जेसिज सप्ताह शुरु, महासंघका अध्यक्ष शिरिष सम्मानीत

बागलुङ, २७ साउन– बागलुङ जेसीजले शनिवारदेखि बर्ष २०१८ को सप्ताहव्यापी कार्यक्रम थालेको छ । हरेक बर्ष नेतृत्व फेर्ने र युवालाई सामाजिक अभियानमा लगाउने जेसीजले बार्षिक कार्यक्रम अनुसार सप्ताह थालेको हो । यो बर्षको सप्ताहलाई बिशेष प्रकारको बनाउने बर्ष २०१८ की अध्यक्ष लालकुमारी बस्नेत (अम्बिका)ले बताईन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले युवाहरुलाई निरन्तर सक्रीय बनाउने र उद्यममा लगाउने काममा यस्ता संस्थाहरु फलदायी हुने बताए ।
साथै उनले उर्जावान समयलाई केही नयाँ काममा लगाउन आग्रह पनि गरे । कार्यक्रममा जेसीजले यो बर्षका लागि दुइ जना युवालाई सम्मान समेत गरेको थियो । सानै उमेरमा एमबीबिएस उत्तिर्ण गरेर धौलागिरी अञ्चल अस्पतालमा कार्यरत डा. प्रनिता राजभण्डारी र पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई उत्कृष्ठ युवा सम्मान गरेको हो ।
प्रजिअ खरेल र अध्यक्ष बस्नेतले उनीहरुलाई सम्मानित गरे । कार्यक्रममा जेसीजका संस्थापक श्याम श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, डा. कृष्णबहादुर श्रेष्ठ, रोटरी क्लबका पूर्वअध्यक्ष पूर्णबहादुर केसी, सम्मानित व्यक्तिहरु दिल शिरिष र डा. प्रनिता राजभण्डारी लगायतले बोलेका थिए । बागलुङ जेसीजका अध्यक्ष लालकुमारी बस्नेतको अध्यक्षता, सहसचिव सौगात खड्कको संचालन र निवर्तमान अध्यक्ष जोहन बज्राचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा सप्ताहका मुल संयोजक बलबहादुर थापा र शाखा सम्पादक तारा शर्माले बोलेकी थिइन् । जेसीजले शनिवारै बागलुङ, पर्वत र म्याग्दी जेसीजका सदस्य बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो ।