इपिएलः चेल्सी, टोटनहम, कार्डिफ, क्रिस्टल प्यालेस, वाटफोर्डको विजयी शुरुवात

च्याम्पियन सिटीले आज आर्सनलको सामना गर्दै

हडर्स्फिल्ड टाउनबिरुद्ध सहज जित निकाले पनि चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले टोलीलाई पूर्णरुपमा तयार हुन अझै एकदेखि दुई महिना लाग्ने बताएका छन् । शनिबार भएको खेलमा चेल्सी ३–० गोलअन्तरले विजयी भएको हो । खेलको पहिलो हाफमा एनगोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने डेब्यु गरिरहेका जर्गिन्होले पेनाल्टीबाट चेल्सीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर पेड्रोले तेस्रो गोल थपे । सन् १९९८–९९ सिजन यता चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा हार बेहोर्नुपरेको छैन । त्यस्तै, टोटनहम हटस्पर्सले पनि घरेलु मैदानबाहिर न्युक्यासल युनाइटेडलाई २–१ गोलले अन्तरले पराजित गरेको छ । जान भेर्टोगनले हेडमार्फत स्पर्सलाई खेलको आठौँ मिनेटमा अग्रता दिलाएका थिए । तर, ११ औँ मिनेटमा जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ७ मिनेट पछि नै डेली अलीले सर्जी अरियरले गोल गर्दै टोटनहमलाई पुनः अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुनसकेन र टोटनहमले तीन अंक बटुल्न सफल रह्यो । स्पर्सले न्युक्यासलको घरेलु मैदानमा पछिल्लो पाँचमध्ये चार खेलमा जीत हासिल गरेको छ । शनिबार भएको अन्य खेलमा कार्डिफ सिटीले एएफसी बोर्नेमाउथलाई २–० गोलअन्तरले पराजित गर्यो । त्यस्तै, क्रिस्टल प्यालेसले फुलहाम र वाटफोर्डले ब्राइटन एण्ड होभ आल्बियनलाई समान २–० गोलअन्तरले हरायो । वोल्भरह्याम्पटन वान्डरसर्स र एभर्टनले २–२ को बराबरी खेले । –एजेन्सीको सहयोगमा