बाल अधिकार संरक्षण गर्न माग

बागलुङ, २९ भदौ — जिल्ला बाल कल्याण समिति बागलुङले बाल दिवसको पुर्व सन्ध्यामा बिहिबार बागलुङ बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बाल श्रमको बिषयमा आयोजना गरीएको अन्तरक्रियामा बोल्दै बक्ताहरुले बाल श्रमिकलाई शिक्षा दिक्षाको कुरा महत्वपुर्ण भएको तर्क गरे । बाध्यताका कारण घरानाहरुमा काम गर्ने बाल श्रमिकको हक हितका बिषयमा कम चर्चा हुनेगरेको भन्दै बक्ताहरुले बाल श्रम न्युनिकरण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बाल श्रम उन्मुलननै गर्नुपर्नेमा जोड दिए ।

कुनै पनि बालबालिकालाई काममा लगाउन नपाईने भन्दै खरेलले बाल अधिकारको रक्षाका लागि बालश्रम उन्मुलनको विकल्प नभएको बताए । परिवारमा रहेका बालबालिकालाई समेत बाल श्रममा लगाईने गरेको भन्दै खरेलले बाल अधिकारको दुरुपयोग गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । कार्यक्रम जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मी, बागलुङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत भिम बहादुर कुँवर लगायतले बोलेका थिए । कार्यक्रममा दर्जन बढि सहभागीले बाल अधिकार र बालश्रमीकको बिषयमा बोलेका थिए । हरी प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मीकुमारी शर्माले गरेकी थिईन् ।