समयानुकुल परिवर्तन

बागलुङमा संस्थागत विद्यालयमा भन्दा सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या निकै कम छ । अभिभावकको अंग्रेजी प्रतिको मोह र सामुदायीक विद्यालय भित्रको चरम बेथितीका कारण सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको हो । जिल्लाभर रहेकका ५ सय २५ सामुदायीक विद्यालय र ६४ वटा संस्थागत विद्यालयमा रहेको विद्यार्थीको संख्यालाई हेर्ने होभने संस्थागत विद्यालयको तुलनामा सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या निकै कम छ । बिशेष गरेर प्राथमिक तह मात्रै सञ्चालनमा रहेका विद्यालयमा अझै विद्यार्थीको संख्या कहालीलाग्दो अवस्थामा छ । कतिपय सामुदायीक विद्यालयमा शिक्षकको दरबन्दी पुरा रहेको भएपनि विद्यार्थीको संकट रहेको अवस्थामा छन् । सबै विद्यालय बिद्यार्थीबिहिन अवस्थामा छन् भन्ने होईन तर अधिकांश विद्यालयमा रहेको विद्यार्थीको संख्याले सरोकारवालालाई सोच्न बाध्य बनाएको छ । सकारी सामुदायीक विद्यालयमा कतै शिक्षकको दरबन्दी अनुसारको विद्यार्थीको संख्या छैन् भने कतै विद्यार्थी अनुसार शिक्षकको दरबन्दी रहेको अवस्था छैन् ।

जिल्लाकै नमुना विद्यालयलाई उदाहरणको रुपमा लिने होभने बागलुङ नगरपालिकाको नारायणस्थानमा रहेको गणेश माध्यामिक विद्यालयमा विद्यार्थी अनुसारको दरबन्दी नभएका कारण करारमा स्थानीय स्रोतबाट नियुक्त गरिएका शिक्षकहरुबाट पठनपाठन भैरहेको छ । जिल्लाम नै सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको उत्तरगंगा माध्यामिक विद्यालयमा पनि विद्यार्थीको अनुपातमा शिक्षक छैनन् । विद्यार्थी संख्या धेरै भएका विद्यालयले सेक्सनमा कक्षा सञ्चालन गनुपर्ने अवस्था रहेको भएपनि उनीहरुले आन्तरिक स्रोत जुटाएर शिक्षकको व्यवस्था गरिरहेका छन् । नमुनाका रुपमा रहेका विद्यालयबाहेक जिल्लाका प्रायः सामुदायीक विद्यालयमा रहेको विद्यार्थीको अभावलाई टार्न कुनैपनि प्रयास भएका छैनन् । शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार विद्यालयका सबै तहमा शिक्षक दरवन्दी पाउनका लागि प्रतिकक्षा कम्तीमा पनि ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था रहेको छ । तर यहिँका कतिपय विद्यालयमा विद्यालयभरि नै ४५ जना विद्यार्थी पु¥याउन कठिन हुने समस्या पनि हाम्रो सामु छ ।

यस्तै सामुदायीक विद्यालयमा शिक्षकको दरवन्दी पुरा छ । एकातर्फ विद्यार्थी नभएका विद्यालयमा रहेका शिक्षकहरुले दिनभर घाम तापेर सेवा सुविधाको उपभोग गर्ने र अर्कोतर्फ शिक्षक दरबन्दी नभएका विद्यालयले करारमा शिक्षक नियुक्त गरेर काम चलाउनुपर्ने व्यवस्थाको अन्त्य हुन जरुरी छ । विद्यालयमा रहेको समस्या समाधानको पहिलो दायित्व भनेको राज्यको पुनसंरचनापछि बनेका स्थानीय तहको हो । स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विद्यालयहरुको यथार्थ अवस्था बुझेर बिद्यार्थी संख्या कम भएका विद्यालयलाई नजिककैको पायक पर्ने विद्यालयमा गाभ्ने र विद्यार्थी संख्या उच्च रहेर पनि शिक्षक दरबन्दी नपाएका विद्यालयलाई शिक्षक दरबन्दी उपलव्ध गराउन जरुरी छ । अन्तर स्थानीय तह समायोजन वा गाभ्नुपर्ने अवस्था आएमा यसको समन्वय प्रदेश सरकारले गर्ने र राज्यकोषको दुरुपयोग हुनबाट जोगाउन जरुरी छ । यदि अहिलेकै अवस्थामा विद्यालयहरु निर्वाध चलिरहने हुन्भने कतै बिना काम शिक्षकले सुबिधाको उपभोग गर्ने र कतै शिक्षक अभावका कारण अभिभावकले चर्को शुल्क तिरेर आफ्ना बालबालिका पढाउनुपर्ने अवस्था आउने छ । समयानुकुल परिवर्तनको लागि सारोकारवाला तत्पर हुन जरुरी छ ।