युवालाई गाउँमै रोक्न सामूहिक कृषि अभियान

१ करोड खर्चेर समुहमा खेती

बागलुङ, २७ साउन– गाउँबाट शहर र बिदेशमा बसाईसराई बढी रहेको बेला युवालाई गाउँमै रोक्ने अभियान स्वरुप लेखानी र बिहुँमा सामुहिक कृषिको काम थालिएको छ । काठेखोला गाउँपालिकाको ५ कादेश र ८ को लेखानीबासीले सामुहिक कृषि उत्पादन थालेका हुन् । यो अभियानले बिदेश हिडे्न लागेका युवा रोकिने अनुमान गरिएको छ । बसाईसराईले घर रित्तो भएको र जग्गा बाँझिएको भन्दै उनीहरुले एउटै स्थानमा कृषि फसल र माछा पालन शुरु गरेका हुन् ।
गैह्रीखेत कृषि समूहमा आवद्ध भएका युवाहरुले करलिममा ७० रोपनी जमिन खरिद गरेर काम थालेका हुन् । उक्त जमिनमा बेमौषमी तरकारी र माछा पालन व्यवसाय शुरु गरिसकेका छन् । ‘ठूलो योजनाका साथ काम गरिरहेका छौं, त्यसबाट हामीले एकसय युवा रोजगार बनाउने लक्ष राखेका छौं’ व्यवस्थापक तिलक श्रीषले भने, ‘अहिलेसम्म १ करोड लगानी भएको छ, अझै केही लगानी बढ्छ ।’ लगानी उठाउन केही बर्ष लाग्ने भएपनि दिर्घकालिन रुपमा युवा पलायन रोक्न सकिने उनले बताए । उनीहरुले ब्रोइलर कुखुरा १ हजार ५ सय, उत्तिकै लेयर्स तथा दुइवटा पोखरीमा १० हजार भुरा माछा पाल्ने पूर्वाधार बनाईसकेका छन् ।
बंगुर र बाख्रा पालनका लागि पनि तयारी भैरहेको छ । ‘एकै पटक एउटा ट्रक भरेर कृषि फसल र मासु बजार पठाउन सकिने बनाउन लागेका हौं’ श्रीषले भने, ‘खाडीमा २० हजार कमाउन जान खोजेकालाई घरबाटै २५ देखि ३० हजार कमाउने बनाउन खोज्दैछौं ।’ युवाहरुको अभियानलाई अभिभावकहरुले साथ दिएका छन् । शिक्षक र कर्मचारी क्षेत्रमा काम गरेकाहरुले शेयर लगानी गरेर यो अभियानलाई साथ दिएको समूहका अध्यक्ष लिलाधर कंडेलले बताए । खोला छेउको जमिनमा केरा, लिची र अलैची लगाउने काम पनि शुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय र गाउँपालिकाको समन्वयमा काम थालेकोले प्राविधिक सहयोग समेत पाएका छन् । कृषि प्राविधिक राजु पौडेलले नियमित अनुगमन र प्राविधिक सल्लाह दिएपछि युवाहरु हौसिएका हुन् ।
हाल यो फर्ममा प्रत्यक्ष १५ जना युवाले काम गरिरहेका छन् । फर्म पूर्ण रुपमा संचालनमा आएमा ६० युवाले काम गर्न सक्ने कंडेलले बताए । फर्मको उत्पादन बजार पठाउने, संकलन गर्ने लगायतमा भने त्योभन्दा धेरै युवा रोजगार बन्नेछन् । खरिद गरेको जग्गा बाहेक झण्डै ५० रोपनी व्यक्तिगत जमिनमा अलैची खेती शुरु भएको छ । किसानले दुइ बर्षदेखि विक्रि समेत गरिसकेका हुन् । यहाँको कम्तिमा २ सय रोपनी जमिनमा अलैची बिस्तार गर्ने योजना उनीहरुको छ ।
ग्रामीण सडकको छेउमा अम्रिसो लगाएर पहिरो नियन्त्रण गर्ने काम समेत थालेका छन् । सडकलाई व्यवस्थित बनाएर बाह्रै महिना चल्ने बनाउने अभियानमा अम्रिसो लगाएको स्थानीय प्रमानन्द कंडेलले बताए । ‘युवा पलायन रोक्ने र कृषि हव बनाउन हामीले ऋण खोजेर लगानी गरेका छौं’ उनले भने, ‘प्रत्यक्ष काम गर्ने र कमाईका लाग युवा परिचालन गरेका हौं ।’ बाहिरी वातावरण बनाएर बजारको खोजीमा पाकाहरुले साथ दिएको उनले बताए । हालको जमिनलाई बढाएर १ सय रोपनी पु¥याउन उनीहरुले जग्गा खोजीरहेका छन् । खानेपानी र सिंचाईका लागि खानीखोलाबाट पाईपलाईन ल्याइएको छ । साथै उनीहरुले मुहान संरक्षण अभियान पनि चलाएका छन् । करलिमका सिमखेत पोखरी, खोरिया पोखरी, लिपेथान पोखरी लगायत दर्जनबढीको संरक्षण भैरहेको हो । सरसफाई र पानी चुहिने भएका पोखरीमा प्लाष्टर गरेर बर्षातको पानी जम्मा गर्ने काम पनि थालिएको हो ।