रुपान्तरणका लागि पत्रकारिता

बागलुङ,३० साउन– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पत्रकारिता जिम्मेवार,जवाफदेही र उत्तरदायी बन्नुपर्ने बताएका छन् । धौलागिरी एफएमले आयोजना गरेको १० दिने रेडियो उद्घोषण, पत्रकारिता तथा प्राविधिक तालिम समापनका अवसरमा बोल्दै पौडेलले समाज रुपान्तरण र समृद्धिको अभियानमा पत्रकारिता सहयोगी भएको बताए । साउन १९ गतेदेखी सञ्चालित तालिम मंगलवार सम्पन्न भएको थियो । पौडेलले पत्रकारितालेनै नेतृत्वलाई समाजप्रति जवाफदेही बनाउन भूमिका खेल्ने समेत बताएका थिए । अब संचारमाध्यमले दिने सूचना विश्वसनीय हुनुपर्नेमा समेत जोड दिएका थिए । कार्यक्रममा एफएमका अध्यक्ष हरिनारायण गौतमले जिल्लामा पत्रकारितामा आकर्षण घटिरहेपनि तालिममा युवाहरुको सहभागिताले फेरी उत्साह थपेको बताए । पत्रकारितामा फेरी युवा पुस्ताको आकर्षण फर्केकोले समृद्धिको यात्रामा पत्रकारिता हिड्ने विश्वास गरे । तालिममा सार्वजनिक उद्घोषण, रेडियो कार्यक्रम सञ्चालन, समाचार लेखन, बाचन, प्राविधिक र पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

तालिम पछि सहभागीले १० दिनको तालिमबाट सिकेको शिपलाई व्यवहारमा उतार्ने बताए । उनीहरुले ठूलो उत्साह, उर्जा र ज्ञान हासिल गरेको प्रतिक्रिया समेत दिएका थिए । तालिम अवधिमा प्रत्येक दिन फरक फरक व्यक्तिबाट दिइएको प्रशिक्षणले परिचय दिन समेत कठिन मान्ने गरेका सहभागीले आँफुहरुमा आत्मबिश्वास बढेको बताए । कार्यक्रममा नेकपाका युवा नेता लालबहादुर थापा, धौलागिरी एफएमका स्टेशन म्यानेजर दिल शिरीष, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, महासंघका गण्डकी प्रदेश सदस्य संगम घर्ती मगर, सल्लाहकार कोपिला कँडेल, सहभागीका तर्फबाट बलबहादुर रोका र ज्योति सापकोटाले बोलो थिए । एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता र कार्यकारी सम्पादक नवीन शिशिरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमपछि सहभागिलाई प्रमाणपत्र बितरण पनि गरिएको थियो ।