाई सच्याउन सक्यो भने भोलीको दिनमा आफैलाई फाइदा पुग्ने निश्चित छ । सरकार प्रमुख जिम्मेवार बन्न जरुरी छ । निर्वाचनको बेलामा थुप्रै आश्वासन बाँड्ने काम भएको छ । आफुले निकालेको घोषणा पत्र हेर्न पनि जरुरी छ । देशको प्रमुख प्रतिपक्षी दलको भुमिका खासै प्रभावकारी देखिएको छैन । चाहिने बिषयमा नजाने नचाहिने बिषयमा अलमलीएको देखिन्छ । सकारात्मक कामको समर्थन, नकारात्मक कामको बिरोध गर्ने नैतिक धर्म निभाउन सक्यो भनेपनि सरकार ठिक ढंगले अगाडि बढ्न बाध्य हुन्छ ।