ग्रामिण सडकको दुर्दशा, पैदल यात्रुलाई समेत सास्ती

बागलुङ, १ साउन– बर्षात लागेपछि धेरै ग्रामीण सडकहरु अवरुद्ध हुन थालेका छन् । जतासुकै खसेका पहिरोले मानिसको घरगोठ पुरिनेदेखि आउजाउमा कठिन भएका घटना धेरै छन् । ती घटनामा मुख्य कारण ग्रामीण सडकको पहिरो देखिएको छ । अघिल्लो महिना काठेखोला–८ को लेखानीमा खसेको पहिरो र सडक भासिंदा ठूलो क्षति मात्र भएन, गाउँलेको आउजाउमा समेत कठिनाई भएको छ । कादेश गाउँदेखि लेखानी र गाउँपालिका तर्फको सम्पर्कमै समस्या आयो । अझै पनि कादेशका जनता वडा कार्यालय आउन सास्ती खेप्छन् । दर्जनौं पहिरो खसेको, खोलाले सडक बगाएको, भासिएको र झेलुंगे पुलमा क्षति पुगेकोले सहज आउजाउ अझै छैन । डाँग्रेखोलाको झोलुंगे पुल भत्केपछि बालबालिकालाई त आउजाउ गनै खतरा छ । त्यहाँका बालबालिका लेखानीमा पढ्न आउँछन् । यो सडक खण्डको १ सय मीटर भाग भासिएको छ । हिउँदमा एक्साभेटर लगाएर खनिएकोले जमिन थर्केपछि भासिएको स्थानीयले अनुमान गरेका छन् ।
यहाँबाट गत हिउँदभर ढुंगा निकालेर निर्माणका लागि पठाइएको थियो । ग्रामीण सडकबाटै खसेको पहिरोले गलकोट नगरपालिका–५ हरिचौरमा पनि ठूलो क्षति पु¥यायो । दुईवटा झोलुंगे पुल बगाएकोले आउजाउमा समस्या भएको छ । पहिरोले ईलाका प्रहरी कार्यालय हरिचौरको प्रतिक्षालय र स्थानीय घरहरु बगाएको छ । सडकले बाढीको बहाव फेरिएकोले हरिचौर, नरेठाँटी, हटिया र कांडेवास लगायत गाउँका दर्जनबढी घर गोठ बगाएको नगर प्रमुख भरत शर्मा गैह्रेले बताए । यस्ता सबै घटनामा ग्रामीण सडक कारण बनेको छ । वातावरणीय प्रभाव मूल्यांकन नभएको, सडक खनेपछि संरक्षणको काम नगरिएकोले यस्ता दुर्घटना भएको सामान्य नगरिकले समेत बुझ्ने अवस्था सिर्जना भएको टिप्पणी भएको हो । ‘हाम्रो जमिन कस्तो छ, त्यहाँ डोजर लगाउन हुने नहुने परीक्षण नगर्दा क्षति भएको छ’ जिल्ला भू संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले भने, ‘एकपटक सामान्य चासो राख्न सकेमा सडक र बस्ती सुरक्षित हुनेछन् ।’ अघिल्ला बर्षहरुपनि ग्रामीण सडकबाट खसेका पहिरोले मानवीय क्षति समेत हुने गरेको तथ्यांक छ ।
सडक खन्ने क्रममा पानीको बहाव फेरिने, बर्षात लागेपछि मात्र खन्ने कामले माटो धेरै बग्ने गरेकोले क्षति बढेको श्रेष्ठको बुझाई छ । नगर र गाउँपालिकाका जनप्रतिनिधिहरु भने बजेट निकासा र देशको आर्थिक बर्षको कारणले सडक खन्दा समस्या आएको दाबी गर्छन् । ‘बजेट पनि ढीला निकासा हुने भएकोले बर्षातमा मात्र काम शुरु हुन्छ’ लेखानीकी वडा अध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘अब हामीले समयमा काम गर्ने बानी बसाल्छौं ।’ पुरानै परम्पराले काममा ढिलाई भएको उनले बताईन् । भौर्गभिक अध्ययन बिना काम गर्दा ठूला राजमार्गमा पनि समस्या आएको भेटिएका छन् । मध्यपहाडी लोकमार्गको धेरै स्थानमा पनि अहिले पहिरोले दुःख दिएको छ । गलकोट र निसीखोला तर्फको खण्डमा मध्यपहाडी लोकमार्गमा दर्जनौं पहिरो खसेको छ । सेनाले काम गरिरहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा यात्रीले सास्ती खेपिरहेका छन् । दर्जनौ स्थानमा खसेको पहिरोले सवारी साधन चल्नै नसक्ने भएका हुन् भने यात्रीले पैदलै हिड्दा समेत दुर्घटनाको जोखिम बढेको हो । बागलुङ कुस्मीसेरा सडकमा यात्रीले अहिले पनि सास्ती खेपेका छन् । बीस बर्षअघि निर्माण शुरु भएको यो सडकमा समेत अझै सास्ती खेप्ने अवस्था छभने अघिल्लो बर्ष र चालुबर्ष खनिएका सडकको हालत कस्तो होला ? यात्रीहरुले प्रतिप्रश्न गर्छन् । सडक खन्ने क्रममा पुराना गोरेटाहरु पुरिएकोले ग्रामीण यातायातमा समेत थप समस्या भएको हो । जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले हरेक सडकमा वातावरणीय प्रभाव मूल्यांकनको पद्दती अपनाउन सुझाव दिएको बताए । ‘पहिलो बर्ष संभव नभएपनि अर्को बर्ष जसरी लागू गराउने पक्षमा छु’ उनले भने, ‘ग्रामीण सडक कसैको मृत्यु र क्षतिको कारण बन्नु हुँदैन ।’ साविकको जिविसको तथ्यांक अनुसार जिल्लामा १ हजार २ सय किमी ग्रामीण सडकको संजाल छ । जिल्लामा मध्यपहाडी लोकमार्गको केही खण्ड बाहेक सबै कच्ची सडक मात्र हो ।