संघमा नेतृत्व जमाउने लक्ष्य

बागलुङ, २७ साउन–उद्योग बाणिज्य संघमा नेतृत्व जमाउने पहिलो एजेण्डासहित नेकपा निकट व्यवसायीहरुले अभियान छेडेका छन् । तत्कालिन एमाले र माओवादीको एकतापछि दुई दलका भातृ संगठनको रुपमा रहेका व्यवसायीले एकता गर्दै बागलुङ उद्योग बाणिज्य संघमा प्रभुत्व जमाउने गरी योजना थालेको बताए । माओवादी निकट नेपाल राष्ट्रिय उद्योग व्यपार संगठन र नेपाल राष्ट्रिय बाणिज्य संघले शनिबार आयोजना गरेको संयुक्त चियापान तथा परिचयात्मक कार्यक्रममा सहभागिले व्यवसायिको हितमा काम गर्ने समेत बताए । व्यवसायीहरुले एकताको सन्देश दिएको घोषणा गरेपनि एउटै नाम भने राखिएको छैन । तत्काल दुवै नाम रहेपनि व्यवसायिक काममा एकता भएको उनीहरुले दावी गरे । ‘हामी अब उद्योग बाणिज्य संघमा कसरी हस्तक्षेप गर्ने भन्नेमा लागेका छौं’ संगठनका केन्द्रीय सदस्य रतनप्रसाद मलेपतिले भने, ‘व्यवसायीलाई शनिवार पसल खोल्न नदिनेविरुद्ध पनि लागेर खोल्न सक्ने बनाएका छौं ।’ बागलुङ उद्योग बाणिज्य संघले व्यपारिक संगठनमा काम गर्ने मजदुरका लागि बिदा दिने भन्दै शनिबार पसल बन्दको प्रावधान राखेको छ । त्यस्तै कार्यक्रममा संघका केन्द्रीय सदस्य संजय श्रेष्ठले व्यवसायिको हितका लागि काम गर्ने र राज्यले अनावस्यक रुपमा बढाएका करको दर समायोजनमा आफूहरु सक्रीय रहने बताए । साथै उनले पार्टीको एकता जस्तै व्यवसायिक संगठनको एकताले नयाँ उर्जा दिने बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गोबिन्द नेपालीले ईतिहासमै दक्षिण एशियाली क्षेत्रको ठूलो कम्युनिष्ट पार्टी बनेकोले अब सबै सामाजिक संगठन पनि आफ्नै पक्षको बन्ने बताए । संगठनका अध्यक्षहरु भवनराज बराल र राज थापा, सचिवहरु प्रकाश चालिसे र डियरबाबु हमालले पनि बोलेका थिए ।