भारतीय नागरिकमाथि सामूहिक कुटपीट

बागलुङ, ३१ भदौ — भारतका एक नागरिकलाई गलकोट चरौदीका युवाहरुले सामुहिक कुटपिट गरेका छन् । शुक्रबार राती करिब पौने १० बजे काठेखोला गाउँपालिकाको बिहुँमा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी भएर गलकोट फर्कदै गरेका गलकोट नगरपालिका–६ का १२ जना युवाहरुको समुहले भारतको मोतिहारी घर भई हाल गलकोटको हटियामा बस्दै आएका रामबाबु कुमारलाई निर्घात कुटपिट गरेका हुन् । श्रीमतीसँगै सुतिरहेका कुमारलाई एक्कासी सन्तको दाई हम भनी ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअप गाडिमा राखी गलकोट नगरपालिका वडा–११ रिघाको जंगलमा लगि निर्घात कुटपिट गरि फालिदिएको पिडितले बताए । २ ओटा पिकअप गाडीमा आएको टोलीले कुमारलाई अपहरणको शैलीमा लगेर निर्घात कुटपिट गरेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मन बहादुर बिकले बताए । अपहरण गरेरलगत्तै वरपर रहेका काम गर्ने व्यक्तिहरुले अज्ञात समुहले जर्बजस्ती कुमारलाई पक्राउ गरेको जानकारी गराए लगत्तै प्रहरी र स्थानीयले खोजी गरेका थिए । खोज्दै गर्दा अपहरण परेको करिब ३ घण्टापछि उनलाई फिर्ता गरिएको हो । गाडीमा सवार चरौदीका तेजिन्द्र नेपाली, गोविन्द नेपालीलाई हटियाको गणतन्त्र चोकबाट लुकिरहेको अवस्थामा पक्राउ गरिएको हटिया प्रहरी चौकीका प्रमुख टेक बहादुुर थाडाले जानकारी दिए । त्यस्तै ध १ ज ५५० नम्बरको पिकअप जिपका चालक चरौदीका प्रेम दमाईलाई भने हटियाको ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयबाट बोहोराफाँट जाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई सोधपुछ गर्दा आफुहरुले कुमारलाई रिघाको जंगलमा लगेर कुटपिट गरेको भन्ने जानकारी गराएपछि प्रहरी र स्थानीयको टोली घटनास्थलमा पुगेको थियो । खोज्दै जाँदा करिब रातको २ बजे कुमार जंगलमा फेला परेका थिए । कुमारले आफु सुतिरहेको अवस्थामा सन्त दाई हम भनी ढोका खोल्न लगाएको र ढोका खोलिसकेपछि रुपक दाईले बोलाउनु भएको छ भनी जर्बजस्ती रुमालले मुख थुनी जंगलमा लगि सामुहिक रुपमा कुटपिट गरेको बताए । कुमारको सबैभन्दा बढि अनुहारमा चोट लागेको छ । शरीरका प्रत्येक अंग–अंगमा निर्घात रुपमा हात र खुट्टाले पालैपाले कुटेको उनको भनाई छ । अपहरण गरि कुटपिट गर्ने १२ जनामध्ये ४ जना पक्राउ परेपनि अर्को पिकअप गाडीसँगै चरौदीकै रुपक पाण्डे, राजकुमार नेपाली र अन्य व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ । एउटा पिकअप गाडी समातिए पनि अर्को पिकअप गाडि र फरार व्यक्तिहरुको खोजी कार्य तिब्र पारिएको छ । पक्राउ परेकालाई शनिबार नै जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।