जमीन मुनीको यात्रा–१३

आजको दिन हामी संसार प्रसिद्ध शहरमा पुग्नेवाला छौं । अर्थात् अमेरिकाको न्यूयोर्क शहरमा । न्यूयोर्क शहरका थुप्रै प्रसिद्धि होलान् । तर मैले यहाँ दुई प्रसिद्धि मात्र छोएको छु । एउटा कहालीलाग्दो र अर्को व्यापारिक शहर । पहिलोको कुरा गरौं । न्यूयोर्क शब्दले नै एक प्रकारको आतंक मच्चाउँछ मनमा । न्यूयोर्कले आँफैले त्यो आतंक श्रृजना गरेको भने होईन । उसमाथि घटाईएको घटनाले श्रृजित आंतकले जो कोहीलाई झस्काउँछ । आतंकित गराउँछ । सन् २००१ मा न्यूयोर्क शहरको नाभीमा रहेका दुई विश्व प्रसिद्ध व्यापारिक जोडी भवनमा मुश्लिम आतंकी अलकायदाले हमला गरेको त्यो भयावह तस्वीर सम्झँदा मुटु काँप्छ । त्यो भयावह दृश्य आँखाको सामुन्ने खडा हुन्छन् । बाँणका तीर छातीको बीच मुटुमा छिरेझैं बोईङ बिमानले ति अग्ला विश्व प्रसिद्ध व्यापारिक भवनको मुटु छेडेर पार गरेका थिए । त्यसपछि छुटेको धुवाँको मुश्लो देखेर संसार थर्कमान भएको थियो । यसैको उपज अफगानिस्तानमा उदाएको तालिबान सत्ता बेपत्ता भयो । इराकका राष्ट्रपति सद्दाम हुसेन फाँसीमा लट्के । पछि गएर आतंकी अलकायदाका नाईके ओसामा बिन लादेन पाकिस्तानको ओवाटावाद शहरमा अमेरिकी सैन्य कारबाहीमा मारिए । अझै भनौं, न्यूयोर्कमा दागिएको त्यो आतँककारी हमलाको विश्वव्यापी प्रभाव आज पर्यन्त कायम छ भन्दा फरक नपर्ला । यही हो त्यो– न्यूयोर्क ! त्यही न्यूयोर्कमा अनेकन कौतुहलता मेट्न र ती ध्वस्त भएका अग्ला जुम्ल्याहा भवनका भग्नावशेषको शून्य स्थलमा पुग्नु हाम्रो लागि कम्ति उत्सुकताले भरिएको थिएन एकातिर भने अर्कोतिर, यो शहर दश कक्षा पढ्दाको अँग्रेजी किताबको एउटा पाठमा पढ्दा सुनेको शहर हो । त्यहि किताबमा छापिएको थियो संयुक्त राष्ट्र संघ भवनको ब्ल्याक एण्ड ह्वाईट् फोटो । संयुक्त राष्ट्र संघ भवनको मुख्यालय यहीं छ भनेर पढ्यौं । यो पनि हेर्नु थियो । ऊ बेला पढ्दा देखेको यो शहरमा पुग्ने कल्पना पनि गरिएन । शहर देख्ने त परै रह्यो । तर आज सपनामा झैं त्यही न्यूयोर्क शहरको बिचरण गर्दैछौं । अत्यन्त रमाई रहेका छौं । खासगरी म बढी रोमाञ्चित हुँदै रमाउँदै छु । यही शहर आजको हाम्रो गन्तब्य हो ।

यौटा अद्भुत नदीको छाँगो नायग्रा फल्स देखेर फर्केका हामी सीधै न्यूयोर्क शहरतर्फ हानिएका थियौं । अमेरिकी भूमी भित्रका प्रत्येक कदम हाम्रा लागि नौला थिए । भूगोल नौलो थियो । आधुनिक विज्ञानले सिर्जेका तमाम विकासका दृश्यहरू नौला थिए । यि सबैसंग साक्षात् हुँदै सपरिवार संगै घुम्नु अलिअलिको रमाईलो थिएन । धुमधाम रमाउँथ्यौं । हामी गाडी भित्रभित्रै बेजोडले दौडिन्थ्यौं,बाहिर हामीभन्दा छिटो भूगोल दौडिन्थ्यो । डाँडाकाँडा क्षितिज दौडिन्थ्यो । रूख वनजंगल शहर सडक दौडिन्थे । सडकका भाँती–भाँती प्रकारले आकार र नक्शा देखिन्थे, क्षणभरमै बिलिन हुन्थे । यो तँछाड–मछाड्को यात्राले असिमित आनन्दानुभूति दिन्थ्यो ।
यात्रा निरन्तर अगाडि बढ्थ्यो । मुटुको ढुकढुकी पनि बढ्थ्यो । कत्तिबेला देखम् न्यूयोर्क हुन्थ्यो । तर न्युयोर्क पुग्नु करिब एकसय माईल वरैदेखि बर्षे झरी सरहको बर्षातको समना गर्नैपर्ने अवस्था श्रृजना भयो । एकतर्फी सडक भएपनि लामालामा ट्रकलाई उछिन्दै गाडी कुदाउनु पर्दा मन झसंग हुन्थ्यो । तोकिएको गतिमा गाडी कुदाउनु पनि छ । भिजेको चिप्लो सडकको ख्याल पनि गर्नु छ । यो करिब सय माईलको न्युयोर्क नपुग्दा सम्मको यात्रा कम्ता तनावयुक्त रहेन । मोबाईलको एपबाट मौसमको पूर्वानुमान दिईरहेको हुने रहेछ घण्टा–घण्टाको । हामी पुग्ने समयमा न्युयोर्कमा पानी छ कि छैन हेर्नुस् त ? छोराले सोध्यो । मैले मोबाईलको एप खोलेर हेरें । मध्यरातसम्म मन्दमन्द बर्षात भैरहने देखियो । झरी झरीमै हामी न्युयोर्क पुग्ने भयौं । बाटोबाटै न्युयोर्कको मौसमको जानकारी लिनुको खास अर्थ थियो । आजै राती हामी मेनह्याटन नजिकै रहेको ‘टाईम स्क्वाएर’को रात्रीकालिन मज्जा लिन चाहन्थ्यौं । रात्रीमा जत्तिको रमाईलो दिनमा पाउन गाह्रो हुन्छ न्युयोर्कमा । त्यसैले आजै यो क्षणको मज्जा लिन आतुर थियौं हामी ।

अन्ततः बर्षेझरी सरहको बर्षात संगसंगै न्यूयोर्क प्रवेशद्वारमा हाईवे ट्याक्स (त्यभि) बुझाएर न्यूयोर्क भित्र पस्यौं । यसैबीच टाईम स्क्वाएर पहिला जानेकि बुक गरेको होटल रामादान (च्बmबम्बबल) मा जाने मन दोमन भयो । हामीले तु निर्णय गर्यौं पहिले शहरको नाईट् सीन हेर्ने । हाम्रो कार भित्रको जिपिएस इण्डिकेटरमा टाईम स्क्वाएरलाई पीन प्वाईण्ट गर्यौं । स्क्वाएर न्यूयोर्कको शहरको मध्यभागमा अवस्थित रहेछ । त्यसैको वरिपरि ट्वीन टावरको जीरो ग्राउण्ड पनि रहेछ । जीपिएसले यी सबै आँफै देखाउँथ्यो । हामी त्यतै सोझियौं । भूमीगत टनेलका मार्गहरू छिचोल्दै अगाडी बढ्यौं । ओहो ! यौटा थप कुराले झल्यास्स बनायो । त्यहाँ हाम्रो कारलाई कहाँ पार्किङ गर्ने भन्ने चिन्ता थपियो । सुनिएको थियो– न्यूयोर्कमा पार्किङको समस्या छ । हामी त्यस्तो व्यस्त र सांगुरो सडकमा पुग्दै थियौं । यो समस्याको पूर्व जानकार रहेछ छोरा । केही समय गाडी घुमाएपछि पार्किङ स्थल भेटियो । पार्किङको लागि हाम्रो सोचाई अनुसार खुला मैदान थिएन । त्यहि व्यस्त र सांगुरा सडकमा भएका गगनचूम्बी ईमारतहरू नै पार्किङका लागि बन्दोबस्त गरिएका रहेछन् । एक घण्टाको सत्तरी डलरमा उसले पार्किङ स्थल भेटायो । गगनचुम्वी भवनका कैयौं तलाहरू त पार्किङका लागि भनेर खाली राखिएका हुनेरहेछन् । अर्थात् पुरै पार्क गरिराखेका गाडीहरू ति भवनमा देखिए । हाम्रो तिर बिक्रिका लागि राखिएका टोयोटा होण्डाका शोरूम जस्ता फ्ल्याटहरू देखिन्थे । मान्छेलाई जस्तै कारलाई लिफ्टबाट नै तलमाथि पुर्याइने रहेछ । यहि ठाउँमा गाडी राखेर हामी रात्रीकालिन न्यूयोर्क शहरमा पस्यौं ।
पानी सीमसीम परेको थियो । हाम्रा ज्याकेटहरूले त्यत्तिको पानी थाम्न सक्थ्यो । त्यसपछि बीसतीस मिटरको पैदल यात्रा पछि नै टाईम स्क्वाएर भेट्यौं । छताछुल्ल पोखिएको प्रकाशले रात हो कि दिन भेऊ पाउन मुश्किल लाग्थ्यो । कस्तो झलझलाकार उज्यालो ! हामीकँहा होर्डिङ बोर्डले गर्ने काम त्यहाँका बडेमानका भवनका भित्ता भरिने गरि राखिएका विज्ञापनिक स्क्रीन बोर्डले भरपूर उज्यालो फाल्दो रहेछ । के हेर्ने के नहेर्ने म त अलमलमा परें ! त्यस्तो सीमसीम पानीमा पनि मान्छेको चहलपहलमा खासै कमी नभएको देखिन्थ्यो । तर त्यो स्क्वाएरमा हुने धुमधामका साँगीतिक गतिबिधि भने अबरूद्ध भएको रहेछ । न्यूयोर्कमा त्यतिबेला नगरबधुहरूको पनि अनेकन हाउभाउ र दुईतिहाई नग्नावस्थाको प्रदर्शन मनग्य देखिन्थ्यो । न्यूयोर्क भनेर के गर्ने भारतीय कामदारहरूको बाक्लो दौडधूप देखेर म त तीनछक परें । काठमाण्डौको असनको गल्लीमा साईकिल दौडाए जसरी खाना सप्लाई गर्न उनीहरूलाई भ्याईनभ्याई हुने रहेछ । संसारभरिका अनुहार त्यो उज्यालोमा देख्न पाईने । एकरातको दुईलाख पचास हजार रूपैयाँ सम्मका होटलका कोठा लिने धनाढ्यहरू पनि त्यहीं देखिन्थे । अचम्मको मिश्रण रहेछ न्यूयोर्कको त्यो स्क्वाएर । त्यही शहरमुनीबाट लगातार दौडिरहेका रेलको थर्थराहट पनि महशुश गर्यौं । ढलका ढकनीका छिद्रहरूबाट कुहिरो झैं बाफ छुट्थ्यो । तर दुर्गन्ध नाकले थाहा पाउँदै पाएन । कस्तो गजब ! एक ईन्च जग्गा पनि त्याहाँ खाली थिएन । सडकहरू अत्यन्त साँगुरा तर यातायातको व्यवस्थापन भने चुस्त थियो । ट्राफिक लाईटले रोक्नु बाहेक त्यहाँ सडक जाम देखिएन । तर यौटा अनौठो कुरा त्यहाँ नेपालमा जस्तै गरि ट्राफिक प्रहरी उभिएको दखियो । अन्यत्र कतै ट्राफिक प्रहरी देखिएका थिएनन् दुर्घटना स्थलबाहेक । यिनीहरूले प्रत्यक्षतः सडक यातायातको गम्भीर ढङ्गले निगरानी राख्दा रहेछन् । हामीकहाँ बाटो फराकिलो गराए ठूलो काम गरेको देखाउन खोज्ने जस्तो त्यहाँको नगरले साँगुरो बाटोलाई कायमै राखेर गरिएको व्यवस्थापन अतुलनीय थियो । करिब एकघण्टाको पार्किङ शुल्कमा रात्रीकालिन न्यूयोर्कको सानो बिन्दुमा सरसर्ती घुम्यौं । केही फोटो लियौं । अन्त्यमा टोपी त के टाउकै झर्नेगरि आकाश तिर फर्क्यौं । उस्तै उज्यालो थियो । हेलिकप्टर घुमेकै थिए सुरक्षाका लागि । लगभग एकघण्टाको घुमाई पछि हामी होटलमा जाने निर्णयमा पुग्यौं । गाडी भएको ठाउँमा पुग्यौं । सानो कार्ड देखाएर पैसा बुझाए पछि डरलाग्दो कालो अनुहार फुत्त देखापर्यो । हेर्दाहेर्दै उसैले ड्राईभ गर्दै लिफ्टबाट गाडी तल झारेर नम्रतापूर्वक झुक्दै चाबी बुझायो । त्यो डरलाग्दो मान्छे झुक्नुको अर्थ बक्सिसको अनुनय रहेछ । दश डलर टिप्स पायो । अन्तमा अन्य हाम्रा रोजाईका ठाउँ भोलिका लागि साँच्दै हामी त्यहाँबाट न्यूयोर्कको ‘रामादान’ होटलतर्फ सोझियौं । क्रमश…