सेञ्चुरी बैंकको सेवा बागलुङमा आरम्भ

बागलुङ, २३ साउन– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंगलबारदेखी बागलुङ बजारमा आफ्नो सेवा शुभारम्भ गरेको छ । देशभर शाखा सञ्जाल भएको बैंकले आफ्नो १ सय १३ औं शाखामार्फत बागलुङ बजारमा सेवा दिन सुरु गरेको हो । बैंकको शाखा कार्यालय उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खेलले बैंक तथा बित्तिय संस्थाले सामाजिक काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए । सर्वसधारणको हित अनुकुल बैंक तथा बित्तिय संस्था सञ्चालन हुनुपर्ने भन्दै खरेलले ग्राहकको मर्म बुझेर काम गर्न बैंक सञ्चालकलाई सुझाव दिए । हरेक नेपालीले बैंकमार्फत कारोवार गर्नुपर्ने भएकाले तल्लो तहका सर्वसाधारणसम्म बैंको पहुँच हुनुपर्ने उनको भनाई थियो । पारदर्शीताका लागि बैंकमार्फत कारोवार गर्नु अपरिहार्य रहेको समेत उनले बताए । कार्यक्रममा बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । ८ अर्ब चुक्ता पुँजी र ६३ अर्ब चालु पुँजी रहेको बैंकले देशभर ५३ अर्व रुपैयाँ लगानी गरेको बैंक सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले बताए ।
‘सरल बैंकिङ सबैका लागि बैक’ मुल नारा बनाएको बैंकले अन्य बैंक तथा बित्तिय संस्थाको तुलनामा सरल र सहज तरिकाले कर्जा प्रबाह गर्ने जनाएको छ । ‘हामीले सानो कर्जा प्रकृया सुरु भएको तिन दिनमा उपलव्ध गराउँछौं’ अध्यक्ष श्रेष्ठले भने ‘मध्यम कर्जा ७ दिन र ठुलो कर्जाको लागि प्रक्रिया सुरु भएको १५ दिनभन्दा धेरै समय लाग्दैन् ।’ कर्जा प्रवाहमा बैंकहरुले लिने गरेको समयका कारण उपभोक्ताहरु मर्कामा पर्ने गरेको भन्दै श्रेष्ठले सेञ्चुरीले कर्जा प्रबाहलाई सरल र सहज बनाएको दाबी गरे । श्रेष्ठले बागलुङमा रहेको स्थानिय पुँजीको परिचालन गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजनामा बैंक रहेको बताए ।