शेयर बजारको आधारभुत तालिम सकियो

बागलुङ, ३१ भदौ– शेयर बजारको विकास विस्तारको लागि भन्दै बागलुङमा शेयर बजार सम्बन्धि दुई दिने आधारभुत तालिम सम्पन्न भएको छ । शेयर कारोवार गर्दै आएको स्थानिय संस्था इन्भेष्टमेन्ट कम्पनी बागलुङको आयोजनामा सम्पन्न तालिमबाट धौलागिरीका ३५ जनाको सहभागीता रहेको थियो । शेयर बजार सम्बन्धि जनचेतना बृद्धि र शेयर बजारमा चासो रहेका नागरिकहरुलाई यो व्यवसायमा आकर्शित गर्नको लागि तालिमको आयोजना गरीएको कम्पनीले जनाएको छ ।
शेयर बजारमा लामो अनुभव संगालेका नेपाल स्टक एक्सचेन्जका सन्तोषराज बजगाईंले तालिमको सहजीकरण गरेका थिए । दुई दिने आधारभुत तालिम निकै उपलव्धी मुलक भएको भन्दै सहभागीहरुले यस्ता खालका तालिमले शेयर बजारको महत्व बढाउने बताए । बागलुङमा शेयर बजार प्रतिको चासो बढ्दै गएकाले तालिम आयोजना गरीएको कम्पनीका अध्यक्ष पुनम प्रसाद शर्माले बताए । देशका ७७ जिल्लामानै योजनाबद्ध रुपमा यस्ता खालका तालिम आयोजना गर्नुपर्ने भन्दै शर्माले यसको लागि आवश्यक वातावरण बनाउनुपर्ने बताए ।