‘आयआर्जनमार्फत रोजगारी सिर्जना’ (अन्तरवार्ता)

साविकको पैयुँपाटा गाविस हाल बागलुङ नगरपालिकाको वडा नं. १३ पर्छ । केन्द्रिय राजनीतिमा प्रभावशाली पकड जमाउन सफल नेता जन्माएको पैयुँपाटामा अहिले विकास निर्माणका कामले तीव्रता पाएका छन् । शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा समेत पहुँच रहेको पैयुँपाटामा वडा अध्यक्ष निर्वाचित भएपछि नारायण शर्मा पौडेलले विकासे गतिविधि कसरी अघि बढाईरहेका छन् भन्नेबारे हाम्रा सहकर्मी तारानाथ आचार्यले गरेको संक्षिप्त कुराकानी ।

वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–काम कुनैपनि सजिलो र अप्ठ्यारो भन्ने हुँदैनन् । सबै कामलाई सहज बनाउँदै लैजाने हो । राजनीति र समाजसेवा गर्छु भनेर यो क्षेत्रमा प्रवेश गरिसकेपछि काम अप्ठ्यारो मानेर भएन् । कहिलेकाहीं आईपर्ने बाधा व्यवधानबाहेक काम गर्न त्यत्ति असहज भने छैन । नयाँ संरचनामा पहिलेको गाउँ विकास समितिको जत्तिको पनि अधिकार वडालाई दिईएको छैन । ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ भनेपनि पहिलेको स्थानिय निकाय सञ्चालन ऐनले व्यवस्था गरेअनुसारका अधिकार हामीलाई नदिँदा साना–तिना जनताका काम गर्न समेत सास्ती छ । नगरपालिकाको कार्यालयबाट मात्रै काम हुने भएकाले पञ्जिकरणका कामबाहेक योजना लगायतका काममा हामीलाई मात्रै हैन सर्वसाधारणलाई पनि सास्ती छ । जे होस् वडाका सबैसँग मिलेर सहज तरिकाबाट काम गर्ने प्रयास गरेका छौं ।
वडा अध्यक्ष भएपछि जनताले महशुस गर्ने के–के काम गर्नुभयो ?
–वडामा धेरै कामहरु भए । नगरपालिकाबाट बिनियोजन भएको बजेटका आधारमा हामीले काम गरेका छौं । वडा स्तरबाट छनौट भएर आएका योजनामा नगरपालिकाले सम्बोधन गरेअनुसारका काम पनि यो बर्ष भए । सडकलाई प्राथमिकतामा राखेर हामीले धेरै काम ग¥यौं । जनचाहना नै सडकमा थियो । कम्तिमा विपद्का बेला मेरो घरसम्म पिकअप भ्यान भएपनि आओस् भन्ने जनचाहनाका कारण हामीले वडामा झण्डै दिन दर्जन बढी सडकको स्तरोन्नतीको काम गरेका छौं । वडामा खानेपानीको पहुँचका लागि केही काम भए । विद्यालयहरुमा भवन निर्माण भएका छन् । स्वास्थय चौकीको भवन, अस्पताल निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापन, स्वास्थ्य इकाईको स्थापना हामीले गरेका छौं । काठेपोलमुक्त वडा बनाउनका लागि झण्डै ४ सय काठेपोल विस्थापन गर्ने काम गरेका छौं । सशक्तीकरणका कार्यक्रम चलायौं । खुल्ला प्लाष्टिकमुक्त वडा बनाउन २९ वटा महिला समुहको सहभागितामा जनचेतना अभिबृद्धि र खुल्ला प्लाष्टिक व्यवस्थापनको काम गरेका छौं । कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउन मिनिटेलर हलो जस्ता प्रबिधिको प्रयोग गरेका छौं ।
सेवाग्राहीहरु वडा कार्यालय नियमित नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन् नि ?
–वडा कार्यालय नखुल्ने भन्ने हैन तर नियमित सचिव नहुन सक्छन् । वडाका हरेक काम नगरपालिकामार्फत गर्नुपर्ने र नगरपालिका कार्यालय टाढा भएकाले नियमित सचिव वडामा नभेटिन पनि सक्छन्, त्यो सत्यता हो । मैले पनि सोचे जतिको समय वडालाई दिन सकेको छैन् । किनभने नगरपालिकासँग नियमित सम्पर्कमा रहनु पर्ने र जनताको काम गर्न नगरपालिका नै आउनु पर्ने भएकाले कहिलेकाँही वडामा नहुन सकिन्छ तर जनताका काम नभएका हैनन् । हामीले समय मिलाएर जनताका काम गर्दै आएका छौं । कर्मचारीको समायोजन हुन नसक्दा केही समस्या वडामा छ, त्यो हल गर्ने प्रयासमा हामी छौं । तालुक अड्डा सदरमुकाममा रहेका कारण हामीले बजारबाट पनि सेवा सञ्चालन गर्ने गरेका छौं । गाउँको कार्यालयमा कर्मचारी नभेटिए पनि सदमुकामा रहेको सम्पर्क कार्यालयबाट सेवा प्रदान हुने गरेको छ ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–वडाको विकासको लागि हामीले कयौं योजना अगाडि सारेका थियौं । सबै योजनाको मुल्यांकन र बजेटको बिनियोजन नगरपालिकाबाट हुने भएकाले सबै योजनले समान रुपमा बजेट पाए वा प्राथमिकतामा परे भन्न सकिन्न । प्राथमिकताका आधारमा छनौट भएका योजनामा नगरपालिकाबाट गएको बजेटका आधारमा काम भएका छन् । हामीले प्रयोग गर्न मिल्ने गरी नगरसभाबाट बिनियोजन भएको ४÷५ लाख बजेटबाट समानुपातिक र समावेशी हिसाबले काम गर्ने गरेका छौं । योजना माग्ने र आवश्यक सल्लाह सुझाव दिने काम गरिरहेका छौं । मुख्य कुरा नगरपालिकाले कति सम्बोधन ग¥यो भन्ने हो । सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन विकास र स्वरोजगार उत्पादनको लागि हामीले मुख्यतः योजना अगाडि सारेका छौं र सोही अनुसार काम भैरहेका छन् ।
तपाईको वडाका प्रायः सडक कच्ची छन्, कहिलेसम्म पक्की बनाउन पहल गर्नुहुन्छ ?
–यो बर्ष नै हामीले पक्कि सडक बनाउने कामको थालनी गर्ने छौं । यो बर्ष नगरपालिकाको कार्यालयदेखी वडा कार्यालय सम्मको सडकलाई पक्कि गर्ने योजना हाम्रो छ । केन्द्र सरकार र प्रदेश सरकारबाट समेत हाम्रो वडाहुँदै चल्ने सडकको लागि बजेट बिनियोज भएका कारण पनि हाम्रो यो योजनामा सहजता होला भन्ने छ । बागलुङ–कुश्मीशेरा सडक खण्डको लागि यो बर्ष प्रदेश सरकारले दुई करोड रुपैयाँ बिनियोजन गरेका कारण नारायाणस्थानको पानी ट्यांकीसम्म सडक पक्कि होला भन्ने छ । त्योभन्दा माथि वडा कार्यालय सम्मको सडक पक्कि बनाउनका लागि प्रदेश सरकारबाट नै एक करोड बजेट बिनियोजन भएकाले यो बर्ष काम सुरु हुन्छ । अर्को पाग्जा, लहरेबर गिठे, कुश्मीशेरा सडक खण्डपनी स्तरोन्नतीको लागि केन्द्र सरकारको बजेट परेको छ । उक्त सडकको अधिकांश भाग हाम्रो वडामा पर्छ त्यसले पनि आन्तरिक रुपमा हामीले गर्ने सडक पक्किको काममा सहयोग गर्छ । मलाई लाग्छ केही बाधा व्यवधान आई नलागेमा अबको पाँच बर्षमा वडाका अधिकांश सडक पक्कि बनाउन सकिन्छ ।
आफ्नो कार्यकाल पाँच बर्षमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–मेरो कार्याकालमा हाम्रो वडालाई नमुना वडाको रुपमा प्रस्तुत गर्ने योजना छ । बाह्रै महिना यातायात चल्ने सडक, शिक्षा स्वास्थ्य र पर्यटनको क्षेत्रमा व्यापक सुधार आईसकेको वडाको रुपमा हाम्रो वडा विकास हुने छ । सरसmाईमा ध्यान, बिद्युतको पहुँच, आयआर्जनका कार्यक्रममार्फत रोजगारीको सिर्जना भएको वडाको रुपमा विकास हुने छ ।
अन्त्यमा यस पत्रिकामार्फत केही भन्नु छ कि ?
–हामीले गरेका सबै काम राम्रै हुन्छन् भन्ने छैन् । कमीकमजोरी हुन सक्छन् । हामीबाट भएका कमीकमजोरीमा सल्लाह सुझाव र सकारात्मक काममा आम वडाबासीको साथ सहयोगको हामीले अपेक्षा गरिरहने छौं । यो तपाईंको अनलाईन पत्रिका निकै लोकप्रिय अनलाईन पत्रिका हो । यसमार्फत सम्प्रेषित भएका सूचनाले हामीले गरेका काम र कमजोरीमा खबरदारी गर्ने गरेको छ । निस्पक्ष रुपमा तपाईहरुले चलाएको कलम र हामीलाई दिएको अवसरले स्थानिय तहको विकासमा टेवा पुगेको महसुस मैले गरेको छु । यसरी नै नियमित हामीलाई रचनात्मक आलोचना र सकारात्मक सहयोग गर्दै जानुहोला, शुभकामना छ । धन्यवाद ।