मुस्ताङमा फालो पर्व सुरु

मुस्ताङ, ३१ भदौ — जिल्लाको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको मौलीक पर्व फालो शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ ।

फालो पर्वको उद्घाटन गर्दै थासाङ गाउँपालीकाका अध्यक्ष वुद्धीप्रसाद शेरचनले संस्कृतीको संरक्षणमा अग्रसर बन्नुपर्ने बताए । गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका ५ देखि १३ वर्ष मुनीका छेवार गरिसकेका कुमारहरुलाई कुमार यात्रामा सहभागी गराउने चलन रहेको थकाली सेवा समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताए । परापुर्व कालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाहरुले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखे पश्चात गाउँमा अनिष्ट नहोस भनेर पुजाआजा गर्ने र थकाली पुरुषहरुले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागि हुने चलनको सुरुवात भएको मुखीया भिमप्रसाद गौचनले बताए ।