१७ सय किलोमिटर आर्थिक करिडोर बनाउदै चीन र म्यानमार

यी दुई देशले अहिले ग्यास र तेलको पाइपलाइन बनाइरहेका छन्। 

बागलुङ, २ असोज-चीन र म्यानमारले  १७ सय किलोमिटर लामो आर्थिक करिडोर  बनाउने सहमति गरेका छन्। अघिल्लो साता चीनको युनान प्रान्तको राजधानी कुन्मिङ र म्यानमारको मन्डालय जोड्ने आर्थिक करिडोर बनाउने विषयमा दुई देशका अधिकारी सहमत भएका हुन्। त्यो करिडोर पछि  म्यानमारको यंगुनसम्म पुग्नेछ।चीनको बेल्ट एन्ड रोड इनिसिटिभएअन्तर्गत दुई देशले आर्थिक करिडोर बनाउन लागेका हुन्। आर्थिक करिडोरमा विकास योजना, लगानी,  यातायात, उर्जा  र सीमामा आर्थिक क्षेत्र बनाउने लगायत १२ क्षेत्रमा काम हुने ग्लोबल टाइम्सले जनाएको छ।
गत वर्ष चिनियाँ विदेश मन्त्री वाङ यीले म्यानमार  भ्रमणका क्रममा आर्थिक करिडोर बनाउने प्रस्ताव राखेका थिए। यी दुई देशले अहिले ग्यास र तेलको पाइपलाइन बनाइरहेका छन्। यो आर्थिक करिडोर बनेसँगै  हिन्द महासागरसम्म पुग्न चीनलाई बाटो उपलब्ध हुनेछ। अहिलेका मलाका स्टेट हुँदै चीन हिन्द महासागरबाट व्यापार गर्दै आएको छ। यसअघि पाकिस्तान र चीनले आर्थिक करिडोर बनाइसकेका छन्। जसले चीनलाई अरब सागरसम्म पहुँच दिएको छ।