सभ्य नगरमा प्रदेशको पहिचान

संघियताको कार्यान्वयन पछि प्रदेशको सिमाको महत्व बढेको छ । ती सिमानामा स्वागतद्वार बनाउने चलन शुरु समेत भएको छ । बागलुङको जैमिनी नगरपालिकाले पनि प्रदेश नम्बर ५ सँग सिमाना जोडिएको छिस्तीमा स्वागत द्वार बनाउने योजना ल्याएको छ । लामो तथा छोटो दुरीका पर्यटकहरुलाई प्रदेशको बिषयमा जानकारी होस भनेर बनाउन लागिएको प्रबेश द्वार जैमिनीको मात्रै हैन गण्डकी प्रदेशको पहिचान झल्काउने तयारी गरिएको छ । कालिगण्डकी करीडोरमा निर्माण गर्न थालिएको प्रवेश द्वारले त्रिदेशीय यात्रामा रहेका यात्रुहरुलाई समेत सहजै सूचना प्राप्त हुने विश्वास लिइएको छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिईएको कालिगण्डकी करीडोरले छुने गण्डकी र पाँच नम्बर प्रदेशलाई यो द्वारले छुट्टाउनेछ । यिनै दुई प्रदेशको यात्रामा रहेका पर्यटकलाई दुई प्रदेशको सिमानामा निर्माण हुने द्वारले दुई प्रदेशको पहिचान पनि गराउने छ । बन्दै गरेको प्रवेश द्वारले प्रदेशको चिनारी दिए जस्तै पाँच नम्बर प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्दा सिमानामा रहेको जैमिनी नगरले पनि आफ्नो पहिचान दिन जरुरी छ । जैमिनीमा रहेको पुर्वाधार विकास, मानव विकास तथा सभ्यता र यहाँका सबै पक्षले अर्को प्रदेश बाट यहाँ प्रवेश गर्ने प्रर्यटक तथा यात्रुलाई लोभ्याउने खालको बनाउन जरुरी छ ।

नगरको केन्द्र रहेको कुश्मीशेरा बजार निकै साँघुरो छ । यात्रुहरुका लागि खाने बस्ने व्यवस्था भएका राम्रा होटल रेष्टुँराहरु बनेका छैनन् । परम्परागत रुपमा सञ्चालनमा रहेका होटल र चिया पसलहरुले अहिलेपनि काम चलाउको अवस्थामा बजारलाई चलाई रहेका छन् । एक मिटर सडक समेत पक्कि छैन् । बर्षा हुँदा भलबाढी सडकमै कुदीरहेको अवस्थामा हुन्छ । फोहोरको व्यवस्थापन हुन सकेको छैन् । ढल व्यवस्थापन नभएका कारण खुल्ला सडकमा ढल दौडिन्छ । प्रदेशको पहिचानको लागि प्रवेश द्वारमा गएका आँखा यो समस्यामा किन गएनन् । चिनारी एक पटकको हुन्छ तर सम्झना सधैंलाई रहन्छ । एक पटक जैमिनीमा प्रवेश गरेका यात्रु तथा पर्यटकले यहाँको बेथिती देखेर सधैंको लागि भुल्नेवाला छैनन् । यहाँको बस्तुगत चित्रलाई यदि यात्रु तथा पर्यटकले आफ्नो मनस्पटलदमा राखे भने त्यो मेट्न कठिन हुने छ । सुधारको काम एकै पटक गर्न सकिन्छ भन्ने हैन तर सुधारको प्रयासनै नहुनु दुखद कुरा हो ।
प्रदेशको पहिचानका लागि प्रवेशद्वारमा बनाउने आँखा देखेको नगरले अव आफ्नो नगरपालिकालाई पनि सुधार गर्ने आँखा देख्नुपर्ने वेला आएको छ । प्रदेश पाँचको बाटो भएर गण्डकी प्रदेशमा प्रबेश गर्ने देशी तथा बिदेशी यात्रुहरुका लागि बिसर्नै नसक्ने नगरको रुपमा आँफुलाई स्थापित गर्नको लागि जैमिनीले नगरको केन्द्र तथा वडा वडामा रहेको अभावहरुलाई चिर्दै पुर्वाधार र मानव बिकासको कुरालाई सँग सँगै लैजानु आवश्यक छ । कालिगण्डकी करीडोरको सबै भन्दा छोटो तर निकै महत्वपुर्ण दुरी पर्ने जैमिनीले नगरको प्रदेशको पहिचान मात्रै हैन नगरको पहिचानमा पनि हेक्का राख्न जरुरी छ । स्रोत साधनले भरीपुर्ण नगरलाई कसरी राम्रो र सुन्दर बनाउने भन्ने कर्तव्य जनप्रतिनिधि, कर्मचारी वा राजनितीक दलको मात्रै हैन नगरको पहिचानको लागि सबै नगरबासीको पनि हो । जव सबैमा एकता र विकासको भाव रहने छ तव मात्रै जैमिनीले पुरै गण्डकी प्रदेशको पहिचान दिन सक्ने छ ।