गन्थन

जिपको छतभरी फलफूलका विरुवा राखेर जिप आयो, जिपमा हुनुहुन्थ्यो, जनमोर्चाका नेता भीमसेन वन ! उहाँसँग बागलुङ बजारबाट खरवाङ्सम्मको यात्रा तय भयो । राजनीति गर्ने मानिसहरु कम्तीमा सजिलै पलायन त हुँदैनन् देश छाडेर । आफ्नै गाउँठाउँमा घुमिरहेका हुन्छन् । मुठ्ठीभर नेताले न हो, फाइदा लिने नभए आम जनता नै हुन् नि नेता पनि । ती विरुवा पनि गाउँलेकै लागि रहेछन् ।
खरवाङ्बाट गाडी पाइने टुंगो थिएन, त्यसकारण वामीटक्सार तर्नुको विकल्प रहेन । वामीटक्सार बजारको चौपारीमा दुई आमाहरुसँग भेट भयो । उहाँहरु बाबु तिमी आयौ, अब हामीलाई गाडीले लैजादैन भन्दै आफ्नो बाटो लाग्नुभयो । खासमा कुरो के रहेछ भने पहिला पनि एक युवक त्यसैगरी उहाँहरुसँग मित्रता गाँस्न आइपुगेछन् तर गाडी पाउने बित्तिकै आमाहरुलाई छाडेर उनी हिडेछन् । तर म भने उहाँहरुकै पछि लागे पदयात्रामा । बाटोमा निकै रमाइला गफ भए । भुवाचिदी पुग्दानपुग्नै एक जिप आइपुग्यो । रोके, कहाँ जाने भनेर सोधे ? चालकले । तपाईं कहाँ जाने भनेको म तम्घास भन्ने उत्तर पाइयो । म नि तम्घास । अगाडिको सिट कसैलाई रोकेर राखिएको रहेछ, त्यसकारण म पछाडिको सिटमा बसे, आमाहरुलाई पनि साथै लिएर । अगाडि बस्नुभएको थियो, नेपाली कांग्रेसका नेता भुवन श्रेष्ठ । उहाँले मसँग चिनजान गर्नुभयो । बाटोमा श्रेष्ठसँग नेपाली कांग्रेसका बारेमा थोरै कुराकानी भयो । भाइ फुटे गँवार लुटेको अवस्थामा कांग्रेस छ है भन्ने कुरा भयो । तम्घास पुगेर घर जान बस खोज्दाखोज्दै मेरो अंकल खुमलाल अर्यालसँग भेट भयो । उहाँसँग पनि पारिवारिक कुराका अतिरिक्त राजनीतिक कुरा भइहाल्यो । उहाँ उदाएको घामको पक्षधर ! अन्ततः म उहाँकै मोटरसाइकलमा चढेर घर पुगें ।
गज्जबको संयोग के थियो भने वन, श्रेष्ठ र अर्याल तिनैजना गएको स्थानीय चुनावमा क्रमशः उपाध्यक्ष, मेयर र वडाध्यक्षका प्रतिष्पर्धी हुनुहुन्थ्यो । त्यही रोचक संयोगले मलाई निकै रोमान्चित तुल्यायो । यात्राभर एक्लो महसुस गर्नुपरेन । कहिलेकाहीको यात्रा निकै रमाइलो हुन्छ, त्यसदिन त्यही भएको थियो ।
‘बाबु छ भाइ छोरा छन्, म एक्लै बस्छु । छोराहरु त राम्रै गर्छन्, बुहारीहरु राम्रो गर्दैनन्, त्यसैले एक्लै बसेको’ दुई आमाहरुमध्ये एकले बिना कुनै संकोच सुनाउनुभयो । त्यो बुढी आमाको मात्र व्यथा होइन, यो । आम आमाबाबुको व्यथा हो, वर्तमान नेपाली समाजमा । नेपाली समाज संक्रमणमै छ । प्रायशः छोरामान्छेहरु रोजगारीका लागि बाहिर गएका छन् भने छोरी बुहारीहरु बजारतिर बस्न थालेका छन् । बजार बसाइ फलिफाप कमै भएको छ । एकातिर बुढाबुढीहरु गाउँमा एक्लै छन्, अर्कोतिर परिवारका अन्य सदस्यहरु बजारमा एक्लै छन् । बजारको खर्चको अतिरिक्त भारले गर्दा विदेशको पैसा बालुवामा पानी खन्याए सरह भएको छ । घरमा भएको भए सम्भवतः त्यो करिब करिब सबै पैसा जोगिन्थ्यो होला । सासुससुरा बजारको कोठे जिन्दगी बस्न सक्दैनन् भने बुहारी नातिनातिनाहरु घरमा बस्न सक्दैनन् । यसबाट सामाजिक सम्बन्धनै खल्बिलिएको अवस्था छ । अझ एक दुई पुस्तामा यस्तो समस्या आउन सक्छ, त्यसपछि भने सम्झौतामा जाने निश्चित छ । त्यतिबेला सम्मको नेपाली समाज भनेको संक्रमणकालीन समाज नै हो ।
बाहिरको बसाइ निर्वाह हो । घरमा एक खालको आनन्ददायक जीवन बाँच्न पाइन्छ । त्यसकारण यसपालि जेठमा म लामो छुट्टी मनाउन घर गएँ । आउँदाआउँदै रुद्रले भोलिपल्ट सुपा देउराली जाने निम्तो दिएर गयो । थप कुराकानी हुनै पाएन । एकैपल्ट ढोकामा गाडी आएर रोकिएपछि म हतारहतार गाडी चढे । म दोस्रोपल्ट सुपादेउरालीको यात्रा गर्दै थिएँ । धेरै वर्षअघि गएका थियौं । अलिअलि सम्झना थियो । यसपालि घरबाटै गाडी चढेर दुई अढाई घन्टामा हामी सुपा पुग्यौं । गाडी र ट्राफिकका लफडा कायमै थिए । मोटरबाटोको डिलमा सुपाको मन्दिर छ त्यहाँ दर्शनार्थीहरुको चहलपहल आजभोलि निकै हुन थालेको छ । हामी पनि मन्दिरतिर घुम्दै थियौं । एकजोर परेवा पनि उडाइयो । त्यति गर्दा लाहुरे टाँसिएको भीर हेर्न जान पाइएन । भाकल गरेर पूरा नगरी भाग्दाको कथा त्यहाँ रहेछ, त्यो । मन्दिरमा पनि व्यवसायिकता भित्रिएको छ, आजकल । त्यसपछि नरपानीमा खानपिन भयो । निकै सुन्दर ठाउँ रहेछ नरपानी । ससानाको उपत्यका नै तर चिसो निकै धेरै । हामी सम्साझैँ घर फर्कियौँ ।
सधैजसो एक थोक न एक थोक फलफूल हुने घरमा यसपालि भने फलफूल केही पनि थिएन । लिचि र आँप तयार हुँदै थिए । लिचि र आँप खान पनि खाइयो केही दिन । भाउजूले विचरा अपजस खानुप¥यो । देवरले खाला भनेर गाडीलाई पैसा तिरेर एक झोला आँप तराईबाट पठाइदिनुभएछ । मैले बाटामै मर्काए, घरका आँप भनेर । घर पुग्दा नपुग्दै घाँटी बन्द । घाँटी बन्द भएपछि पाकेका लिचि र आँपको के काम ? अरुले खान थाल्दा मलाई भाग्नुप¥यो । घर बसाइ निकै आनन्ददायक भए पनि अस्वस्थ भएकाले यसपालि शान्ति भएन । उपचार गराउन तम्घास जाऊँ उपचार थिएन, पाल्पा जानुपथ्र्यो । स्थानीय स्वास्थ्यकर्मीको उपचारले लाभ भएन । उहाँकै सल्लाह थियो, पाल्पा जानुस् भन्ने । पाल्पा उपचारमा जाँदाआउँदा तीन दिन खर्च हुने । बरु पछि नै गएर उपचार गर्ने जोखिम उठाइरहेको थिएँ । एक रात अलच्छिन खालको सपना देखेछु । चर्को घाम लागिरहेको रहेछ । धुलो बाटोमा मोटरसाइकल चलाउँदै घुम्टे निस्केर म पन्ध्रै मिनेटमा तम्घास पुगेछु । तम्घासको मेरो बुढो मावल मास्तिर मालपोत कार्यालयकै आडमा काठमाडौंको एक मेडिकल कलेज स्थानान्तरण भएर आएको रहेछ । त्यहाँ मैले नाक, कान, घाँटीको डाक्टरसँग उपचार गराइरहेको रहेछु । डाक्टर मेरै गाउँले भाइ रहेछन् । उनीसँग भेट भएका कारण मेरो आधा रोग नै निको भएछ । गाउँकै भाइ बहिनी त्यही पढ्दै रहेछन् । झल्याँसै ब्युझिँदा कस्तो खराब सपना देखेको भन्ने लाग्यो । गुल्मी जस्तो दुर्गम र गरिब ठाउँमा पनि कुनै मेडिकल कलेज, कुनै विश्वविद्यालय स्थापना हुनसक्छ र ? अहँ सक्दैन, मेरो मनले भन्यो । आमालाई सपना सुनाएँ । यस्तो खराब सपना जति धेरै जनालाई सुनायो, त्यति धेरै लाग्दैन बाबु, आमाले सम्झाउनुभयो । एकातिर घाँटीको व्यथा अर्कोतिर अलच्छिन सपना ! समस्या त ज्युँका त्युँ होइन झन् बढ्यो । कता हान्ने हो सपनाले भन्ने डर लाग्यो । उपचार गराउन जाने ठाउँ छैन । अन्ततः बागलुङ फर्कदा पोखरा आएर मात्रै उपचार गरे । गाउँमा ठूलो र आकस्मिक व्यथा लागे कहाँ उपचार पाइन्छ र ? मेरा हकमा पनि त्यही भयो ।
आजभोलि विवाहमा पनि सिन्डिकेट हुँदोरहेछ । भाइ विजयको प्रेमविवाहमा हामी जन्त जाँदै थियौँ, गुल्मीको रात्माटा । रेसुङ्गा गुर्जुधारा निस्केर रेसुङ्गा करिडोर हुँदै हामी रात्माटा पुग्यौं । बाटोमा गौशालाको भ्रमण गर्ने अवसर प्राप्त भयो । जन्ती गएका हामी माइला बुबाको छोरा दाई र म सानोमा बाआमाका साथमा नुन हाल्न गौशाला गएका थियौं । त्यो बेला मध्यरातमा उठेर रेसुङ्गाको पहाड चढ्दा तल लागेको कुइरो जुनको उज्यालोमा समथर भूभाग जस्तो लागेर हामी दुई भाइ झुक्एिको सम्झना ताजै थियो । तर आज परिवेश फरक भएछ । अब नुन हाल्न जान मध्यरातमा हिड्नुपर्ने रहेनछ । चौडा लोकमार्गले रेसुङ्गालाई फन्को मारिसकेछ ।
दुलहीका घरमा पुग्दा गेटबाहिरै आमा समूह बाटो छेकेर उभिएका रहेछन् । अनि उनीहरुसँग सोधखोज गर्दा त चार हजार रुपैयाँ चाहिने बताए । अनि हामीले चार हजार दिएर अगाडि बढ्यौं । अगाडि बढ्दा त गेटमा रिवन टाँगेर बसेको अर्को समूह छ, क्लब रे ! अनि उनीहरु पाँच हजार माग्दछन् । नदिई सुखै थिएन, अर्काको गाउँमा । यसरी पैसा उठाउने गलत चलनको मार खाइयो । लाग्यो, यसरी पैसा उठाउनभन्दा गाउँपालिका नगरपालिकाले त्यस्ता संघसंस्थाका लागि बजेट छुट्टयाइदिने व्यवस्था गरे, यस्ता सिन्डिकेट हराएर जान्थे होला ।
अस्वस्थ भएकाले पढाइ लेखाइ बन्द थियो । मनमनमा लागेको थियो, बागलुङ खरवाङ्को अर्धपिच बाटोको चर्को भाडाको समायोजन कहिले होला ? यस्तैमा रामकृष्णजीको फोन आएको रहेछ । कलब्याक गरें । धौलागिरी स्टारको वार्षिकउत्सवका लागि लेख माग्नुभयो मात्रै होइन, आदेश नै दिनुभयो, सोमबार साँझ मेरो मेलमा खुत्रुक्क हालिदिइ हाल्नुस् । बिरामी छु भन्नै पाइन । अनौठो आत्मीयता छ, रामकृष्णसँग मेरो । केही स्वभाव मिल्छन्, प्रचार नरुचाउने, पर्दा पछाडि बस्ने आदिआदि । मनमनै आत्मपरक लेखको खाका केही दिनदेखि कोरिरहेको थिएँ । मोफसलमा पत्रकारिता धान्न निकै गाह्रो छ । धान्ने अभियन्ताहरुलाई मेरो सलाम छ । तर कलम अझै तिर्खार्नु छ । धौलागिरी स्टारको वार्षिक उत्सवको अवसरमा धौलागिरी स्टार साप्ताहिक र मोफसलका सबै पत्रकार साथीहरुलाई उत्तरोत्तर प्रगतिको शुभकामना !