विकासमा पत्रकारिता र विकास पत्रकारिता

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ७५ लाख रुपैयाँ संकलन गरेर घर बनाएको छ । त्यही घरमा महासंघको कार्यालय सरेको छ । यो अभियानमा महासंघले सबै रकम सामाजिक संजाल र प्रसारप्रसार गरेरै संकलन गरेको हो । एक दिन एउटाले सानो सहयोग गरेको समाचार प्रकाशित गर्दा भोलीपल्ट धेरै मानिस सहयोग गर्न तयार भए । यो अभियान यतिधेरै फैलियो की बोलाएकै बेला सहयोग लिन जान नभ्याउने अवस्थासम्म आयो । एउटै व्यक्तिले ठूलो रकम नदिएपनि शित संकलन गरेर घैला भरेझै भयो यो अभियान । तर अझै यो अभियानले पूर्णता भने पाइसकेको छैन ।
पत्रकारिता अब समाजको विकासको साझेदार भएको यो मात्र एउटा उदाहरण हो । समाजका धेरै मानिस रोग, भोक र शोकले पिडित भएको समयमा पत्रकारले सहयोग अभियान चलाए । उनीहरुका लागि लाखौं उपचार खर्चको जोहो भयो । आम मानिसमा पनि प्रेस जगतमा पुग्दा केही सहयोग पाउने आशा पलाउन थालेको छ । आजकल आम जनतामा संचार माध्यममा लेखिएको समाचारप्रति बढी विश्वास बढेको छ । अनलाईन, पत्रपत्रिका, रेडियो र टिभीबाट पाउने सूचनाकै आधारमा आम मानिसले आफ्नो धारणा बनाउँछन् । फलस्वरुप समाजमा धेरै विकासका काम संभव भएका छन् । पञ्चायत कालमा राजाको गुनगानबाहेक जनताको स्वतन्त्रता, अधिकार, विकास र सचेतनाका दुईचार कुरा लेख्नै नपाउने अवस्था थियो । बहुदलीय व्यवस्थाले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेपछि नेपालमा संचार माध्यम र लेखन अधिकार स्थपित भैसकेको छ । गणतन्त्रको यात्राले यसलाई अझै फराकिलो बनाउँदै लगेको छ । नेपालमा पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र होइन, सयौं अनलाईनहरु खुल्न थालेका छन् । अनगिन्ती संचार माध्यमको भीडमा कतिपय संचार माध्यमले पत्रकारिताको नाउँमा भ्रमित समाचार पनि बनाएका होलान तर समग्रतामा व्यवसायिक पत्रकारिताको संस्थागत विकास भएको छ ।
सडक भत्केको, सवारी साधन चल्न नसकेको, आम नागरिकले खानेपानी नपाएको, सरकारी कार्यालयमा अनियमितता भएको, समयमा काम नभएको सबै समस्या लिएर नागरिकहरु संचारमाध्यममा आइपुग्छन् । अनियमिततालाई नाङगेझार पार्न खोज्छन् भने कार्यक्रम पार्नका लागि संचारमाध्यमको समाचारलाई आधार बनाउन खोज्छन् । राज्य संयन्त्र भने अझै जनतालाई सूचना लुकाउन खोज्छन् । उनीहरु आफ्नो कमजोरीलाई उठाउनेलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिन्छन् । आम नागरिकमा भने बुझाई बदलिएको छ । राज्यले ठगेको कुरा बुझ्न पनि उनीहरुले पत्रकारिता र संचारमाध्यमको साथ लिने बानीको विकास भएको छ ।
यसरी हेर्दा संचारमाध्यम अब आम जनताको विकासको साझेदार, दैनिक जीवनको अभिन्न अंग भैसकेको सजिलै बुझ्न सकिन्छ । तर पनि केही अनलाईनहरुमा आउने अनेक थरी समाचारले यो क्षेत्रकै बदनाम भएको छ । नेपालमा प्रेस काउन्सिल, पत्रकार आचार संहिता, न्युनतम पारिश्रमिक निर्धारण समिति तथा पत्रकार महासंघ समेतले पत्रकारितलाई म¥र्यादित, व्यवसायिक र व्यवस्थित बनाउने अभियान खेलेका छन् । तर पनि राजनीतिबाट पत्रकारिता अझै माथि उठ्न सकेको छैन । जातीयता, दलीयता, क्षेत्रीयता र ईन्ट्रेस्ट समूहबाट पत्रकारितालाई अगाडि बढाउने होभने अझै हामीले ठूलो फड्को मार्न सक्छौं । बग्रेल्ती खुलेका संचार माध्यमहरुमा मर्जको अभियान चलाउने र बढी भन्दा बढी पत्रकारलाई उचित पारिश्रमिक दिएर व्यवसायिक काममा लगाउने होभने देश विकासका लागि मार्गदर्शक बनाउन पनि सकिनेछ । साथै आर्थिक विकासको अभियानलाई सफल बनाउन सकिन्छ ।
विश्वविद्यालयको शिक्षा पुरा गरेर समाचार कक्षमा प्रवेश गर्दैमा त्यो पत्रकार बन्न सक्दैन । संचारमाध्यमले पनि त्यसलाई नै कुशल पत्रकारिता भन्ने बुझ्यो भने आम नागरिकमा समेत भ्रम सिर्जना हुन थाल्छ । त्यसैले पत्रकार बन्नका लागि पत्रकारिताको एबिसी बुझेको हुनुपर्छ । पत्रकारितामा भाषा महत्वपूर्ण छ । भाषा खेलाउन सक्ने, कम्तिमा राष्ट्रभाषा स्पष्ट भएको र आवस्यकता अनुसार अंग्रेजी लगायतका भाषाको ज्ञान भएको हुनुपर्छ । पत्रकार सधै पूर्वाग्रहबाट टाढै रहनुपर्छ । पत्रकारिताले जहिले पनि बहुलवाद आत्मसाथ गरेको हुनुपर्छ । कसैलाई खुसी बनाउने र कसैलाई आग्रह पूर्वाग्रह राख्ने काम पत्रकारिताको बाधक हो । पत्रकारिताको धर्म र सिद्धान्तको पूर्ण पालना, आचारसंहितालाई सदैव ख्याल गर्न सकेमा पत्रकारितामा निखारता आउन सक्छ । साथै पत्रकारितामा भित्रिएको बिट पत्रकारितामा लाग्ने गरी औपचारिक शिक्षा वा पढाइएको व्यवस्था अहिलेसम्म नेपालमा भएको छैन । जस्तै आर्थिक, खेलकुद, कानून, राजनीति, शिक्षा, स्वास्थ्य, लैङिकता, फोटोग्राफी, कला र संस्कृतिलाई कसरी प्रस्तुत गर्ने, त्यसका लागि आचारसंहिता लगायतका बिषयको छनौट गर्ने आधार र पढाइको व्यवस्था गरिनुपर्छ । कम्तिमा माध्यामिक शिक्षामा पत्रकारिताको आधारभूत जानकारी र लेखन अभ्यास पढ्ने अवसरको सिर्जना गर्नुपर्छ । विश्वको एक कुनामा घटेका हरेक घटनाको जानकारी र विवरण तुरुन्तै विश्वको सबै कुनामा पुग्ने भएकोले पनि सामाजिक संजाल र संचार माध्यममा आउने सामाग्री जिम्मेवार हुनुपर्छ भन्ने मान्यता राख्नैपर्छ । त्यसका लागि सबै नागरिक जिम्मेवार बन्न सक्ने वातावरण राज्यले पनि तयार गर्नुपर्छ । संचारको माध्यमबाट पत्रकारले त्यस्ता सूचना आम नागरिकलाई जानकारी दिने गर्छन् । आम नागरिकलाई सूचना दिने काम भएकोले पत्रकारलाई राज्यहरुले प्राथमिकतामा राखेका छन् । समाचार सम्प्रेषण र प्रकाशनसंगै राज्यका सबै अंगलाई जिम्मेवार र जवाफदेही बनाउन लगाउने भएकोले पत्रकारितालाई राज्यको चौथो अंग समेत मानिएको हो । अब त हामीले पत्रकारितालाई फरक स्वादको बनाउन जरुरी छ । किनकी हामीभन्दा धेरै आगडि सामाजिक संजाल आइसकेको छ । संजालमा आएको सूचनालाई सातापछि पस्कंदा पाठक रमाउने कसरी बनाउने यो हाम्रो चुनौती हो । त्यसैले अध्ययन अनुसन्धानबाट भेटिएका तथ्यकुरा, बिष्लेषण र रोचक तथ्य प्रस्तुत गर्न नसकेमा दैनिक र साप्ताहिक अखवारको भविष्य अन्यौल बन्ने देखिन्छ । अहिलेको पत्रकारिता विशेषत घटना प्रदान छ । यस्ता घटनालाई केलाएर कारण खोज्ने काममा पत्रकार सक्षम बन्न सकेन भने साप्ताहिक पत्रपत्रिका ईतिहासका पानामा मात्र सिमित हुनेछन् । मोफसलमा प्रकाशित हुने साप्ताहिकको लागि पनि यस्ता अनुसन्धनात्मक धेरै सामाग्री समावेश गर्न सकिन्छ । समाजको आर्थिक सामाजिक विकासको आधार, विकासले आम जनतालाई समृद्धि दिन कसरी सक्ला ? के आधारहरु छन् समृद्धिका ? यस्ता बिषय पस्कने गर्नुपर्छ । पर्यटन, कृषि र जलश्रोतका संभावना सहित प्रवद्र्धनात्मक अभियानले पनि विकासको ढोका खोल्ने विश्वास गर्न सकिन्छ । क्याजी शब्दको रुपमा चिनिएका संघियता, राज्यको शासकीय स्वरुप फेरिंदाको अन्यौलता र आगामी दिनमा लिने बाटोबारे अझै नागरिक प्रष्ट भैसकेका छैनन् । त्यो बुझाउनु अर्को चुनौती हो । राजनीतिक दलका नेता समेत अन्यौल भएर ल्याएको शासकीय व्यवस्थाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र छिमेकी राष्ट्रहरुको प्रत्यक्ष र अप्रत्यक्ष दवाव, शोषण र हस्तक्षेपलाई उजागर गराउन सक्नुपर्छ ।
नेपालका सबै स्थानमा पत्रकारिताको अध्ययन गर्ने वातावरण अझै बनेको छैन । पत्रकारिताका कलेजहरु राजधानी केन्द्रीत छन् । मोफसलमा भएका कलेजले पत्रकारिता पढाउने व्यवस्था नगरेको, पत्रकारिता पेशामा छिर्नका लागि कुनै परिक्षा र न्युनतम योग्यताको व्यवस्थापनमा कडाई नगरेको कारणले पत्रकारिता माथि बेलाबेला प्रश्नचिन्ह पनि उठ्ने गरेका छन् । त्यस्ता आरोपबाट बच्न साप्ताहिक पत्रपत्रिका र पत्रकार सधै सतर्क बन्नु पर्नेछ । अब मोफसल र साप्ताहिक पत्रपत्रिकालाई फिचर लेखनको गन्तव्य बनाउन जरुरी भएको छ । कृषि, पर्यटन, जलविद्युतलाई समृद्धिको आधार बनाएर हाम्रा कलम पनि त्यसतर्फ मोडियो भने सामाग्रीहरु पठनीय हुनेछन् । विश्वसनीयताका लागि फोटो र भिडियो पत्रकारिता अति आवस्यक छ । पत्रकारिता व्यवसायिक हुनुपर्छ । त्यसका लागि राजनीतिक दल, उसका भातृ संगठनको आग्रहमा तगारो लगाउन आवस्यक छ । ‘फेक न्युज’बाट पत्रकारिता टाढा रहनुपर्नेछ ।