शिक्षा नीति : समाजवादउन्मुख कि साम्राज्यवाद विस्तार ?

नेपालको संविधान र नेपाली समाजको वर्तमान अवस्था अनुसारको शैक्षिक प्रणाली नै अबको शिक्षा क्षेत्रको मार्ग हुनुपर्दछ ।

शिक्षा मन्त्रीले संसदमा अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक पेश गरेसँगै यतिखेर नेपालमा नयाँ शिक्षा प्रणाली कस्तो हुने भन्ने बारेमा सार्वजनिक बहस चलिरहेको छ । निजी विद्यालयलाई हस्तक्षेप गरी राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउने, शिक्षामा भएको विभेदको अन्त्य गरी सामाजिक समानता कायम गर्ने, शिक्षालाई अनिवार्य र निःशुल्क बनाउदै जाने व्यवस्था नै समाजवादी शिक्षा हो भन्ने आम बुझाई छ । शिक्षाको उत्पादन कस्तो हुने ? उत्पादनलाई शिक्षाक्षेत्रमा कसरी जोड्ने भन्ने बारेमा नेपालमा कमै मात्रामा बहस हुनेगरेको छ । समाजवादी शिक्षाको मार्ग भनेकै शिक्षालाई उत्पादनसँग जोड्ने हो । उत्पादित जनशक्तिलाई योग्यता अनुसार काम दिने हो । काम अनुसार दाम दिने हो । समाजवादले योग्यता अनुसार काम दिन सक्छ तर दाम दिन सक्दैन भन्ने आसयकासाथ कार्लमाक्र्सले साम्यवादको परिकल्पना गरेका थिए । माक्र्सको भाषामा समाजवाद भनेको पूँजीवाद र साम्यवादको संक्रमणकालीन अवस्था हो । नेपालले हाल जुन किसिमको शिक्षा प्रणाली अवलम्वन गर्दै आइरहेको छ त्यसले पूँजीवादी समाजको क्रान्ति पनि पूरा गर्न नसक्ने खालको भइसकेको छ र यो साम्राज्यवादी सोचले भित्रभित्रै मक्किएको छ भन्ने तर्क विभिन्न शिक्षाशास्त्रीहरुले समेत गर्दै आइरहेका छन् ।
कुनै रमाइलो कल्पना र राम्रो चाहनाले मात्र समाजमा परिवर्तन हुँदैन । समाज परिवर्तनको आफ्नै घुमाउरो र जटिल प्रक्रिया हुन्छ । समाज विकासका नियमहरु मानिसले बुझ्न सक्नुपर्दछ र त्यसै अनुसार समाज परिवर्तनको मार्गमा लाग्नु पर्दछ । खरबाँै रकम लगानी गरेर स्थापित निजी विद्यालयको एकीकरणले मात्र शिक्षा क्षेत्र सुधार हुन सक्दैन । निजी विद्यालयहरु यसरी किन फस्टाए ? कतै हामीले प्रयोग गर्दै आइरहेको शिक्षाको मूल दर्शनमै खोट त छैन ? मानवीय सभ्यता र उन्नतिको आधार मानिने सार्वजनिक शिक्षा क्षेत्र कसरी यति धेरै निरपेक्ष र निष्क्रिय हुन पुग्यो त ? शिक्षालयहरु किन राजनीतिको अखडा बने ? शिक्षाको उत्पादन कसरी साम्राज्यवाद खडा गर्ने बफादार सैनिक जस्ता बन्न पुगे । शिक्षण पेसालाई किन अमर्यादित बनाइयो ? खै शिक्षकहरुको सम्मान कता हरायो ? यिनै प्रश्नहरुको उत्तर नखोजी निजी क्षेत्रमाथि हस्तक्षेप गर्नुको कुनै तुक छैन । यो लेखले यस्तै प्रश्नको खोजी गर्ने जमर्को गरेको छ ।
शिक्षाको दर्शनशास्त्रीय आधार :
शिक्षाको दर्शनक्षेत्रमा स्पष्टतः २ धारहरु छन् । पहिलो धारले शिक्षालाई मानिसको भौतिक आवश्यकता पूरा गर्ने आर्थिक सम्वृद्धिको मुख्य साधन ठान्छ । शिक्षाको यो धार बजार बिस्तार गर्ने, साम्राज्यवाद विस्तार गर्ने र सम्वृद्धिको नारा शिक्षालाई शैक्षिक प्रमाणपत्र र अविकसित राष्ट्रका दक्ष नागरिकहरु आयात गरी आफ्नो साम्राज्यवाद विस्तार गर्ने नीतिमा आधारित छ । यसलाई १९ औँ शताब्दीमा लर्ड मेकाउलेले साम्राज्यवादी उपनिवेश खडा गर्नको लागि आवश्यक जनशक्ति तयार पार्ने गरी नयाँ शैक्षिक मोडेलको रुपमा प्रयोग गरे र भारतमा अंग्रेजहरुले यो मोडेल ल्याएका थिए भने नेपालमा यो शिक्षाको धार दरबार स्कुलको स्थापनासंगै भित्रिएको हो । यसलाई अझै विस्तार गर्ने काम त्यसपछि खोलिएका शैक्षिक संस्थाहरुले गर्दै आए । २००७ पछि आम नेपालीलाई शिक्षा दिने प्रचलनको शुरुवात भयो । शिक्षा क्षेत्र सुधार गर्नको लागि विभिन्न योजना आयोग गठन हुन थाले जसका मुख्य सल्लाहकारहरु अमेरिकी शिक्षाशास्त्रीलाई नै बनाइयो । नेपाललको शिक्षा ऐन, परियोजना निर्माण देखी लिएर शिक्षाको उद्देश्य, नीति, कार्यक्रम सबै अमेरिकाले डिजाइन गरेको “प्वाइन्ट फोर प्रोग्राम” हो जुन तेस्रो विश्वका गरिब मुलुकहरुमा साम्राज्यवाद विस्तार गर्नको लागि रचिएको शैक्षिक मोडेलको नामले चिनिन्छ । यसले नेपालको प्राचीन शिक्षा धातुकला, वास्तुकला, इन्जीनियरिङ, बौद्ध गुम्बाहरु विस्थापित गरायो । शिक्षालाई जागिरसँगमात्र जोड्यो । यहि धारबाट निजी विद्यालयहरु फस्टाउदै गए । आज शिक्षा क्षेत्रमा हाम्रो समाजले जे जस्ता समस्या भोगिरहेको छ । त्यसको मुख्य जरो ‘लर्ड मेकाउले मोडल’ र अमेरीकाको ‘प्वाइन्ट फोर प्रोग्राम’ मा आधारित छ । त्यसले दिने मानसिकता र जीवनशैलीमा आधारित छ । जसले शिक्षा क्षेत्रमाथि बारम्बार चुनौति हालेको छ । शिक्षाको पूर्वेली धारलाई राज्यले शाहकालदेखी नै दमन गर्दै आइरहेको छ । ललितकला, वास्तुकला, गुरुकुल शिक्षा, गोन्पा, मदरशा शिक्षालाई प्राथमिकता दिँदै खुला शिक्षा र दूर शिक्षा प्रणालीलाई अझै व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने र पाठ्यक्रमका ढाँचाहरुमा शिक्षाको पूर्वेली दर्शन समावेश गर्नुपर्ने आजको आवश्यकता हो ।
शिक्षाको समाजशास्त्रीय आधार :
समाज चेतनशील, तार्किक र बौद्धिक मानिसहरुको समूह हो । व्यक्ति र सामाजिक वातावरण बिचको सम्वन्ध र अन्र्तक्रियाको अध्ययन गर्ने शास्त्र शैक्षिक समाजशास्त्र हो । तिर्थ श्रेष्ठ जस्ता विद्धानहरुले शिक्षालाई सबैको लागि पहुँचयोग्य बनाउनु, निःशुल्क र सर्वसुलभ बनाउनु, उत्पादन मूलक बनाउनु, जीवनोपयोगी शिक्षा दिनु, अनौपचारिक शिक्षालाई प्राथमिकता दिनु, विविधताको सम्मान गर्नु र शिक्षामा बहुभाषिक नीति अपनाउनु नै समाजवादी शिक्षाका सैद्धान्तिक आधारहरु हुन् भनेका छन । मूलुक संघियतामा गएसँगै शिक्षा क्षेत्रको संरचना पूर्ण रुपमा बदलिएको छ । नाम फेरिएको छ । काम फेरिएको छैन । समस्या फेरिएका छैनन् । यसो किन भयो त ? शिक्षाविद् विद्यानाथ कोइरालाको तर्क छ– संरचनाले मात्र शिक्षा क्षेत्र फेर्न सक्दैन । बदलिएको संरचनासित हाम्रो सोच बदलौँ । बदलिएको सोचसँगै व्यक्ति तथा समाजसँग सामाजिक अन्तरक्रिया आवश्यक छ । शिक्षक, विद्यार्थी, विद्यालय, अभिभावक, समाज र सबै स्थानीय तहमा अन्तक्रिया गरौँ । शिक्षा के हो ? शिक्षाको उत्पादन कस्तो हुनुपर्दछ ? हाम्रो पठनपाठन शैली कस्तो छ ? हामीले गर्ने मूल्याङ्कन प्रणाली सहि हो ? शिक्षामा लगानी सरकारको मात्र हुन्छ ? सरकारले गर्ने लगानी कस्को पूँजी हो र हामी सरकारी लगानीलाई मामाको धन फुपूकोे श्रद्धाको रुपमा अनुत्पादकीय बनाइरहेका छौँ कि ? यिनै प्रश्नमा केन्द्रित रहेर बारम्बार अन्तरक्रिया गरौँ । स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गरी काम गर्न सक्ने वातावरणको सिर्जना गरौँ । शिक्षा बदलिन्छ । शिक्षा बदलिए सबैथोक बदलिन्छ ।
शिक्षासँग समाजको सम्बन्ध :
नेपालको शिक्षा प्रणालीलाई समग्र नेपाली समाजसँग जोड्न सकिएन । शिक्षा चाकरीबाज भयो । चाकरी उत्पादन गर्ने उद्योग बन्यो । कर्मचारितन्त्रमा जडता छायो । नेपाली समाजको आवश्यकतालाई पहिचान गर्न सकेन । शिक्षाका उद्देश्यहरु माटो सुहाउदो बन्न सकेनन् । तहगत कक्षागत उद्देश्यहरु राष्ट्रिय उद्देश्य पूरा गर्ने गरी बनाउन सकिएन । शिक्षकका सक्षमताहरु कार्यान्वयनमुखी हुन सकेनन् । पाठ्यक्रम विद्यार्थीको रुची र क्षमता अनुसार हुन सकेन । पाठ्यक्रमलाई समाज, विद्यालय, शिक्षक र विद्यार्थी बीच तालमेल मिलाउन सकिएन । पाठ्यपुस्तकहरु समयअनुसार परिवर्तन गर्न सकिएन । शिक्षालाई जनजीविकासित जोड्न सकिएन । श्रममूलक र श्रमको सम्मान गर्ने खालको नागरिक उत्पादन गर्न सकिएन । नैतिकता, अनुशासन, सदाचारिता, शिष्टाचारिता, इमान्दारीता शिक्षाका पाठ्यपुस्तक हुन सकेनन् । पाठ्यक्रमले ज्ञानको विस्फोटलाई स्वीकार गर्न सकेन । समाजको विकासक्रमलाई बुझ्न सकेन । नयाँ सूचना र प्रविधिलाई पछ्याउन सकेन । त्यसैले शिक्षा फगत शिक्षा बन्न पुग्यो । शिक्षालयहरु प्रमाणपत्र बिक्रि गर्ने गोदामघर बन्न पुगे । विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने र बचेखुसेका दक्ष मानवीय पूँजी निर्यात गर्ने र प्रतिभा पलायन गराउने विकसित राष्ट्रका दलाली बन्न पुगे । शिक्षासँग समाज र पाठ्यक्रमलाई जोड्ने र विद्यालय समाजको सहपद्दति हो भन्ने शैक्षिक समाजशास्त्रको सिद्दान्तलाई ब्यवहारिक रुपमा प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो ।
समाजवाद उन्मुख शिक्षाको नयाँ मोडल : 
समाजवादी शिक्षाको मुख्य उद्देश्य मानिसलाई समुदायमुखी बनाउनु हो । शिक्षाले उत्पादन गर्ने नागरिकलाई सामाजिक प्रक्रियामा उत्पादनशील बनाउनु हो । हरेक नागरिकले गर्ने श्रमलाई सम्मानित बनाउनु हो । मानवीय पूँजीको उत्पादन वृद्धि गरी परिचालन गर्नु हो । शिक्षालाई समतामूलक बनाउनु हो । सबैका लागि पहुँच पुग्ने गरी शिक्षालाई अनिवार्य, निशुल्क र सर्वसुलभ बनाउनु हो । शिक्षामा समानता ल्याउनु हो । शिक्षालाई अर्थतन्त्रसँग जोड्नु पर्दछ । आर्थिक विकासको लागि भौतिक पूँजीको मात्र परिचालन गरेर हँुदैन मानवीय पूँजीको परिचालन अपरिहार्य शर्त हो । उत्पादनँंग जोड्नको लागि दक्ष टेक्नोक्य्राटहरुको परिचालन आजको आवश्यकता हो । टेक्नोक्य्राट आयातित हैन नेपालमै उत्पादन भएका दक्षहरु हुनुपर्दछ । बौद्धिक र प्राविधिक हुनुपर्दछ । पूर्वाग्रही र दासी चरित्र बोकेकाले मुलुकमा परिवर्तन ल्याउन सक्दैनन् । विद्यालय शिक्षाबाट टेक्नोक्य्राट उत्पादन हुन सक्दैन । यसको लागि विश्वविद्यालय अग्रसर हुनुपर्दछ । यस्ता टेक्नोक्य्राटटहरुको परिचालनबाट क्याम्पस स्तरमा दक्षजनशक्ति उत्पादन गर्ने र विद्यालय तहमा श्रमप्रति सम्मान गर्ने नागरिक तयार पार्न सकिन्छ । त्यसको लागि नयाँ संरचानाअनुसार सबै स्थानीय तहले टेक्नोक्य्राट समिति गठन गर्ने र परिचालन गर्ने गर्नुपर्दछ । शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै जाने । लगानी अनुसारको लागत लाभ विश्लेषण गर्ने जिम्मा र अबको नयाँ शिक्षक भर्ना गर्दा तालिम प्राप्त र आवश्यकताअनुसार प्रत्येक स्थानीय तहमा स्थापित विद्यालयमा कम्तिमा १ वर्षको स्वयंसेवकको रुपमा काम गरेकोलाई प्राथमिकता दिने गरी टेक्नोक्य्राट परिचालन गर्न सकियो भने त्यसले सामुदायिक शिक्षाक्षेत्रमा जनचाहना वृद्धि गर्दै जानेछ ।
मर्यादित शिक्षण पेशा :
विद्यमान शिक्षकहरुको कार्यक्षमता वृद्धि गर्ने । शिक्षकहरुमा भइरहेको असमानता र विभेदको अन्त्य गरी सबै विद्यालयमा एकै प्रकारका शिक्षक रहने व्यवस्था गर्ने । संवैधानिक आयोग गठन गर्ने । स्थानीय तहलाई संविधानको मर्म अनुसार काम गर्ने वातावरणको सिर्जना गर्ने । विद्यालय, क्याम्पसलाई राजनीति गर्ने थलो र शिक्षकलाई राजनीतिको झोले नबनाउने, अनावश्यक ट्रेड युनियन खारेज गर्ने । शिक्षक बन्नको लागि शिक्षा पढ्नुपर्छ भन्ने सोचको अन्त्य गर्दै अध्यापन अनुमतिलाई पारदर्शी र व्यवस्थित बनाउने । योग्यता पुगेका, क्षमतावान नागरिक जो राज्यलाई योगदान दिन सक्छन् तिनीहरुलाई अब शिक्षक बन्न प्रेरित गर्नु पर्दछ । शिक्षक बन्नु भनेको अन्त कतै जागीर नपाएर आएको हैन, शिक्षा दिन र शिक्षित नागरिक तयार पार्न आएको हो भन्ने दृष्टिकोण बच्चादेखि वृद्धसम्म बदल्न सक्नुपर्दछ । सामुदायिक विद्यालयका शिक्षकप्रतिको सम्मान समाजवादी शिक्षाको मुख्य आधार हो । शिक्षाको १०औँ संसोधन अनिवार्य छ । जसले शिक्षकहरुमा रहेको विभेद अन्त्य गरोस् । सबै तह र तप्काका शिक्षकहरुलाई राज्यले एउटै धारमा लैजानु पर्दछ । योगदानमा आधारित मात्र हैन कार्यसम्पादन मूल्याङ्कनमा आधारित उत्पादनको व्यवस्था गर्नुपर्दछ । शिक्षकको शैक्षिक उपब्धि अनुसारको उत्पदान व्यवस्था गर्नसके सामूदायिक विद्यालयको सुधार सम्भव छ ।
अन्त्यम, सत्ताको उन्मादमा एकैपटक समाजवादी शिक्षा ल्याउछौँ भनेर उम्लनु हुदैन । पहिला भइरहेका सामुदायिक विद्यालय सुधार गर्नतिर लागौँ । निजी विद्यालयहरु अाँफै विस्थापित हुदै जान्छन् । सरकारले पहिला आफ्नो घर बनाउन तिर लाग्नु पर्दछ । अरुको घर भत्काउन हिड्ने हैन । नेपालका कोही अभिभावकलाई महङ्गो पैसा तिरेर निजी स्कुल पढाउने रहर छैन । राज्यको आफ्नै अकर्मण्यताका कारण आज मुलुकमा निजी विद्यालयहरु फस्टाएका हुन् । विद्यमान वर्गीय विभेदको कारण मुलुकमा फरक किसिमका नागरिक उत्पादन भइरहेका छन् । आम्दानीस्तर राम्रो हुनेले छोराछोरी विदेशतिर पढाएका छन् । मध्यम स्तरका बहुसङ्ख्यक केटाकेटी नीजी स्कुल पढ्छन । जस्को आम्दानी छैन, जो गरीब छ । जस्को उपल्लो स्तरमा पहुँच छैन तिनैका बच्चा सामुदायिक स्कुल पढ्छन् । तिनीहरुको प्रतिस्पर्धा र क्षमता पनि फरक हुने भैहाल्यो । पहिलो र दोस्रा दर्जाको उत्पादन शिक्षक बन्न रुचाउदैन । अनि जो पहुच कम भएको थियो । जो आवाजहिन हो । जो गरिब थियो । उसैले अन्त्यमा शिक्षक बन्नु पर्दछ । यसरी सामुदायिक विद्यालयमा आवजहिन, शक्तिहिन र गरिबीको कुचक्रले तान्डब नृत्य गरिरहेको छ । अर्थव्यवस्था अनुसारको शैक्षिक प्रणाली हुनुपर्दछ । हामी मिश्रीत अर्थव्यवस्था अवलम्बन गर्दै आइरहेका छौँ । त्यसैले शिक्षा प्रणाली पनि अर्थतन्त्र अनुकुल नै बनाउन सक्नुपर्दछ । निजी विद्यालयमाथिको ठाडो हस्तक्षेप भन्दा नेपालको संविधान र नेपाली समाजको वर्तमान अवस्था अनुसारको शैक्षिक प्रणाली नै अबको शिक्षा क्षेत्रको मार्ग हुनुपर्दछ । यो वर्षको शिक्षा दिवसले समाजवादी शिक्षाको आवश्यक शर्तहरुमा वहस चलाउन सकोस् र संविधान र संघियताको कार्यान्वयनमा सहजीकरण गरी नैतिकतासँगको सम्वृद्धि ल्याउनको लागि आवश्यक पहल गरोस् । नैतिकता विनाको सम्वृद्धि लुटाहा र आततायीहरुले प्रयोग गर्ने साम्राज्यवाद मात्र हो । शिक्षा दिवसको शुभकामना ।
(लेखक शर्मा जनप्रेम मावि भुस्कातका शिक्षक हुन् )