तरकारी बोकेर महिनामा ३० हजार कमाउछिन लक्ष्मी किसान

बागलुङ, २५ साउन –तित्याङकी ५५ बर्षिय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ बर्षदेखि गरिरहेकी छिन् । बिहान र बेलुकी गरी कम्तिमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानेकी हुन् । बिहान उज्यालो हुँदा बागलुङ बजार पुगेर तरकारी पसल, होटल तथा व्यक्तिका घरघरमा उनले तरकारी बिक्री गर्दै आएकी छिन् । बिहानको खेप ८ बजेभित्र सकेपछि उनी फर्केर घरको काम भ्याउँछिन् ।
दिउँसो २ बजेपछि फेरी दोश्रो खेप तरकारी तयार हुन्छ । त्यो सकेर बेलुकी उनले नियमित घरको काम भ्याउनु पर्छ । यस्तै काम गरेर उनले ४ सन्तान हुर्काएकी छिन् । आफूले पढ्न लेख्न नपाएपछि छोराछोरीलाई पढाउन सफल भएको उनले बताईन् । ‘राम्रो गर्न नसकेपनि छोराछोरीलाई नराम्रो गरेकी छैन’ उनले भनिन्, ‘डोकोमा तरकारी बेचेर कमाएको पैसाले खाने लाउनेदेखि छोराछोरीलाई पढाएर पनि केही बचत गरेकी छु ।’ उनका ३ छोरी र एक छोरालाई डोकोमा बेचेको तरकारीले हुर्काएको हो । २० बर्षअघि उनका श्रीमानको निधन भएको थियो । श्रीमान छँदा पनि उनले यो दुःख गरिरहेकी थिइन् । श्रीमानबाट साथ र सहयोग नपाएकोले उनले कमाएर परिवार पाल्नु परेको थियो । डोके आम्दानबिाटै उनले ३ छोरीको बिवाह खर्च पनि जुटाएको बताईन् ।
छोरीको बिवाह गर्दा केही खर्च भयो, तर मैले यो पेशाबाटै पु¥याएँ’ किसानले भनिन्, ‘ठूला साहुको ठूलै ऋण हुन्छ रे, मैले अहिलेसम्म कसैको एक रुपैयाँ पनि खाएको छैन ।’ डोकोभरि तरकारी लगेर बेचेपछि घर फर्कंदा उनले सबै पैसा भुक्तानी गरेर रहेको मात्र खर्च गर्छिन् । केही समय देखि बागलुङ नगरपालिका–३ स्थित मिर्मिरे कृषि सहकारी संस्थाले उनको बचत पनि गरिदिएको छ । बिरामी हुँदा उपचार खर्च र मौकामा खर्च गर्न पाईन्छ भनेर खाता खोलेको उनले बताईन् । सहकारीका सदस्यहरुले गाउँभरि तरकारी खेती गरेका छन् । उनीहरुको तरकारी कृषि फर्मबाटै बिक्री समेत हुन्छ । किसानले बाँकी तरकारी डोकोमा बोकेर बजारका घर–घरमा लैजाने गरेकी हुन् । उनले हरेक दिन कम्तिमा एक सय केजी तरकारी बिक्री गर्ने बताईन् । साग, काउली, बन्दागोभी, केराउ, गोलभेडा लगायतका तरकारी उनले दैनिक बिक्री गर्छिन् । ‘नियमित आएर तरकारी टिप्ने काममा पनि साथ र सहयोग गरेर डोकोमा लैजानुहुन्छ’ सहकारीका अध्यक्ष गंगाबहादुर थापाले भने, ‘खुद्रा मूल्यभन्दा केही सस्तो दिएर पठाउने गरेको छु ।’ त्यही कमिसनबाट उनले आफ्नो दैनिकी धानेकी हुन् । किसानले प्रतिकेजी १० रुपैयाँसम्म नाफा निकाल्न सक्दा दैनिक एक हजार रुपैयाँसम्म कमाउने बताईन् ।
२० बर्षअघि श्रीमानको निधन भएको थियो । अत्याधिक मदिरा सेवनले श्रीमानको निधन भएको थियो । ‘घरमा काम गर्नेभन्दा मैले कमाएको पैसा सकिन्थ्यो, अहिले बरु दुइ चार पैसा बचाउन सफल छु’ किसानले भनिन्, ‘बिदेश जान खोजेको छोरालाई पनि कृषि कर्म गर्न भनेकी छु ।’ काम गर्न सकेमा गाउँमा जग्गा भाडामा लिन पनि पाईने भएपछि छोरा दिपकले आमाको पेशालाई साथ दिने योजना बनाएका छन् । बजारको समस्या नभएकोले तरकारी खेतीले मनग्ये आम्दानी गर्न सकिने भन्दै छोरालाई खेतीपातीमा उक्साएको उनले बताईन् । मासिक ३० हजार रुपैयाँसम्म कमाएकोले छोराले साथ दिएमा ५० हजार कमाउने आशा राखेकी छिन् । ‘उमेरले काम गर्न नसक्ने अवस्था भैसकेको छ, तर छोराले साथ दिए अझै मासिक ५० हजारसम्म कमाउन सकिन्छ’ उनले भनिन्, ‘गाउँसम्म मोटरबाटो बनेकोले जिपमा राखेर बजार पठाउन सके अझै धेरै तरकारी बिक्री हुने उनले बताईन् । एकैखेपमा एकसय केजीसम्म लगेर खपत गर्ने बजार देखेको उनले बताईन् ।