बागलुङ बजारमा वितरित पानीमा दिशा भेटियो !

संस्था भन्छ– ‘उमालेर पिउनुस्’

बागलुङ, २१ भदौ–जिल्ला सदरमुकाम बागलुङ बजारमा बितरण भैरहेको खानेपानीमा मानव दिशाको मात्रा (कोलीफर्म) भेटिएको छ । त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालका विद्यार्थीहरुले संकलन गरेको पानी परिक्षाणका क्रममा कोलीफर्म भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ बजारमा बितरणको लागि ल्याईएको रेशखोला मुहान देखी उपभोक्ताको धारासम्म आईपुग्दा अनगिन्ती कोलीफर्म भेटिएको बरिष्ठ जनस्वास्थ्य प्रसासक दिपक तिवारीले बताए । ‘पानीको परीक्षण गर्ने काम निकै कठिन काम हो, सूचकको रुपमा कोलीफर्मलाई हेर्ने गरिएको छ’ तिवारीले भने ‘बजारमा बितरण भैरहेको पानीमा पिउनै नमिल्ने गरी कोलिफर्म भेटिएको छ ।’ पिउनका लागि प्रयोग हुने पानीमा कोलिफर्मको मात्रा सुन्य हुनुपर्ने उनले बताए । मुख्य मुहान रेश खोलाको मुहानको पानीमा कोलिफर्मको मात्रा अनगिन्ती भेटिएको हो । विद्यार्थीहरुले संकलन गरेको नमुनालाई धौलागिरी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो । उनीहरुले ल्याएको नमुना अनुसार भुँदी खोलाको पानीमा ८२, संकलन ट्याङ्कीमा २०, भकुण्डेको मुहानमा १४ र उपभोक्ताको धारामा १३ कोलिफर्मको मात्रा भेटिएको परिक्षणमा संलग्न धौलागिरी अञ्चल अस्पतालका सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट सुरज बरालले बताए । उनका अनुसार प्रति १ सय मिली लिटर पानीमा कोलिफर्मको मात्रा नापिएको थियो । बरालका अनुसार, पानीमा रहेको अम्लीएपन, धमिलोपन र कोलिफर्म जाँच गरिएको थियो ।

‘कोलीफर्म मिसिएको पानी खाँदा मानिसलाई झाडा पाखला, टाईफाइड लगायतका खतरा हुन्छन्’ तिवारीले भने, ‘पानी उमालेर मात्र खाने यसको एकमात्र उपाया हो ।’ खतरनाक धेरै रोगबाट बच्नका लागि पनि पानी शुद्धिकरण र उमाल्ने विधि अपनाउनुपर्नेछ । परिक्षणपछि आएको नतिजाको बिषयमा बागलुङ नगरखानेपानी तथा सरसफाई संस्थालाई जानकारी गराएको कार्यालय प्रमुख तिवारीले बताए । उनले पानी बितरण गर्दा कोलोरिनेस गरेर वा फिल्टर गरेर मात्रै वितरण गर्नुपर्नेमा त्यसो नगरी उपभोक्ताको धारामा समेत कोलिफर्म भेटिएको बताए । बागलुङ बजारमा बितरण भैरहेको खानेपानीको स्रोत खुल्ला रहेको र रिजर्ब ट्याङ्की समेत खुल्ला रहेकाले बगेर आउने पानीका कारण कोलिफर्मको मात्रा अत्याधिक देखीएको हुन सक्ने अनुसन्धानमा संलग्न विद्यार्थी बिक्रम पौडेलले बताए । विद्यार्थीहरुले पानीको परिक्षणका लागि बागलुङका बिभिन्न मुहानसहित प्याकेजमा बितरण भएको पर्वत खानेपानी र कालीका खानेपानीको समेत परिक्षण गराएका थिए । परिक्षणका क्रममा बागलुङमा उत्पादन हुने पर्वत पिउने पानीमा अम्लीएपन देखा परेको पौडेलले जानकारी दिए ।
खानेपानी तथा सरसफाई डिभिजन प्रमुख शेखरचन्द्र केसीले भने बजारमा शुद्ध पानी वितरण गरेको दाबी गरेका छन् । ‘विभिन्न शुद्धिकरणका विधि अपनाएर हामीले बितरण गरेकोले कोलीफर्म छैन’ केसीले भने, ‘कतै पाईप टुटेफुटेको भएमा त्यस्तो हुन सक्छ, हामीले बितरणमा कोलीफर्म पर्न दिएका छैनौं ।’ केसीले सामाजिक संजालमा बुधबारै बागलुङ बजारबासीलाई शुद्वपानी खुवाएको दाबी सहितको स्टाटस समेत लेखेका छन् । त्यस्ता स्टाटसले समाजमा भ्रम पैदा भएको स्थानीयले गुनासो गरेका छन् । फिल्टर जडानको गरेको भनेपनि शुद्ध पानी बितरणको काम भने शुरु नभएको डिभिजन र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अदातलमा प्रष्ट पारेका छन् । उनीहरुले अदातलमा परेको रिट निवेदनमा सहलगानीको आयोजना पुरा नहुन्जेल पुरै शुद्वपानी खुवाउन नसकिने प्रतिउत्तर लगाएका थिए ।

संस्था भन्छ– ‘उमालेर पिउनुस्’

बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाले पानीमा कोलिफर्मको मात्रा भेटीएको सूचना पाएपछि उपभोक्तालाई पानी उमालेर मात्रै पिउन आग्रह गरेको छ । वितरण ट्याङ्कीमा रहेको फिल्टरले काम नगरेको र बिद्युत आपुर्ति बन्द हुँदा क्लोेरिनेस प्रबिधिले काम नगर्दा समस्या भएको प्रबन्धक हिमाल शर्माले बताए । पानीको परिक्षणका लागि नमुना संकलन गर्ने समयमा पनि बिद्युत आपुर्ति बन्द रहेको उनले बताए । कोलिफर्म कम गर्ने औषधि प्रयोग नभएकाले धेरै देखीएको उनले बताए । ‘बिद्युतबाट स्वचालित मेसीन राखेर कोलोरिनेस गर्ने गरेका थियौं’ शर्माले भने ‘अहिले हातैले क्लोरिन मिसाउन जनशक्ति परिचालन गरेका छौं ।’