विविध कार्यक्रमसहित जेसीज सप्ताह सुरु

बागलुङ, २५ साउन– जेसीज सप्ताह २०१८ को अवसर पारेर बागललुङ जेसीजले गर्न लागेको सप्ताहव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै बागलुङ जेसीजले जेसीज सप्ताहव्यापी कार्यक्रमको बिषयमा जानकारी गराएको हो । ‘बागलुङ नगरपालिकाका प्रमुखसँग युवाहरुको नेतृत्व विकास’को कार्यक्रमलाई प्राथमिकतामा राखेको जेसीजले शनिबारदेखी आगामी भदौ १ गतेसम्म बिबिध कार्यक्रम गर्ने जनाएको छ । जेसीज सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेसीज सप्ताह २०१८ का संयोजक बलबहादुर थापाले युवाको नेतृत्व विकास, क्षमता प्रदर्शन र सम्मान तथा हौसला प्रदान गर्ने खालका कार्यक्रम आयोजना गरिएको बताए ।

सप्ताहको पहिलो दिन उद्घाटन तथा युवा सम्मान, र धौलागिरीका जेसीजहरुका बीच मैत्रिपुर्ण फुटसल प्रतियोगिता, दोस्रो दिन जेसीज बोर्डको व्यवस्थापन तथा जेसीज गाउँ भकुण्डेमा पर्यटनका विषयमा अन्तरक्रिया, तेस्रो दिन सुस्त गतिको मोटरसाईकल दौड, चौथो दिन नगरप्रमुखसँग युवाको नेतृत्व विकासको बिषयमा अन्तरक्रिया, पाँचौं दिन अन्तरविद्यालय स्तरिय नृत्य प्रतियोगिता, छैटौं दिन जेसीज प्रशिक्षण कार्यक्रम र सातौं दिन स्वर्गिय प्रगति स्मृति अन्तर माध्यामिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता तथा समापन कार्यक्रमको आयोजना गरिएको थापाले जानकारी दिए । सप्ताहको अवसरमा आयोजना गरिएका सबै कार्यक्रमको संयोजनको जिम्मेबारी अलग–अलग युवाहरुलाई दिईएको छ । ‘युवाहरुको नेतृत्व विकासलाई ध्यान दिएर जिम्मेबारी बाँडफाँड गरेका छौं’ जेसीज बागलुङका अध्यक्ष लालकुमारी बस्नेतले भनिन्– ‘प्रत्येक बर्ष आयोजना हुने कार्यक्रम फरक–फरक तरिकाले सञ्चालन गर्ने गरेका छौं ।’ कार्यक्रम शाखा अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गरेका थिएभने जेसी सौगात खड्काको सञ्चालन गरेका थिए ।