बागलुङ बजार क्षेत्रको नाङ्गो तार विस्थापन थालियो

एक महिना भित्र काम सक्ने लक्ष

बागलुङ, २० भदौ– नेपाल विद्युत प्राधिकरणले बागलुङ बजार भित्रको प्रसारण लाईनमा नाङ्गो तार विस्थापनको काम थालेको छ । विद्युत चुहावट र विद्युतिय जोखिम कम गर्नको लागि नाङ्गो तार विस्थापनको काम थालिएको हो । बागलुङ बजार क्षेत्रभित्र रहेको साढे ९ किलोमिटर नाङ्गो तार विस्थापनको काम थालिएको नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले बताए ।
उनका अनुसार बजार क्षेत्रभित्र नाङ्गो तारको विकल्पमा इन्सुलीटेड केवल जडानको काम सुरु भएको छ । बागलुङ नगरपालिकाको वडा नं. १, २ र ३ का सबै बस्तीसम्म विस्तार भएको प्रसारण लाईनको तार व्यवस्थापन गरिने पाण्डेले बताए । नयाँ तार जडान गर्ने कामको ठेक्का पाएको वाईवा इन्फाटेक कम्पनीले यसै सातादेखी काम थालेको छ । पोल गाड्ने काम केही महिना अघिनै सकेको कम्पनीले तार जडानको काम थालेको कम्पनीका इन्जिनियर सुनिल लामाले बताए । एक महिनाभित्र तार जडानको काम सक्ने र बाँकी एक महिनामा ग्राहकको घरसम्म पुग्ने कालो तारको स्थानान्तरणको काम सकिने लामाले बताए ।
खुल्ला नाङ्गो तारका कारण कुरुप बनेको बागलुङ बजारले तार परिवर्तनपछि मुहार फेर्ने केन्द्र प्रमुख पाण्डेले बताए । ‘एकातर्फ बजारको स्वरुप बद्लिन्छ अर्को कुरा सुरक्षाका हिसाबले पनि जोखिम निकै कम हुन्छ’ पाण्डेले भने ‘अब झ्यालबाट तारमा खसेका लुगा उठाउन नपाएर छोड्नुपर्ने अवस्थाको अन्त्य हुने छ ।’ खुल्ला तारकै कारण करेण्ट लागेर बागलुङ बजारको आवारोडमा दुई बर्ष पहिला २ जना मजदुरको मृत्यु भएको थियो । पाण्डेले नयाँ पोलमा नयाँ तार जडानको काम सकिएपछि पुराना पोल सबै हटाईने बताएका छन् ।
‘फेदमा कुहिएका र काम नलाग्ने पोल सबै निकाल्छौं’ पाण्डेले भने ‘काम लाग्ने पोल समेत निकालेर अन्यत्र प्रयोगमा आउने छन् ।’ विद्युत प्रसारण लाईनका पोलमा रहेको केवल नेटर्वक र नेपाल टेलिकमको तारलाई समेत राज्यको नियमअनुसार व्यवस्थापन गर्नुपर्ने पाण्डेले बताए ।