माल्दिभ्सले उचाल्यो साफको उपाधि

सेमिफाइनलमा नेपाललार्इ ३-० गोलअन्तरले पराजित गर्दै घर पठाएको माल्दिभ्सले नै भारतलार्इ पराजित गर्दै साफ फुटबलको उपाधि उचालेको छ।

बागलुङ, ३१ भदौ – सेमिफाइनलमा नेपाललार्इ ३-० गोलअन्तरले पराजित गर्दै घर पठाएको माल्दिभ्सले नै भारतलार्इ पराजित गर्दै साफ फुटबलको उपाधि उचालेको छ। बंगलादेशको ढाकामा शनिबार सम्पन्न १२ औं साफको फाइनलमा भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै माल्दिभ्स दोस्रो पटक दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिताको च्याम्पियन बनेको हो।
यसअघि २००८ को साफ च्याम्पियन्सििसपको उपाधि पनि माल्दिभ्सले उचालेको थियो। बंगबन्धु स्टेडियममा भएको फाइनलमा भारतविरुद्ध माल्दिभ्सका इब्राहिम माहुदी र अलि फसरले गोल गरेका थिए। भारतका लागि अतिरिक्त समयमा सुमित पासीले सान्त्वना गोल फर्काए।
समूह चरणमा माल्दिभ्स बिना गोलपनि श्रीलंकासँग समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई र समूह विजेता भारतले पाकिस्तानलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए।