कानुनी शासन बलियो बनाऔं–बार उपाध्यक्ष पन्त

बागलुङ, २६साउन–नेपाल बार एसोसिएसनका उपाध्यक्ष घनश्याम पन्तले अदालतलाई कमजोर बनाएर कानूनी शासनको अन्त्य गर्ने काम भैरहेको आरोप लगाएका छन् । उच्च अदालत बार एसोसिएसन बागलुङको ४२ औं साधारणसभा तथा २७ औं अधिवेसनको उद्घाटनका क्रममा बागलुङ आएका पन्तले संविधान र कानूनको पालनामा राज्यलाई जिम्मेवार बनाउने अभियानमा कानून व्यवसायी सधै सक्रीय र सचेत रहनुपर्ने समेत बताए । नेपाल बारले प्रधानन्यायाधिस विरुद्ध आएका धेरै मुद्दामा बोलेका कुरा सत्य सावित भएको, व्यवस्था परिवर्तनमा राजनीतिक आन्दोलनलाई साथ दिएको देखेर दलहरुले कार्यकर्ता झै व्यवहार गरेको आरोप पनि लगाए ।
‘हामी दलका कार्यकर्ता होइनौं, त्यसैले दलको एजेण्डा हामी बोक्दैनौं’ उनले भने, ‘कानून र संविधानको प्रावधानमा कसैले लिएका मुद्दामा एकरुपता भने हुन सक्छन् ।’ उनले अदालतमा राजनीति छिरेको, एउटा न्यायाधिस सिध्याउन अर्को लाग्दा बिबादको बिजारोपण भएको समेत उनले टिप्पणी गरेका थिए । उनले न्यायालय कमजोर हुँदा नागरिक अन्यायमा पर्ने समेत बताए । साधारणसभा सँगै अधिवेसनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । बारले अहिले सम्म बागलुङमा निर्वाचन गरेको छैन । बरु सहमतिमा नेतृत्व चयन गर्दा धेरै सफलता पाएको भन्दै कानून व्यवसायीले सहमतिमै जानुपर्ने धारणा राखेका थिए ।
उच्च अदालत वार एसोसिएसनका अध्यक्ष केशव पराजुलीको अध्यक्षता, सचिव हरिप्रसाद गौतमको संचालन र उपाध्यक्ष हरिकृष्ण कार्कीको स्वागतमा भएको साधारणसभा उद्घाटन समारोहमा बरिष्ठ अधिवक्ताहरु पद्मनाथ शर्मा, कृष्णप्रसाद निउरे र गणेशबहादुर कुँवर, नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिव धर्मबहादुर कुँवर, गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रे, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामचन्द्र पौडेल, जिल्ला न्यायाधिवक्ता धर्म पौडेल, म्याग्दी वार एसोसिएसनका सचिव सागरजिवी उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, बारका पुर्व अध्यक्ष हरिप्रसाद शर्मा, राम शर्मा र राजु गौतम, अधिवक्ता लक्ष्मी बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।