सकियो रुद्रेपिपलको सातौं तिज मेला

बागलुङ, २९ भदौ — रुद्रे पिपल युवा क्लबले आयोजना गरेको सातौं तिज बिशेष मेला बिहिवार सकिएको छ । तीन दिन सम्म संचालन भएको मेलामा सयौं सहभागि भएका थिए । मेलाकै अवसर पारेर दर्जनौं कलाकारले आफ्ना प्रस्तुती समेत प्रदर्शन गरे । हरितालिका तिजलाई महोत्सवमय बनाउनका लागि सात बर्ष देखि क्लबले निरन्तर मेला गर्दै आएको मेला आयोजक मुल संयोजक राजकुमार बोसेलले बताए । मेलामा चर्चित राष्ट्रिय कलाकार श्रीकृष्ण बम मल्ल, पूर्ण परियार, सीता परियार, सिलिम बोस लगायतले गीत गाएका थिए ।

साथै विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगिताले तिजको रौनकता थपेको थियो । मेलाकै अवसर पारेर कालिका भगवती मन्दिर देखि मालिका सम्म शान्ति दौडको आयोजना गरिएको थियो भने स्लो स्कुटी रेश प्रतियोगिता पनि गरिएको थियो । मेलामा ७ लाख भन्दा धेरै खर्च लाग्ने अनुमान गरिएको छ । तिजको अवसरमा स्थानीय तहमै रमाउने अवसर समेत नभएपछि क्लबले मेला आयोजना गर्न थालेको थियो । ग्रामीण क्षेत्रमा विशेष मेला महोत्सव भएपनि सदरमुकाममा संस्थागत रुपमा मेला हुने चलन थिएन । यसै बीच ग्रामीण क्षेत्रमा संचालन भएका मेलाहरु पनि बिहिवारै सकिएका छन् । गलकोटको नाच्ने डाँडामा लागेको मेलामा सयौंले सहभागिता जनाएका थिए । त्यस्तै ताराखोला, बिहुँ, रिघा, कुश्मीसेरा, बलेवाको नारायणस्थान लगायत दर्जनौ स्थानमा भएका तिजका मेलाहरुले गाउँमा महिलाहरुलाई रमाउने विशेष अवसर दिएको थियो ।