विद्यालयले विपतबारे योजना राखन थाले

बागलुङ,३० साउन–सरकारले ल्याएको विद्यालय सुधार योजनामा कक्षा कोठा सुधार्ने, शिक्षकको व्यवस्था लगायतका बिषय मात्र समावेश हुन्थ्यो । सरकारी उद्देश्यले पनि त्यस्तै कुरमा मात्र समावेश गर्न खोज्छ । तर बागलुङका केही विद्यालयले सुधार योजनमा बिपद जोखिम न्युनिकरण कार्यक्रम समावेश गर्न थालेका छन् । अनिवार्य रुपमा बनाउनु पर्ने योजना बनाउंदा शिक्षक र अभिभावक मिलेर दैवीप्रकोप तथा बिपदबारे योजना राख्न थालेका हुन् । बिशेष गरी बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा यो क्रम बढेको हो । विद्यालय तहमा आईपर्न सक्ने बिपद बारे अनिवार्य योजना बनाउने र त्यसका लागि कोष समेत बनाउने भन्दै उनीहरुले योजनामार्फत समावेश गरेको बताए । २०७२ सालको भूकम्प र त्यसबाट पुगेको क्षतिपछि हरेक विद्यालयमा सुरक्षा योजना बनाउनुपर्ने प्रावधान थालिएको हो । गैरसरकारी संस्थाले सरकारको बिपद न्युनिकरण अभियानमा साथ दिएका थिए । त्यसपछि बिपदपछि सहयोग गर्ने भन्दा बिपद अघिनै योजना बनाएर सुरक्षित बन्ने योजना अगाडि सारेका हुन् । विद्यालयले बिपद पूर्वतयारी र जोखिम न्युनिकरण योजना समेत बनाएर केही अभ्यास पनि गरेको बताए । नमूनाको रुपमा बनाइएका केही योजना र केही घटना अभ्यास समेतपछि विद्यालयमा यो काम थालिएको शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘विद्यालय सुधार योजनामा अनिवार्य बिपद तथा जोखिम न्युनिकरण कार्यक्रम बनाउन भनेपछि अहिले बनाउने क्रम शुरु भएको छ’ उपाध्यायले भने, ‘योजना बनेपछि आन्तरिक र बाहिरी श्रोत जुटाएर काम गर्न पनि सजिलो भएको छ ।’ पहिलो चरणमा शिक्षाले केही गैरसरकारी संस्थाको सहकार्यमा नमूना अभ्यास गराएपछि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका ४० वटा विद्यालयले योजना बनाएका हुन् । उनीहरुको योजनामा भूकम्प, बाढी पहिरो, चट्याङ्, हावाहुरी लगायतका बिपदबाट बिगत दश बर्षमा भएका घटनाको संकलन गरेर योजनामा समावेश गरिएको हो । उक्त सिकाईबाट अब गर्नुपर्ने कामबारे योजना बनाएर ईकाईमा समेत पठाइएको शिक्षकहरुले बताए । ‘हाम्रा विद्यालयमा कति धेरै जोखिम रहेछन् भन्ने बल्ला थाहा पाइयो’ मुलपानी माविका अध्यक्ष बद्रीबहादुर केसीले भने, ‘खहरे खोला तर्न नसकेर धेरै बालबालिका घर फर्कने गरेको भेटियो ।’ सामान्य फट्के पुल बनाउन नसक्दा बालबालिकको पढाईमा असर परेको उनले बताए ।

विद्यालय छाड्ने दर बढ्नु र बालबालिका बजार केन्द्रीत बन्नुमा जोखिमको आकंलन नगरेको र सुरक्षाको उपाया नखोजेको उनले अनुभव सुनाए । विद्यालयहरुले बार्षिक क्यालेन्डर समेत बनाएका छन् । उक्त क्यालेन्डरमा मासिक रुपमा हुने जोखिमको सूचिकृत गरिएको छ । यहाँका विद्यालयले ‘भूकम्पको कथा’लाई पाठ्यक्रममा समावेश गरेका छन् । हरेक कक्षामा कम्तिमा एउटा कक्षामा भूकम्प सहितका जोखिम बारेको कक्षा संचालन हुने व्यवस्था समेत भएको सिगाना माविका प्रअ गोपालकुमार शर्माले बताए । ‘कथाको रुपमा प्रस्तुत गरिने सामाग्रीबाट बालबालिकामा सकारात्मक प्रभाव परेको छ’ शर्माले भने, ‘उनीहरुले अभिभावकलाई पनि जोखिमबारे बुझाउने काम गरेका छन् ।’ पटकपटक चट्याङले क्षति पुगेकोले केही विद्यालयले अर्थिङ गर्न थालेका छन् । ठूला रुखको छेउमा घर तथा विद्यालय रहेका स्थानमा बढी चट्याङ परेको उनीहरुको अनुभव छ । विद्यालयमा अर्थिङ गर्दा गत चैतदेखि चट्याङको जोखिम हटेको तित्याङ माविका शिक्षक कुमार पौडेलले बताए । तंग्रामका केही विद्यालयमा खोल्साखोल्सीमा छोटा पुल बनाउने अभियानै संचालन गरेका थिए । स्थानीय तहमै गर्न सकिने धेरै काम भएकोले ठूला पूर्वाधारका माग मात्र जिल्लामा आउने गरेका छन् । यो अभियानलाई जिल्लाका सबै विद्यालयमा लैजाने योजना इकाईको छ । ‘यो अभियानमा हामीलाई प्लान नेपाल र गाजा डेभलपमेन्ट फाउण्डेसनले सहयोग गरेका छन्’ उपाध्यायले भने, ‘परियोजनाको रुपमा आएको काम नमूना भएकोले जिल्लाभर संचालन भएमा केही बर्षमा सबै विद्यालय सुरक्षित बनाउन सकिन्थ्यो ।’ घटनाबाट बञ्चका लागि नेपाली सेनाको सहयोगमा केही विद्यालयमा अभ्यास समेत गरिएको छ । सेनाले भूकम्प, बाढी पहिरो र आगोलागिका घटनाबारे अभ्यास गराउने गरेको छ ।