रोगबाट पीडितलाई सहयोग

बागलुङ,३० भदौ — बिभिन्न रोगबाट पीडित बनेका बागलुङका चार जनालाई बागलुङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका परिवारका पीडितहरुलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले समाजको कोषबाट सहयोग गरीएको हो । अचानक शरिर सुक्ने रोगले पिडित बनेका बागलुङको ताराखोलाका राजन गौतम, अपाङ्ग तथा असाहय काठेखोला–७ रेशकी निशा जिसी, काठेखोला ५ का मृगौला पीडित शंकर बहादुर दर्जी र बागलुङ नगरपालिका–१३ का मृगौला पीडित गिता गौतमलाई आर्थिक सहयोग गरीएको समाजका अध्यक्ष सागर पौडेलले बताए ।

उनीहरुलाई जनही १५ हजार १५ रुपैयाँ उपलव्ध गराईएको थियो । कतारमा काम गरिरहेका बागलुङेहरुको हकहितका लागि स्थापना भएको समाजले जिल्लामा हुने बिभिन्न खालका कार्यक्रम, बिपद र रोग पीडितहरुलाई सहयोग गर्दै आएको छ । ‘बागलुङबासीको सेवा गर्नु हाम्रो कर्तव्य हो, अफ्ठेरोमा परेकालाई सहयोग गर्दै आएका छौं’ अध्यक्ष पौडेलले भने ‘बिदेशमा कमाएको केही प्रतिशत समाज सेवामा खर्चने योजनाका साथ समाज अघि बढेको छ ।’ समाजले चाडपर्व लगायत राष्ट्रिय उत्सवमा बिभिन्न कार्यक्रमको आयोजना गरी खर्च कटाएर बचेको रकमबाट सहयोग गर्दै आएको छ ।