मर्यादा विवादले दुई शिक्षकको पहिलो चौमासिक तलब रोकियो

न्यायका लागि अदालत जाने तयारी

बागलुङ, ११ साउन–बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको जनता–धन माध्यामिक विद्यालयमा शिक्षकहरुको मर्यादा क्रममा भएको बिबादका कारण दुई जना शिक्षकको अन्तिम चौमासिक तलब रोकिएको छ । मर्यादा क्रममा आँफुहरुलाई अपमान गरेको भन्दै हाजिर नगरेका शिक्षक दिपेन्द्र बहादुर खड्का र नारायाण प्रसाद ढकालले आर्थिक बर्ष २०७४/०७५ को अन्तिम चौमासिक तलब नपाएका हुन् । शिक्षा नियमावलीको आठौं सम्सोधनमार्फत उच्च माध्यामिक तह खारेज गरी माध्यामिक तहमा समायोजन भए यता शिक्षकहरुको मर्यादा क्रमका बिषयमा बिबाद सिर्जना भएको थियो । चालु शैक्षिक सत्रको सुरुमा गत बर्षमा भन्दा तल झारेर आँफुहरुको मर्यादाक्रम कायम गरेका कारण हाजिरी नगरेको शिक्षक दिपेन्द्र बहादुर खड्काले बताए । ‘पहिले प्रधानाध्यापकपछि एक जना प्रथम श्रेण्ीाको शिक्षक हुनुहुन्थ्यो उहाँको पछि म थिएँ’ खड्काले भने ‘तेस्रो स्थानमा रहेको मलाई आठौं स्थान र चौथो स्थानमा रहेका नारायण सरलाई नवौं स्थानमा राखिएको छ ।’ आँफुहरुको मर्यादा मिचिएकाले हाजिर नगरेको खड्काले बताए ।
मर्यादाक्रमका बिषयमा शिक्षकहरुले सम्बन्धित बागलुङ नगरपालिकामा समेत जानकारी गराएको बताए । ‘यो हाम्रो अपमानको बिषयमा नगरपालिकामा पनि जानकारी गराएका छौं’ खड्काले भने ‘मर्यादानै मिचिएपछि कसरी हाजिर गर्ने ।’ शिक्षकहरुको समस्या समाधानका लागि नगरप्रमुख जनकराज पौडेलले तत्कालका लागि छुट्टै हाजिरकपी खडा गरेर हाजिर गराउनु भन्ने तोक आदेश दिएको भएपनि शिक्षा शाखाले सोही अनुसारको पत्र नबनाएको खड्काको आरोप छ । ‘नगरप्रमुखको तोक आदेशका आधारमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक प्रतिनिधिलाई रोहवारमा राखेर छुट्टै कपीमा हाजिर गरेका छौं’ उनी भन्छन ‘तलब नै नदिएर अर्को अन्याय गरे अब कानुनी प्रक्रियामा जान्छौं ।’ शिक्षकहरुले नगरपालिकामा गुनासो पत्र पठाएपछि सहमतिको प्रयास गरेको नगर प्रमुख जनकराज पौडेलले बताए ।

‘तत्कालिन समस्या समाधानको लागि विकल्पका रुपमा अर्को पुस्तिकामा हाजिर गर्दा के हुन्छ भनेर प्रधानाध्यापकसँग छलफल चलेको थियो’ पौडेलले भने ‘बीचमा बिभागको पत्र आयो त्यसपछि सोही अनुसार जानु भन्ने मौखिक सहमती भएको हो ।’ शिक्षकहरु कानुनी प्रक्रियामा जाने भनेकाले अदालतले दिने निर्णयका आधारमा अघि बढ्ने प्रमुख पौडेलले बताए । विद्यालय व्यवस्थापन समितिले भने प्रधानाध्यापकको हटका कारण समस्या पैदा भएको बताएको छ । ‘यो जुँगाको लडाईं हो, प्रधानाध्यापकले वातावरण सहज बनाउन चाहनु भएन’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ सुवदीले भने ‘२०७४ कै मर्यादाका आधारमा जाउँभन्दा प्रधानाध्यापकले नमानेका कारण समस्या पैदा भएको हो ।’ उनले शिक्षकहरुले जुँगाको लडाईं गर्दा विद्यार्थी मर्कामा परेको गुनासो गरे । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको बिषय भएकाले यस बिषयमा तत्काल समाधान खोज्न सरोकारवालाई आग्रह गरेको सुवेदीले बताए ।
उनीहरुको हाजिर प्रमाणित नभएसम्म तलब भत्ता जस्ता सुविधा उपलव्ध गराउन नसकिने नगरपालिकाले जनाएको छ । ‘उहाँहरुको हाजिर प्रमाणित भएर नआएका कारण तलब निकासा नभएको हो’ निमित्त नगर शिक्षा अधिकारी ढक बहादुर पुनले भने ‘प्रधाानाध्यापकले हाजिर प्रमाणित गरेपछि मात्रै तलब निकासा हुन्छ, नत्र बेरुजुमा परिन्छ ।’ विद्यालयले शिक्षा विभागले मागलुङ नगरपालिकामार्फत गरेको परिपत्रका आधारमा शिक्षकहरुको मर्यादाक्रम कायम गरेको जनाएको छ । परिपत्रमा माध्यामिक तहका स्थायी शिक्षक, अस्थायी र करार दरवन्दीका शिक्षकलाई क्रमशः मर्यादा क्रममा राख्नु भन्ने पत्रका आधारमा मर्यादाक्रम कायम गरिएको प्रधानाध्यापक कुमार पौडेलले बताए । ‘पहिले स्रोतव्यक्तिले २०७४ को भदौमा जानकारी गराएको आधारमा नयाँ शैक्षिक सत्रबाट मर्यादाक्रम कायम गरेको थिएँ’ पौडेलले भने ‘उहाँहरु असन्तुष्ट भएपछि शिक्षा विकास तथा समन्वय इकाई बिभागलाई जानकारी गराउँदा पनि सोही अनुसार गर्नु भनेर २०७५÷०२÷२० मा पत्र आएको छ ।’ हाजिरनै नगरेका शिक्षक आउने जाने बेलाको टुंगो नहुने भएकाले तलब खुवाउन नसकीएको पौडेलले बताए । बिद्यालयमा मर्यादाक्रमको बिषयमा बिबाद बढ्दै गएपछि अभिभावकहरु चिन्तित देखीएका छन् । ‘त्यही विद्यालयमा मैले पढेँ, दुई छोरीहरुले पनि त्यहीं पढ्छन’ स्थानिय अभिभावक भरत पौडेलले भने ‘शिक्षकहरुको विवादका कारण केटाकेटीको भविष्य धरापमा छ ।’ उनले विद्यालयको विवाद मिलाउने जिम्मेबारी प्रधानाध्यापकको भएकाले तत्काल समस्याको समाधान खोज्नु पर्ने बताए ।