प्रशासनको सेवा प्रवाह चुस्त

बागलुङ, ३१ भदा — जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाह चुस्त बनाएको छ । कार्यालय पुग्दा ढिलासुस्ती, अव्यवस्था व्यहोरेका सेवाग्राही अहिले सन्तुष्ट छन् । प्रशासनको काम, कारबाही प्रति जनगुनासो पनि घट्दो छ । सेवा प्रवाह छरितो र झन्झटरहित बनाउन नयाँ सुविधा थपिएको छ । कार्यालय परिसरमा पहिलोपटक सहायताकक्ष स्थापना भएको छ । त्यहाँ बस्ने कर्मचारीले विभिन्न शाखामा हुने कामबारे सेवाग्राहीलाई जानकारी दिने, कागजात मिलाइदिनेजस्ता काममा सघाउँछन् । सेवा लिन सहयोगी व्यक्ति लानुपर्ने अवस्थाको अन्त्य भएको छ । निवेदन, सिफारिश, फारममा लाग्ने शुल्क हटाइएको छ । ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति, अशक्तलाई लाममा बस्नु नपर्ने व्यवस्था गरिएको छ । इन्टरनेट सुविधाको लागि ‘फ्रि वाइफाइ’, विद्युतीय बडापत्र, विश्रामस्थल, प्रतिक्षालय बनाइएको छ । “सहायता कक्षबाटै निवेदन लेखिदिन्छौँ”, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भने, “सेवाग्राहीले शुल्क तिरेर निवेदन लेखाउनुपर्ने, बाहिरी व्यक्तिको सहयोग चाहिने अवस्था छैन ।

” कार्यालयले दलित, जनजाति प्रमाणितमा यसअघि लिइँदै आएको शुल्क पनि हटाएको छ । त्यस्तै दु्रतसेवाबाट राहदानी लिने सेवाग्राहीको लागि कार्यालयमै निःशुल्क रूपमा फारम भर्ने व्यवस्था मिलाइएको छ । भनसुन र अन्य मनशाय राखी हुने गलत क्रियाकलाप रोकिएका छन् । कार्यालयकै पहलमा सूचना अधिकारीको सञ्जाल गठन गरी सूचनाको संस्कृति बसाल्न प्रयास थालिएको छ । जिल्लास्थित सरकारी कार्यालयले सम्पादन गरेका काम र प्रगति सार्वजनिक गर्न मासिक रूपमा पत्रकार भेटघाट गर्ने थिति बसेको छ । व्यवस्थापकीय पक्ष सुधार गर्दा कार्यालयको सेवा प्रवाह चुस्त बनेको हो । “हामीले नागरिकप्रतिको उत्तरदायित्व बहन मात्र गरेका हौँ” प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले भने, “साना कामबाट पनि सुधार ल्याउन सकिने रहेछ” ।