तीज पर्व र दरखाने दिन

यो चेली र माइतीको आपसी प्रेम र सद्भावको पर्व हो ।

यतिवेला नेपाली हिन्दु नारीहरुले तीज पर्वलाई धुमधामका साथ मनाईरहेका छन । हरेक बर्ष मनाईने तीज पर्व यो वर्ष पनि आआफ्नै ढंगले मनाउन महिलाहरु तल्लीन छन् । तर शहरबजार र गाउँतिर मनाईने तीजका रमाईला भने फरक फरक छन । अझ तीज आउनुभन्दा धेरै दिन अगाडिदेखि नै ‘दरखाने’ निम्तो आउने र खाने प्रचलन ब्यापक रुपमा छ र यो वर्ष पनि त्यसले निरन्त्तरता पाएकै छ । खासमा तीज पर्व के हो र दरखाने दिन कहिले हो भन्ने विषयमा नै हामीले हाम्रो संस्कार र संस्कृतिलाई भुलिरहेको आवास आमरुपमा गर्न थालिएको छ । यो लेखमा तीज र दरखाने दिनका विषयमा थोरै छलफल गर्ने खोजिएको हो ।
तीज
हाम्रो संस्कार र संस्कृति अनुसार तीज नेपाली हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकी थिईन् । पार्वतीले बत्र राखेको त्यो दिन यहि हरितालिका तिजको दिन थियो । त्यसैले त्यही दिनलाई स्मरण गर्दै आजसम्म हिन्दु नारीले यो पर्व मनाउदै आएका छन् ।
हामीकहाँ चर्चामा रहेका तीजका धार्मिक पृष्ठभूमी पनि महत्वपूर्ण छन । पिण्डेश्वर विद्यापिठका उपप्राध्यापक कुष्ण प्रसाद कोइरालाका अनुसार हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
दरखाने दिन

खासगरी तीजको अघिल्लो दिनलाई दरखाने दिन भनिन्छ । यो दिनमा माइतीले अर्थात आमा, बाबु दाजुभाइले आफ्ना छोरी र चेलीको घरमा गई लिएर आउने अर्थात बोलाएर मीठामीठा परिकार खुवाउने चलन नेपाली संस्कृति हो । दरखादै मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन परापूर्वकाल देखिनै चलिआएको छ । तीजको अघिल्लो दिन विशेष महत्वकासाथ दरखाने गरिन्छ । यहि दरखाने दिनबाट नै वास्तविक रुपमा तीज पर्वको आरम्भ भएको मानिन्छ । ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खीर, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा पनि परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
यो हाम्रो मौलिक संस्कृति हो तर हामीकहाँ यो संस्कृति विस्तारै हराउदै गइरहेको आवास हुन थालेको छ । किनकी तीज पर्वको सुरुवात हुनु भन्दा धेरै अगाडि देखि नै दरखाने निम्तो आउने र त्यसलाई भद्धा रुपमा मनाउने गरिन थालिएको छ । यसमा हाम्रो संस्कार र संस्कृतिलाई भुलिदै जान थालिएको छ । यसले गर्दा हामी र हाम्रो समाज अनि संस्कृतिलाई कता लैजादै छ भन्ने चिन्ता आमरुपमा उठ्न थालिसकेको छ । तीज पर्व सुरु हुनुभन्दा धेरै दिन अगाडिको खानपानलाई दर मान्ने हो भने तीजको अघिल्लो दिन खाने दरलाई के भन्ने प्रश्न सर्वत्र छ । यसमा खासगरी दरखाने निम्ता दिने आयोजक र समबन्धित क्षेत्रका ब्यक्तिहरुले विशेष ख्याल गर्नुपर्ने हो कि ? मौलिक सांस्कृतिक पहिचान बोकेका पर्वहरू उल्लासपूर्वक मनाइने वातावरण बनिरहनुपर्छ । आधुनिकता र उत्तरआधुनिकतासँगै देखिएका विकृति-विसङ्गति हटाउँदै अनि रूढी र अन्धविश्वास मेटाउँदै स्वस्फुर्त रूपमा यस्ता पर्व र उत्सवले निरन्तरता पाइरहनुपर्छ ताकि भावी पुस्ताले ती पर्व र उत्सवलाई आफ्नो पहिचानका रूपमा ग्रहण गर्न सकुन ।
महत्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
तीजमा दरखाने कुरा पर्व तडकभडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी-धर्मका नाममा गरिने अतिवादी व्रत-पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ-तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व नमनाइने हो भने हाम्रो सांस्कृतिक पहिचान कसरी रहला ?
हुन त शहरमा आजका महिलालाई अभिव्यक्ति स्वतन्त्रताका लागि तीज कुर्नु पर्दैन । अनि अधिकांश चेलीलाई मिठो-मसिनो खान अनि एकसरो कपडा फेर्न माइत जानु पर्दै अनि चेली र माइतीको भेटघाटका लागि न माइतै जानुपर्छ नत वर्ष दिनको तीज नै कुर्नुपर्छ । त्यसैले अब तीजको सान्दर्भिकता के रह्यो र भन्ने तर्कका साथ यो पर्वमाथि प्रश्न पनि उठिरहेका छन । तर ग्रामिणभेगका महिलाहरु अहिले पनि वर्षभरी मिठोमसिनो खान पुग्ने, मन लाग्दा माइत जान सक्ने, इच्छा लाग्दैमा नयाँ कपडा फेर्न सक्ने र आफ्नो मनका भावना खुलेर पुरुषसंग व्यक्त गर्नसक्ने महिलाहरु थोरै नै छन । जागिरकै कारणले भए पनि सहरमा बसेका, दुईचार अक्षर पढेका, मन लागेका बेला मिठोचोखो खाइहाल्न पनि सक्ने अनि दाम्पत्य जीवन आपसी समझदारीका कारण हिंसा र उत्पीडनबाट मुक्त महिलाका हकमा तीज पर्वले खासै अर्थ नराख्ला । तर ग्रामीण र विपन्न वस्तीमा महिनौंदेखि चेलीलाई मात्र होइन, माइतीका लागि पनि तीज पर्वको पर्खाइ हुने गरेको छ । किनभने यो चेली र माइतीको आपसी प्रेम र सद्भावको पर्व हो ।
तीजमा चेली माइत जान नपाउँदा दुःखी हुनेमात्र होइन, उनी माइत नआउँदा माइतीलाई पनि उत्तिकै पीडा र खल्लो हुने गर्दछ । ग्रामिण वस्तीमा छरिएर रहेका चेलीबेटी जम्मा भएर आपसमा दुःखसुख साट्ने पारिवारिक झमेलाबाट केही दिन भए पनि मुक्त भएर रमाउने परम्परा अहिले पनि उत्तिकै कायम छ। गाउँको तीजमा विकृति, विसंगति र तडकभडक देखिँदैन। महिना दिनदेखि पालो लगाएर पार्टी प्यालेसमा तीज मनाउने महिलाका लागिभन्दा आफ्नो अति व्यस्तताबीच एकदिन दिदीबहिनी जम्मा भएर दर खाने महिलाका लागि तीज बढि लोकप्रिय छ । शिक्षा र चेतनाको विकाससँगै पारिवारिक संरचना तथा सामाजिक मूल्य-मान्यतामा आएको परिवर्तनले नाता सम्बन्ध र पारिवारिक भूमिकामा उल्लेख्य बदलाव आएको वर्तमान अवस्थामा तीजलाई पारिवारिक र सामाजिक सद्भावको पर्वका रूपमा नै स्थापित गर्नु पर्दछ ।