चिकित्सा शिक्षा सुलभ बनाउ

बागलुङ, २७ साउन–गरिब नेपाली जनताका छोराछोरीले पढ्न पाउने गरी चिकित्सा शिक्षाको कानून आउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन अन्र्तगतको अ डिवेटिङ क्लबले आयोजना गरेको छलफलमा सहभागिले चिकित्सा शिक्षालाई सुलभ बनाउन नसकेमा नेपालीले उपचार समेत पाउन नसक्ने अवस्था आउने बताए । कार्यक्रममा प्रमुख बक्ताका रुपमा बोल्दै पूर्व स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले माथेमा आयोगको प्रतिवेदन र यस अघि डाक्टर गोबिन्द केसीसँग गरिएका सहमति पालना गर्नेहो भने धेरै सुधार हुने बताए ।
उनले डा केसीले राखेका माग व्यक्ति केन्द्रीत नभई नीति बनाउने बिषयमा केन्द्रीत भएकोले सरकारले चिकित्सा नीति ल्याएमा धेरै समाधान हुने बताए । ‘अहिले सम्म नेपालमा चिकित्सा क्षेत्र हेर्ने ऐन समेत बनेको छैन’ पौडेलले भने, ‘स्वास्थ्य मन्त्रालयको क्षेत्र जस्तो देखिएपनि शिक्षा मन्त्रालयको क्षेत्रमा परेकोले यो बिषय अझै समाधान नभएको हो ।’ समयमा ऐन ल्याएर जान सकियो भने पद्दतीको बिकास हुने भन्दै समस्या पनि समाधान भएर जाने उनले बताए । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका पूर्व सहायक प्रमुख डम्बर बिक, अधिकारकर्मी बिकास पौडेल, नेविसंघका अध्यक्ष खड्ग थापा, विद्यार्थीहरु विशेष लामिछाने, स्ववियु सभापति मनिष थापा, सचिव बिष्णुराज पौडेल लगायतले बोलेका थिए । डिबेटिङ क्लबले हरेक १५ दिनमा एकएकवटा बिषयमा बहस गर्ने योजना बनाएको थियो । आगामी भदौ ९ गते हुने छलफलका लागि विश्वविद्यालयको अवस्था बिषयमा छलफल गर्ने योजना बनाइएको थापाले बताए ।