तातोपानी कुण्डको आम्दानी दोब्बर वृद्धि

कुण्ड संचालनको लागि ५३ लाख रुपैयाँमा ठेक्का

म्याग्दी, २६ भदौ – कुण्डको पानीमा डुबेपछि बिभिन्न रोगको निको हुने गरेको म्याग्दीको तातोपानी कुण्डको आम्दानी दोब्बरले बढेको छ।आर्थिक वर्ष २०७४/०७५ मा २५ लाख १७ हजार रुपैयाँ आम्दानी भएकोमा चालु आर्थिक वर्ष २०७५/०७६ का लागि कुण्ड संचालनको लागि ५३ लाख रुपैयाँमा ठेक्का लगाइएको छ।
कुण्डमा प्रवेश शूल्क संकलन र क्यान्टिन सञ्चालनका लागि ३५ लाख रुपैयाँ न्यूनतम मूल्यमा ठेक्का आव्हान गरिएकोमा एक वर्षको लागि लट्टे गिरीसँग ५३ लाखमा ठेक्का सम्झौता भएको हो। अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्गमा रहेको कुण्डलाई स्थानीय तहले जिम्मामा लिएर प्रतिस्पर्धामार्फत संचालन गर्न लागेपछि आम्दानी बढेको हो।
विस २०७३ सालमा मा तत्कालीन गाविसको स्वामित्वमा राखिएको कुण्ड स्थानीय तह कार्यान्वयनमा आएपछि गाउँपालिकाले सञ्चालन गर्दै आएको छ। यस अघि स्थानीयबासी र व्यवसायीहरूले आलोपालो गरेर कुण्ड सञ्चालन गर्दै आएका थिए। चालुआर्थिक वर्षमा प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि बिदेशी नागरिकलाई प्रतिव्यक्ति १५० रुपैयाँ र नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शूल्क तोकिएको छ।
बेनी-जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न वार्षिक झण्डै १५ हजार जना बिदेशी र झण्डै ५० हजार जना आन्तरिक पर्यटक आउने गरेका छन्।