‘प्रकाण्ड अपराधी भएकाले पक्राउ गरिएको हो’

'प्रकाण्ड' पक्राउको बचाउ गर्दै गृहमन्त्रीले भने - 'बादल भनेको गृहमन्त्री हो'

चितवन, २५ साउन – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन् । गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कार्वाही सुरु गरेको बताए। उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए ।
शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे । गृहमन्त्री थापाले कानुन कार्यान्वयन गरी शान्ति सुरक्षा स्थापना गर्नु आफ्नो काम भएको भन्दै विश्वकर्मा पक्राउको बचाउ गरे।
विगतमा थापा र प्रकाण्ड एउटै पार्टीमा रहेको र हाल थापा गृहमन्त्री भएको बेला प्रकाण्डलाई पक्राउ गरिएको सन्दर्भलाई लिएर चर्चा भएका बेला उनले आफू गृहमन्त्री भएको बताउँदै उनले पक्राउको बचाउ गरे। सोसल मिडियामा ‘बादल गृहमन्त्री हुने, प्रकाण्डलाई हत्कडी लगाउने’ भन्दै चर्चा भएको थियो। ‘बादल भनेको गृहमन्त्री हो’, थापाले भने- ‘गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्नु हो। अपारधीहरूलाई नियन्त्रण गर्ने क्रममा यस्ता घटना हुन्छन्।’
‘अपराधी हुन् त्यसो भए उनी?’ पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई पत्रकारले सोधे। गृहमन्त्री थापाले प्रश्नको घुमाएर जवाफ दिए। ‘निश्चिरुपमा जसले कानुनलाई उल्लंघन गर्छ, जसले विधिलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ’, उनको जवाफ थियो। ‘चन्दाआतंक र राज्यको विरुद्ध ध्वंसात्मक गतिविधिमा उनको समूह संलग्न भएकोले’ उनलाई पक्राउ गरिएको गृहमन्त्रीको स्पष्टीकरण छ। थापाले थपे, ‘उनी वारेन्टेड व्यक्ति पनि हुन्।’
गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी पनि गरे । उनले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको दावी समेत गरे । गृहमन्त्री थापाले सरकार चालू आर्थिक वर्ष भित्र ८ प्रतिशतको दरले आर्थिक वृद्धिदर कायम गर्न केन्द्रित भएको पनि बताए ।