बागलुङ वारलाई केन्द्रको परिपत्र–पुरानैलाई मान्यता

बागलुङ, १ भदौ– नेपाल बार एसोसिएसनले उच्च अदालत बार एसोसिएसन बागलुङको अधिवेसनबाट पूर्ण समिति नआएसम्म केशव पराजुलीको अध्यक्षताकै बार बैध हुने बताएको छ । केन्द्रीय महासचिव खम्मबहादुर खातीले पराजुलीको नाउँमा जारी गरेको परिपत्रमा निर्वाचित समितिले निर्विरोध भनेपनि पूर्णता भएको नदेखिएको र निर्वाचन सम्बन्धी प्रकृया नै पुरा नगरी प्रकाशित गरेकोले रोकिएको जनाएको छ । उक्त कार्य नेपाल बार एसोसिएसनको बिधान २०४८ को दफा २५ (२) बिपरित भएको भनी उजुरी परेकोले यो निष्कर्षमा पुगेको बताइएको छ ।
साउन २५ गते शुरु भएको बारको अधिवेसन सहमति गर्ने संस्कार भन्दै निर्वाचन नगर्नका लागि तयारी थियो । त्यसै क्रममा अध्यक्ष दावी गरेको प्रजातान्त्रिक समूहले उमेदवारी फिर्ता लिएको थियो । प्रगतीशिल समूहले अध्यक्ष, कोषाध्यक्ष र ४ जना सदस्य र २ जना पार्सद मात्रको नामाबली दिएपछि निर्वाचन समितिले सोही नामाबली केन्द्रमा पठाएको थियो ।