निर्मलाको न्यायका लागि बागलुङमा विरोध प्रर्दशन

बागलुङ, ३१ भदौ — कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग सहित बागलुङमा प्रर्दशन गरिएको छ ।देशव्यापी कार्यक्रम अन्र्तगत स्वतःस्फुर्त रुपमा बिना आयोजक आयोजना गरिएको कार्यक्रममा चुप लागेर नबसौ, न्याय मर्न नदिऊ, न्याय ढिलो दिनु भएको न्याय नदिनु हो, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्दोषलाई यातना दोषिलाई उन्मुक्ति, मौन सरकार, किन बढ्दैछ बलात्कार लगायतका प्ले कार्ड सहित सहभागीले बजारको लोकतान्त्रिक चोकमा प्रर्दशन गरेका थिए ।

गत साउन १० गते साथिको घरमा गएकी निर्मलाको ११ गते कञ्चनपुरको उखुबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

निर्मलाको हत्या भएको ५२ दिन वितिसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउन भन्दा संरक्षणमा लागेकाले निर्मलाका निम्ति न्याय कार्यक्रम सहित प्रर्दशन गरिएको अभियन्ता साधना पन्तले बताईन् ।

अहिले निर्मलाले न्याय नपाउनु भनेको भोली हामीले पनि यस्ता हिसां, बलात्कार र अराजकताको सामना गर्नु पर्ने अवस्था आउनु भएकाले न्यायका लागि स्वतस्फुर्त अभियान चलाएको बताईन् । सोही अवसरमा निर्मलाको न्यायका लागि दिप प्रज्वलन समेत गरिएको छ । रोट्रयाक्क क्लव अफ बागलुङले निर्मलाको हत्यामा सम्लग्नको तत्काल पहिचान गरि कडा कारवाही गर्न माग सहित हस्ताक्षर अभियान चलाएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत आव्हान गरिएको विरोध कार्यक्रममा बागलुङका विभिन्न सरकारी कार्यालयका प्रमुख, मानवअधिकार कर्मी, पत्रकार र नागरिक समाज संगैं सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।