सहलगानीको आयोजनाका लागि रात्माटाबासीले जग्गा दिने

लिफ्ट प्रबिधिवाट आउने पानीको टयाङकी रात्माटामा वन्ने

बागलुङ, ३० भदौ — काठेखोलाको पानी तानेर बागलुङ बजारबासीलाई खुवाउने भनिएको नेपाल सरकारको सहलगानीको लिफ्ट प्रविधिका लागि रिर्जभ ट्यांकी बनाउन जग्गा रात्माटा बासीले दिने भएका छन् । निशुल्क रुपमा रात्माटा समाजले दिने र आसपासका क्षेत्रमा खानेपानीको धारा जडान गर्ने सहमति भएको हो । शुक्रबार बसेको बागलुङ नगरपालिका, नगरखानेपानी तथा सरफाई उपभोक्ता संस्था, डिभिजन खानेपानी कार्यालय र रात्माटा बिकास समाजका प्रतिनिधिहरुको भेलाले आवस्यक जमिन उपलब्ध गराउने निर्णय गरेको हो । समाजका तर्फबाट अध्यक्ष कविन्द्रप्रसाद सापकोटाले समाजमा पानी खुवाउने शर्तमा आवस्यक जमिन निशुल्क उपलब्ध गराउने बताए । हाल आयोजनाले मुख्य बजार लक्षित खानेपानी आयोजना बनाउन लागेको हो । आवस्यक पर्ने स्थानमा थप वितरण गर्नका लागि केही लागत बढ्ने अनुमान गरिएको छ । हाल ल्याएको पानीले बढ्दो जनसंख्याको चापलाई खुवाउन नपुगेपछि एशियाली बिकास बैक र नेपाल सरकारको सहलगानीमा बागलुङ नगरखानेपानी उपभोक्ता संस्थाले खोलाको पानी लिफ्ट गरेर खुवाउने काम थालेको थियो । काम गर्ने क्रममा निर्माण गर्नुपर्ने ३ वटा ट्यांकीका आसपासमा पनि खुवाउनुपर्ने भएपछि ‘भेरिएसन अर्डर’ मिलाएर आयोजना निर्माण गर्ने निर्णय भएको संस्थाका प्रवन्धक हिमालप्रसाद शर्माले बताए ।

काठेखोलाको पानीलाई लिफ्ट गरेर तात्माटा भन्ने स्थानमा लगेपछि दुइवटा ट्यांकी बनाई बजारमा पानी खुवाउने योजना छ । हाल मुख्य बजार क्षेत्रमा मात्र पानी खुवाउने भनिएकोमा माग बढेपछि भेरिएसन अर्डरमा जानुपरेको उनले बताए । थप कामगर्दा १५ प्रतिशत लागत बढ्ने उनले बताए । समस्या परेमा नगरपालिकाले पनि साथ र सहयोग दिने प्रमुख पौडेलले पनि आश्वासन दिएपछि सहमति भएको हो । उक्त योजना निर्माणका लागि रातमाटामा ५ लाख लिटरको ट्ंयाकीबाट साविकको धारामा मिसाईने र २ लाख लिटरको ट्यांकीबाट थप घरमा धारा जडान गरिने योजना बनाइएको उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । यस अघि केही छनौट भएका स्थानमा शर्मा र श्रेष्ठकै जग्गा परेकोले बिबाद हुने देखेर खरिद गर्न सकिएको थिएन । कार्यक्रममा नगर उपप्रमुख सुरेन्द्र खड्का, वडा अध्यक्षहरु, उपभोक्ता समितिका पदाधिकारी र समाजका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । हाल कैलमपोखरीमा निर्माण गरिने बालुवा थिग्राउने ट्यांकी बनाउने स्थानसम्म ७ सय मीटर लामो मोटरबाटो समेत खनिएको छ । सामुदायिक वनमा बनाइने ट्यांकीका लागि कानूनी प्रकृया झण्झटीलो भएकोले वन अधिकृत र प्रमुख जिल्ला अधिकारी सँग पनि छलफल अगाडि बढाइने भएको छ । सामुदायिक कामका लागि भएकोले उनीहरुबाट सकारात्मक सहमति आउने आशा गरिएको खड्काले बताए ।