फस्टाउदै भकुन्डेको होम स्टे, जाने होईन त हजुर ?

बागलुङ नगरपालिका-१० भकुण्डेस्थित होमस्टेलाई २०७३ देखि ‘अतिथि सत्कार होमस्टे’ नामकरण गरिएको छ ।

बागलुङ, ३१ भदौ – प्राकृतिकसँगै धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण बाग्लुङको दक्षिणी गाउँ हो, भकुण्डे । कुथुकर्मको लेक र सौरेको धुरीसम्म फैलिएको यो गाउँ दुई हजार दुई सय ५० मिटरको उचाइमा रहेको छ ।समशीतोष्ण हावापानी र हिउँदमा शूल्य डिग्री सेल्सियससम्म तल झर्ने यहाँको तापक्रम गर्मीयाममा भने ३२ डिग्री सेल्सियसम्म पुग्छ । मगर जातिको बाहुल्यता रहेको भकुण्डेमा २०६८ देखि होमस्टे सञ्चालन गरिएको छ । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो बनाएको छ । बागलुङ नगरपालिका-१० भकुण्डेस्थित होमस्टेलाई २०७३ देखि ‘अतिथि सत्कार होमस्टे’ नामकरण गरिएको छ । दैनिक सयजनालाई खाना र वास उपलब्ध हुन्छ ।

किन जाने भकुण्डे ?
भकुण्डे नयाँ पर्यटकीय गन्तव्य हो । होमस्टेमा यानीमाया, सालैजो, झ्याउरे पञ्चेबाजालगायतका लोकसंगीतको मनोरञ्जन लिन सकिन्छ । धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका २२वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । भकुण्डे भ्युटावरबाट मनोरम सूर्योदय अवलोक गर्दै बागलुङ बजार, पर्वतको कुस्मा बजार र म्याग्दीको बेनी बजारको दृश्य मनमोहक हुन्छ । लालीगुराँस र सेतोगुराँस फुलेको याममा वनभोज गर्न आनन्द हुन्छ ।
हिउँदमा मुलाबारी, सौय, बराहताललगायतका स्थानमा पनि वनभोजका लागि घुइँचो लाग्छ । त्यस्तै, स्थानीय उत्पादन मुला, मकै, कोदो, गुन्दु्रक, आलु, खुर्पानी, किबी, सिताके च्याउलगायतका विभिन्न परिकारको स्वाद लिन सकिन्छ । कुखुरा, कालो सुँगुर तथा कालिजको मासुको पनि स्वाद लिन सकिन्छ, यहाँ । भैरवस्थान, शिवमन्दिर, बराहताल, बराहमन्दिर, हिराताल, सुनझाँक्री भ्युटावरलगायतका धार्मिक स्थान पनि अवलोकन गर्न सकिन्छ ।


कसरी पुग्न सकिन्छ ?
भकुण्डे जानका लागि काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानबाट बागलुङ सदरमुकामसम्मका लागि बस, माइक्रोबस र जिप पाइन्छन् । बागलुङ सदरमुकाममा भकुण्डे हामेस्टेको सम्पर्क कार्यालय छ । त्यहाँ सम्पर्क गरेर पैदलयात्रा गर्न सकिन्छ ।
त्यस्तै, पैदलयात्रामा पर्वत सदरमुकाम कुस्मा बजारबाट पनि जान सकिन्छ । त्यसका लागि कुस्मामा रहेको यान्त्रिक पुल तरेर नारायणस्थानको बलेवा विमानस्थलको बाटो हुँदै पैयुँपाटा, अर्भक निस्केर भकुण्डे पुगिन्छ । सवारीसाधनका लागि बागलुङ सदरमुकामबाट देउराली चोकतर्फको १४ किमि र मालढुंगा हुँदै गलुवातर्फको १० किमिमा हुइँकिएपछि भकुण्डे पुग्न सकिन्छ ।

के पाइन्छ कोसली ?
भकुण्डेबाट स्थानीय परिकार कोसेलीका रूपमा लिन सकिन्छ । जस्तोः मुलाको सिन्की, धजरा, चाना, बाँकोको सिन्की, मकै सिरौँला, भाँगो, टिमुर, सिल्टिमुर, सिलाम, सिताके च्याउ, स्थानीय भटमास, कोदोको रक्सी, आलुलगायतका परिकार छन् ।
कति लाग्छ खर्च ?
काठमाडौंबाट बागलुङ सदमुकाम पुग्न गाडीभाडा एक हजार रुपैयाँ लाग्छ भने त्यहाँबाट तीन सय रुपैयाँ गाडीभाडा तिरेर भकुण्डे पुग्न सकिन्छ । होमस्टेमा एक रातको प्रतिव्यक्ति ६ सय लाग्छ । यसमै मासुसहितको खाना, बिहानको खाजा र रातको पनि समेटिएको छ । यसबाहेक स्थानीय पेयपदार्थ लिए छुट्टै खर्च लाग्छ । साँझ प्रदर्शन गरिने सांस्कृतिक कार्यक्रममा टिप्स दिने गरिन्छ । लोकदोहोरी गाउन र सुन्न चाहेमा दुई हजारसम्म तिर्नुपर्छ । हरेक शुक्रबार होमस्टे स्पेसलको व्यवस्था हुन्छ । नयाँ पत्रिका