वैदेशिक रोजगारी : सबैभन्दा धेरै प्रदेश-२ को धनुषाबाट ३९,७७९ र सवैभन्दा कम प्रदेश-४ को मनाङबाट ५८ जना

व्यक्तिगत श्रम स्वीकृति र म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीका लागि जाने युवाहरूको सङ्ख्या वार्षिक करिब ४ लाख ५० हजारको हाराहारी

काठमाडौं, २२ भदौ – वार्षिक रूपमा करिब ४ लाखको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुग्ने गरेका छन् । जनसङ्ख्याको हिसाबले धेरै रहेको जिल्ला काठमाडौँ, झापालगायतका जिल्ला मात्रै होइनन्, कम रहेका जिल्लाहरू मनाङ, मुस्ताङ लगायतबाट पनि युवाहरू वैदेशिक रोजगारीका लागि भन्दै विभिन्न देशमा पुग्ने गरेका छन् । यद्यपि वैदेशिक रोजगारीका लागि विदेश पुग्ने जिल्लाको ग्राफ हेर्ने हो भने तराईका जिल्लाहरूबाट बढी युवाहरू विदेशिएका देखिएका छन् ।
सरकारले वार्षिक १ लाख युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी काम दिने भने पनि वार्षिकरूपमा विदेशिने युवाहरूको तथ्याङ्क हेर्ने हो भनेचाहिँ त्यो खासै घट्दो क्रममा रहेको देखिँदैन । आर्थिक वर्ष २०७४–७५ को तथ्याङ्क हेर्ने हो भने ३ लाख २३ हजार ८ सय ७७ जना युवाहरूले म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । त्यसैगरी सोही आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति, पहिले अवैधरूपमा गई हाल वैधानिक हुने र रोजगारीको म्याद सकिई पुनः जाने युवाहरूको सङ्ख्या हेर्ने हो भने २ लाख ८८ हजार ८ सय ९ जना रहेका छन् ।
यी दुवैलाई जोड्दा ६ लाख १२ हजार ६ सय ८६ जना हुन्छन् । यद्यपि व्यक्तिगत श्रम स्वीकृति र म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीका लागि जाने युवाहरूको सङ्ख्या वार्षिक करिब ४ लाख ५० हजारको हाराहारीमा हुने गरेको छ । वैदेशिक रोजगार विभागमा रहेको तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष २०७४–७५ मा सबैभन्दा बढी धनुषा जिल्लाबाट युवाहरू रोजगारीका लागि विदेशिएका छन् भने सबैभन्दा कम मनाङबाट युवाहरू विदेशिएको देखिएको छ ।
यस्ता छन् वैदेशिक रोजगारीका लागि युवा विदेशिने प्रमुख १० जिल्लाको विवरण :

नम्बर १ : धनुषा (३९,७७९)
आर्थिक वर्ष २०७४–७५ मा सबैभन्दा बढी धनुषा जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि गएका छन् । यस आर्थिक वर्षमा धनुषा जिल्लाबाट ३९ हजार ७ सय ७९ जना युवाहरू विदेश पुगेका छन् । उनीहरूमध्ये २२ हजार ५ सय ३३ जना म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, मलेसिया, दुबई लगायतका देशमा पुगेका छन् । त्यसैगरी धनुषाबाटै १७ हजार २ सय ४२ जना युवायुवतीले व्यक्तिगत श्रम स्वीकृति लिई, पहिले अवैधानिक भई गएको भए हाल वैधानिकता लिएको तथा रोजगारीको समय सकिएपछि फर्किएर पुनः उतै गएका छन् ।
नम्बर २ : झापा (३०,०८६)
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा वैदेशिक रोजगारीका लागि युवा विदेशिनेको सूचीमा धनुषापछिको सूचीमा परेको छ । प्रधानमन्त्रीले देशभित्रै रोजगारीको सिर्जना गर्ने कुरा बताइरहँदा वैदेशिक रोजगारीको ग्राफ हेर्दा झापा पनि डरलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा झापाबाट ३० हजार ८६ जना युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । यस आर्थिक वर्षमा झापाबाट १५ हजार ५ सय ११ जना युवाहरू म्यानपावर कम्पनीमार्फत् बाहिर गएका छन् भने १४ हजार ५ सय ७५ जना युवाहरूले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकता र पुनः प्रवेश गरेका छन् ।
केन्द्रीय तथ्याङ्क विभागको डाटा हेर्ने हो भने झापामा यस आर्थिक वर्षमा ८ लाख १२ हजार ६ सय ५० जना रहेको छ । तर ३० हजारभन्दा बढी युवाहरू एक वर्षमै विदेशिएको तथ्याङ्कले के देखाउँछ भने यहाँ कुल जनसङ्ख्याको झण्डै ४ प्रतिशत युवाहरू प्रत्येक वर्ष रोजगारीका नाममा विदेशिएका छन् । यो जनसङ्ख्या बच्चा र वृद्ध उमेरका समूहमा पनि समावेश भएको तथ्याङ्क हो । वैदेशिक रोजगारीका लागि जाने युवाहरूको उमेर १८ देखि ४० वर्षको समूहलाई हेर्ने हो भने कुल जनसङ्ख्याको करिब ४० प्रतिशत मात्रै युवाहरू हुनछन् । यदि ४० प्रतिशत युवा रहेको तथ्याङ्कलाई आधार मान्ने हो भने यस वर्षमा झण्डै १० प्रतिशत युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।
नम्बर ३ : सिरहा (३०,०११)
वैदेशिक रोजगारीका लागि युवा विदेशिने सूचीको तेस्रो नम्बरमा रहेको जिल्ला सिरहा हो । आर्थिक वर्ष २०७४–७५ मा सिराहा जिल्लाबाट ३० हजार ११ जना युवाहरू वैदेशिक रोजगारीका नाममा विदेशिएका छन् । उनीहरूमध्ये १७ हजार १ सय ७१ जना युवाहरू म्यानपावर कम्पनीमार्फत् रोजगारीमा गएका छन् भने १२ हजार ८ सय ४० जना युवाहरूले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकता र पुनः प्रवेश गरेका छन् । यस आर्थिक वर्षमा सिरहाको कुल जनसङ्ख्या ६ लाख ३७ हजार ३ सय २८ जना रहेको छ । यहाँ पनि वैदेशिक रोजगारीमा जाने मिल्ने युवाहरूको सङ्ख्या कुल जनसङ्ख्याको ४० प्रतिशत मान्ने हो भने करिब २ लाख ५५ हजार युवाहरू योग्य रहन्छन् । तर यस जिल्लाबाटै एकै वर्षमा बाहिरिनेको सङ्ख्या ३० हजारभन्दा माथि छ । यसलाई प्रतिशतमा हेर्ने हो भने झण्डै १२ प्रतिशत युवाहरूले देशमा रोजगारी नपाएपछि बाहिरिएका छन् ।
नम्बर ४ : महोत्तरी (२७,४१७)
देशमा रोजगारीको सम्भावना नदेखेपछि युवा विदेशिने सूचीको चौथो नम्बरमा रहेको जिल्ला महोत्तरी हो । महोत्तरी जिल्लाबाट आर्थिक वर्ष २०७४–७५ मा जम्मा २७ हजार ४ सय १७ जना युवाहरू विदेशिएका छन् । उनीहरूमध्ये १५ हजार ७ सय ६३ जना युवाहरूले म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका छन् भने ११ हजार ६ सय ५४ जना युवाहरूले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकता र पुनः प्रवेशका लागि स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७४–७५ मा महोत्तरी जिल्लाको कुल जनसङ्ख्या ६ लाख २७ हजार ५ सय ६० जना रहेको छ । वैदेशिक रोजगारीका लागि जान योग्य उमेर १८ देखि ४० वर्ष उमेर समूह हेर्ने हो भने यहाँ पनि करिब ४० प्रतिशत युवाहरू हुन्छन् । कुल जनसङ्ख्याको ४० प्रतिशत अर्थात् करिब २ लाख ५१ हजार युवाहरूमध्ये यस आर्थिक वर्षमा २७ हजार ४ सय १७ जना युवा त विदेशिएकै छन् । जसलाई प्रतिशतमा हेर्ने हो भने झण्डै ११ प्रतिशत र कुल जनसङ्ख्याको करिब ५ प्रतिशत जनसङ्ख्या त एक वर्षमै विदेशिँदै छन् । नम्बर ५ : मोरङ (२५,८९०)
रोजगारीका लागि युवाहरू विदेशिने जिल्लाको सूचीमा मोरङ पाँचौँ नम्बरमा रहेको छ । ९ लाख ६५ हजार ३ सय ७० जना जनसङ्ख्या रहेको मोरङबाट आर्थिक वर्ष २०७४–७५ मा २५ हजार ८ सय ९० जना युवा विदेशिएका छन् । यी युवाहरूमध्ये १३ हजार ८ सय ९३ जना युवाले वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी धाएका छन् भने ११ हजार ९ सय ९७ जना युवा व्यक्तिगत श्रम स्वीकृति, वैधानिकता तथा पुनः प्रवेशको माध्यमबाट विदेश पुगेका छन् । जिल्लाको कुल जनसङ्ख्यालाई हेर्दा यस आर्थिक वर्षमा २ दशमलब ६८ प्रतिशत युवा विदेश पुगेका छन् । वैदेशिक रोजगारीमा जान योग्य उमेर अर्थात् १८ देखि ४० वर्ष उमेर समूहलाई हेर्ने हो भने करिब ४० प्रतिशत युवाहरू अर्थात् ३ लाख ८६ हजार युवा छन् । यसको झण्डै ७ प्रतिशत युवा यस आर्थिक वर्षमा मात्रै विदेशिएका छन् ।
नम्बर ६ : नवलपरासी (१९,९४३)
रोजगारीका लागि विदेशिने युवाको सूचीमा नवलपरासी छैठौं नम्बरमा रहेको छ । आर्थिक वर्ष २०७४–७५ मा नवलपरासीबाट १९ हजार ९ सय ४३ युवा विदेशिएका छन् । यस आर्थिक वर्षमा नवलपरासीको कुल जनसङ्ख्या ६ लाख ४३ हजार ५ सय ८ जना रहेको छ ।नवलपरासीबाट वैदेशिक रोजगारीका लागि बाहिरिनेमध्ये ८ हजार ९ सय ३ जनाले म्यानपावर कम्पनी धाएका छन् भने ११ हजार ४० जना युवाले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका लागि श्रम स्वीकृति लिएका छन् ।
नम्बर ७ : सुनसरी (१९,८३०)
वैदेशिक रोजगारीका लागि युवाहरू विदेशिने जिल्लाको सूचीमा सुनसरी सातौं नम्बरमा रहेको छ । यस जिल्लाबाट आर्थिक वर्ष २०७४–७५ मा १९ हजार ८ सय ३० जना युवाहरूले विभिन्न शीर्षकबाट श्रम स्वीकृति लिएका छन् । उनीहरूमध्ये १० हजार २ सय ३४ जना युवाहरू म्यानपावर कम्पनीमार्फत् विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् भने ९ हजार ५ सय ९६ जना युवाले व्यक्तिगत श्रम स्वीकृति, पुनः प्रवेश तथा वैधानिकीकरण गरेका छन् । यस आर्थिक वर्षमा सुनसरीको कुल जनसङ्ख्या ७ लाख ६३ हजार ४ सय ८७ जना रहेको थियो ।नम्बर ८ : रूपन्देही (१८,६६२)
देशमा रोजगारी नपाए पनि विदेशिने सूची आठौं नम्बरमा परेको जिल्ला हो, रूपन्देही । आर्थिक वर्ष २०७४–७५ मा रूपन्देही जिल्लामा जम्मा ८ लाख ८० हजार १ सय ९६ जना जनसङ्ख्या रहेकामा त्यसको २ दशमलब १२ प्रतिशत युवा रोजगारीका लागि विदेशिएका छन् । विदेशिएका युवामध्ये ७ हजार ८ सय ७८ जना युवा म्यानपावर कम्पनीमार्फत् बाहिर गएका छन् भने १० हजार ७ सय ८४ जना युवाले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेश गरेका छन् ।
नम्बर ९ : सर्लाही (१८,६४८)
वैदेशिक रोजगारीका लागि युवा विदेशिने जिल्लाको सूचीमा सर्लाही नवौँ नम्बरमा रहेको छ । यस जिल्लाबाट आर्थिक वर्ष २०७४–७५ मा १८ हजार ६ सय ४८ जना युवा रोजगारीका लागि विभिन्न देशमा पुगेका छन् । उनीहरूमध्ये १२ हजार २ सय ४० जना युवा म्यानपावर कम्पनीमार्फत् रोजगारीमा गएका छन् भने ६ हजार ४ सय ८ जना युवाले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका लागि श्रम स्वीकृति लिएका छन् । यस आर्थिक वर्षमा सर्लाहीको जनसङ्ख्या ७ लाख ६९ हजार ७ सय २९ रहेको छ ।
नम्बर १० : सप्तरी (१८,३२४)
वैदेशिक रोजगारीका लागि युवा विदेशिने टप टेन जिल्लाको सूचीमा सप्तरी दशौं नम्बरमा रहेको छ । आर्थिक वर्ष २०७४–७५ मा सप्तरीबाट १८ हजार ६ सय ४८ जना युवा विदेशिएका छन् । जसमध्ये ११ हजार २ सय १५ जना युवा म्यानपावर कम्पनीमार्फत् विदेशिएका छन् भने ७ हजार १ सय ९ जना युवाले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका लागि श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७४–७५ मा सप्तरीको जनसङ्ख्या ६ लाख ३९ हजार २ सय ८४ जना रहेको थियो । मुख्यतः २ नम्बर प्रदेशका तराईका जिल्लाहरूमा रोजगारीको सम्भावना कम रहेकाले विदेशिने युवाको सङ्ख्या उच्च भइरहँदा उच्च पहाडी र पहाडी जिल्लाहरू भने वैदेशिक रोजगारीका दृष्टिकोणले पछाडि परेको छ । जनसङ्ख्याको अनुपातमा औसत भए पनि मनाङ, डोल्पा, हुम्ला, मुस्ताङलगायतका जिल्लाबाटै ज्यादै कम युवा मात्रै वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।
यस्ता छन् वैदेशिक रोजगारीका लागि कम युवा विदेशिने जिल्लाको सूची:
नम्बर १ : मनाङ (५८)
हिमाली जिल्ला मनाङबाट आर्थिक वर्ष २०७४–७५ मा जम्मा ५८ जना युवा रोजगारीका लागि विदेशिएका छन् । उनीहरूमध्ये ३४ जना युवा म्यानपावर कम्पनीमार्फत् विदेश पुगेका छन् भने २४ जना युवा व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेश गरी विदेश पुगेका छन् ।
आर्थिक वर्ष २०७४–७५ मा मनाङको जनसङ्ख्या जम्मा ६ हजार ५ सय ३८ जना थियो ।
नम्बर २ : डोल्पा (५९)
त्यसैगरी अर्को हिमाली जिल्ला डोल्पाबाट विदेशिनेको सङ्ख्या पनि एकदमै कम रहेको छ । यस आर्थिक वर्षमा डोल्पाबाट जम्मा ५९ जना युवा विदेशिएकामा ४५ जनाले म्यानपावर कम्पनीको सहारा लिएका छन् भने १४ जनाले मात्रै व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका लागि स्वीकृति लिएका छन् । यस आर्थिक वर्षमा डोल्पाको जनसङ्ख्या ३६ हजार ७ सय रहेको छ ।
नम्बर ३ : हुम्ला (७२)
अर्को हिमाली जिल्ला हुम्लाबाट आर्थिक वर्ष २०७४–७५ मा जम्मा ७२ जना युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । उनीहरूमध्ये ५५ जनाले म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका छन् भने १७ जना युवा व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका नाममा विदेशिएका छन् । यस आर्थिक वर्षमा हुम्लाको जनसङ्ख्या जम्मा ५० हजार ८ सय ५८ जना रहेको छ ।
नम्बर४ : मुस्ताङ (७३)
वैदेशिक रोजगारीका लागि कम युवाहरू जाने जिल्लाको सूचीमा मुस्ताङ चौथो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७४–७५ मा मुस्ताङबाट ७३ जना युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । उनीहरूमध्ये २९ जना युवा म्यानपावर कम्पनीमार्फत् विदेशिएका छन् भने ४४ जनाले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका लागि स्वीकृति लिएका छन् । यस आर्थिक वर्षमा मुस्ताङको जनसङ्ख्या १३ हजार ४ सय ५२ जना रहेको थियो । नम्बर ५ : जुम्ला (३७९)
वैदेशिक रोजगारीका लागि युवाहरू कम विदेशिने जिल्लाको सूचीमा जुम्ला पाँचौँ नम्बरमा रहेको छ । गत आर्थिक वर्षमा जुम्लाबाट जम्मा ३ सय ७९ जना युवा विदेशिएका छन् । उनीहरूमध्ये २ सय ९९ जना युवा म्यानपावर कम्पनीमार्फत् विदेशिएका छन् भने ८० युवाले व्यक्तिगत श्रम स्वीकृति, वैधानिकीकरण र पुनः प्रवेशका लागि भन्दै स्वीकृति लिएका छन् ।

स्रोत : वैदेशिक रोजगार विभाग

त्यसैगरी छैटौँ नम्बरमा मुगुबाट ४ सय ९३ जना, सातौँ नम्बरमा बझाङबाट ५ सय १२ जना, आठौं नम्बरमा कालिकोटबाट ५ सय ३२ जना, नवौं नम्बरमा बाजुराबाट ५ सय ४८ जना र कम १० औँ नम्बरमा रहेको अछामबाट ६ सय ८ जना युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्याङ्कलाई सूक्ष्म विश्लेषण गर्ने हो भने २ नम्बर प्रदेशका तराईका जिल्लाबाट बढी युवाहरू रोजगारीका लागि विदेशिएका छन् भने उच्च हिमाली र हिमाली जिल्लाका युवाहरू रोजगारीबारे जानकारी नभएरै रोजगारीमा त्यति गएको देखिँदैन । रातोपाटी