९ लाख रुपैयाँ भेटी संकलन

म्याग्दी,२४ साउन– बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैयाँ भेटी संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबारमध्ये पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो सोमबार तीन लाख २३ हजार ९०८ रुपैयाँ भेटी संकलन भएको कोषका सचिव माधव रेग्मीले जानकारी दिए । म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, चितवन, गोर्खा, लमजुङबाट आएका २५ हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेको कोषले जनाएको छ । पहिलो सोमबार दुई लाख ८८ हजार २७१ र दोस्रो सोमबार तीन लाख सात हजार ५८२ रुपैयाँ संकलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा सतिदेवीको गला पतनभएको धार्मिक शास्त्रहरुमा उल्लेख छ । साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने गलेश्वरमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । कोषले मासिक र साप्ताहिक रुपमा संकलित भेटी सार्वजनीक गर्दै आएको छ ।