तंग्राममा जिप दुर्घटना हुँदा २ जना घाईते

गंभीर घाइते बोलेन्द्रलाई थप उपचारको लागि पोखरा पठाईयो

बागलुङ, २७ साउन–जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा यात्रुबहाक जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । काठेखोला गाउँपालिका–४ तंग्रामबाट बागलुङ बजारतर्फ आइरहेको ग १ ज ४८६९ नम्बरको जीप धम्जामा दुर्घटना भएको हो । दुर्घटनामा परि काठेखोला–३ का ४१ वर्षिय बोलेन्द्र बिक र सोही ठाउँका १९ बर्षिय आस्था विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाईतेमध्ये बोलेन्द्रको अवस्था गम्भीर रहेकाले धौलागिरी अञ्चल अस्पताल बागलुङमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको प्रहरी नायव उपरिक्षक बाल–रणसिंह राणाले जानकारी दिए । बोलेन्द्रको शरीरका बिभिन्न भागमा गहिरोको चोट लागेको प्रहरीले जनाएको छ । सामान्य घाईते भएकी आस्थाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ । दुर्घटनामा परेको जिप काठेखोला–१ को मध्यपहाडी लोकमार्गमा पल्टिएको थियो । ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।