विपत्प्रति सचेत बनौ

मौषम विज्ञान विभागले सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालमा बर्षातमा सक्रिय हुने मनसुन यो बर्ष पनि औषतमा सक्रिय भएको छ । बंगालको खाडीहुँदै आएको मनसुनी हावाका प्रभावले सक्रिय हुने मनसुनले नेपालमा बर्षा हुने गरेको छ । प्रायः जेष्ठ महिनाको अन्तिम सातादेखी असोज महिनाको पहिलो सातासम्म सक्रिय रहने मौषमले नेपालको पहाडी भुभागमा बाढीपहिरो र तराई भुभागमा डुबानको समस्या ल्याउने गरेको छ । यस बर्ष औषतमा हुने भनिएको बर्षा देशको पश्चिमी क्षेत्रमा पर्ने बागलुङमा पनि औषतमा नै भएको छ । बागलुङमा भएको बर्षाका कारण दुःखद तिन घटना भएका छन् । जिल्लाको बरेङ गाउँपालिकामा गत असार ११ गते बर्षा पछि आएको पहिरोका कारण एकै परिवारका तीन जनाले ज्यान गुमाए । घरमाथीबाट आएको पहिरोका कारण घरसँगै उनीहरु पुरीएका थिए । असारको अन्तिमतिर निरन्तर परेको बर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा पसेको बाढीका कारण २६ घर परिवार घरवारबिहिन भए । त्यस्तै साउनको ३० गते परेको अबिरल बर्षापछि आएको पहिरोका कारण निसीखोला गाउँपालिकाको वडा नम्बर ३ मा एकै घरका सासु बुहारीको ज्यान गएको छ ।
यि सबै प्रतिनिधि घटनाहरुलाई नियाल्ने होभने उच्च पहाडी र पहाडी भुभाग रहेको बागलुङमा बर्षातको समयमा उच्च जोखिम रहेको मान्न सकिन्छ । एकातर्फ पहाडी भुभाग यसैपनि पहिरोको जोखिममा रहेको हुन्छ भने अर्कोतर्फ जथाभावी खनिएका सडकहरु पनि पहिरो तथा भुक्षयको कारण बन्ने गरेको छ । जिल्लाकै काठेखोला ६ बिहुँमा जमिन फाटेका कारण यो बर्ष १३ परिवारले घर छोडेका छन् । भुगर्भबिदहरुले गरेको सर्वेक्षणको प्रारम्भिक नतिजालाई आधार मान्ने होभने काठेखोलामा फाँटेको जमिनको मुख्य कारण जथाभावी प्रयोग गरिएका स्काभेटर र डोजरहरुले हल्लाएको जमिन नै हो । विकासको नाममा घर–घरमा सडक पुर्याउने र भिरालो जमिनमा खनिएको बाटो बस्तीको तल माथिबाट बिस्तार गर्ने प्रबृत्तिका कारण अझैपनि जिल्लाका कयौ ठाउँमा पहिरोको जोखीम कायमनै रहेको छ ।
विकासको नाममा भैरहेको बिनास एकातर्फ कहालीलाग्दो अवस्थामा रहेको छभने बिपद्का बेला के कसरी बच्ने भन्ने बिषयमा आम सर्वसधारणलाई जानकारी गराउन नसकेका कारण थप पिडादायी घटनाहरुको सामना गर्नु परिरहेको छ । सडककै कारण बर्षातको समयमा भलबाढी आउने खहरे खोलाहरु अहिले सुख्खा जस्तै छन् । सडकले बर्षाको समयमा आउने बाढीको बाटो मोडीदिएका छन् । बाटो खनेका स्थानमा मात्रै हैन बाटो परिवतृन गरेको बाढीका कारण बाटो नवनेका ठाउँहरुमा पनि पहिरोको जोखिम कायम छ । त्यसैले बस्ती वरपरका बाटोहरुमा आउने बाढीको व्यवस्थापन, सडक बनाउँदा सडक छेउछाउमा थुमारिने माटो तथा ढुंगाको व्यवस्थापन र अति बर्षाको समयमा बस्ती वरिपरि पाखा पखेराको भु–बनोटको आधारमा नागरिकहरुलाई सचेत रहन आग्रह गर्नु अहिलेको आवश्यकता हो । सम्भावित जोखिमको कमी र जनचेतनाको विकास गरेर प्राकृतिक बिपद्बाट बच्न र बचाउन आजैबाट लागौं ।