बीमा कम्पनीका शेयरः बजार घटे, साख घटेन

काठमाडौं, २२ साउन –धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटेपनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ । निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरूको लगानी हालसम्म कम जोखिममा नै रहेको छ । दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ । स्टकका अनुसार जीवन बीमा गर्दै आएका एशियन लाइफ इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ६३० मा कारोवार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा रु ९९८ मा घटेको छ । गत वर्ष सो कम्पनीको शेयर एक हजार ६२८ मा कारोवार भएको थियो । यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८३६ मा कारोवार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष रु एक हजार १६९ मा कारोवार भएको शेयर आइतबार भने प्रतिकित्ता रु ३३३ ले घटेर रु ८३६ कायम भएको छ । यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ६०० मा कारोवार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ४१६ मा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ७६२ मा कारोवार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु दुई हजार ४० मा खरिद बिक्री भएको थियो । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १२ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० मा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार २३६ मा खरिद बिक्री भएको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर रु ५१४ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० गते सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ७०० मा कारोवार भएको थियो । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्तिा रु ५५२ मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० मा खरिद बिक्री भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउँछन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “बीमा क्षेत्रमा लगानीको अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटेपनि लगानीकर्ताको विश्वास उस्तै रहेको छ ।” बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उनको भनाई छ । निर्जीवन बीमातर्फ हिमालयनको शेयर प्रतिकित्ता ४२६ मा कारोवार भएको छ । रासस