शिक्षक विद्यार्थी अनुपात खोज्दै नगरपालिका

विद्यार्थीक कम रहेका विद्यालय गाभ्ने तयारी

बागलुङ, २९ भदौ — सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएपछि बागलुङ नगरपालिकाले वास्तविक अवस्था अध्ययन थालेको छ । विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको अवस्थाको बिषयमा अध्ययन गरेर आवश्यकता अनुसार विद्यालय गाभ्ने योजनाका साथ बागलुङ नगरपालिकाले अध्ययन सुरु गरेको हो । डा. दिनबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर नगरले विद्यालयहरुको अवस्थाका बारेमा बिस्तृत अध्ययन थालेको नगर प्रमुख जनकराज पौडेलले बताए । नगरशिक्षा अधिकारी ढक बहादुर पुन र स्रोत व्यक्ति लक्ष्मीकान्त पौडेल सदस्य रहेको समितिले अध्ययन शुरु गरेको हो । शिक्षक दरवन्दी र विद्यार्थी अनुपात नमिलेकोले राज्यको लगानी खेर गैरहेको गुनासोपछि नगरले अध्ययन समिति बनाउन तत्परता गरेको हो ।

विद्यालयको अवस्था अध्ययन गरेर कम विद्यार्थी संख्या रहेको विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने योजना सम्म बन्ने पौडेलले बताए । ‘कतै शिक्षकले घाम तापेर दिन कटाउने कतै निजी स्रोतबाट शिक्षक राखेर पठनपाठन गराउने अवस्था छ’ पौडेलले भने ‘भएको जनशक्तिलाई सहि सदुपयोग गर्नका लागि अध्ययन मार्फत निष्कर्षमा पुग्ने ठहर गरेका हौं ।’ समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी प्रकृयाको थालनी हुने छ । अध्ययनका लागि गठनभएको समितिको प्रारम्भीक अध्ययन पछि पहिलो बैठक बसेको र बाँकी बिषयमा अध्ययन गरेर छिट्टै अर्को बैठक बसेर प्रतिवेदन तयार गरीने समितिका सदस्य तथा नगर शिक्षा अधिकारी ढकबहादुर पुनले बताए । अध्ययन थालेको १५ दिन भित्रै प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिले तिज पर्वका कारण समस्या भएको भन्दै थप समय मागेको थियो । ‘हामी स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्ने योजनामा छौं’ पुनले भने ‘विद्यालयमा हाल अध्ययनरत बालबालिका मात्रै हैन भविश्यमा हुन सक्ने सम्भावनालाई समेत अध्ययन गरेर प्रतिवेदन तयार हुने छ ।

’ उनले विद्यार्थीको संख्या कमहुनुको कारण, अभिभावकको चाहना र विद्यालय तथा शिक्षक सबै पक्षको सुझाव प्रतिवेदनमा समट्ने बताए । शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार सबै तहमा कम्तीमा पनि ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था रहेको छ । तर नगरभित्रका अधिकांश विद्यालयमा विद्यार्थीको संख्या निकै कम रहेको छ । ‘नियमावलीले व्यवस्था गरेअनुसार प्रतिकक्षा विद्यार्थी संख्या पुग्ने अवस्था छैन्, कतिपय विद्यालयमा त पुरै विद्यालयका बिद्यार्थी गन्दा समेत ४५ जना पुग्दैनन्’ पुनले भने ‘नगर शिक्षा नियमावलीले व्यवस्था गरे अनुसारको विद्यार्थी संख्या समेत नभएका बिद्यालयमा भने सोच्नु पर्ने अवस्था आउँछ होला ।’ निर्णय लिने अधिकार नगरकार्यपालिकालाई भएकाले विद्यालय गाभ्ने बिषयमा आँफुले केही भन्न नमिल्ने पुनको भनाई थियो । नगर शिक्षा नियमावलीले भने शिक्षा नियमावलीले व्यवस्था गरेको संख्यमा कम्तीमा १० प्रतिशत विद्यार्थी अनिवार्य हुनुपर्ने भनेको छ । नियमावली अनुसार प्रतिकक्षा ५ जना भन्दा कम विद्यार्थी रहेका विद्यालय अर्को विद्यालयमा गाभ्ने वा कक्षा खारेज हुने व्यवस्था छ । तहगत रुमा रहेका विद्यालयहरुलाई तह घटुवा समेत गर्न सकिने व्यवस्था नगर शिक्षा नियमावलीले गरेको छ । बागलुङ नगरपालिका भित्र प्राथमीक, आधारभुत र माध्यामिक गरी ८० वटा सामुदायीक विद्यालय र ३० वटा संस्थागत विद्यालय रहेको कार्यालयको तथ्याङ्क छ । सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या निकै कम रहेको भएपनि संस्थागतमा भने त्यो अवस्था छैन् ।