सहज ढुवानी होस्

जिल्लाको पश्चिवर्ती बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको तुरतुरेमा पहिरो खसेका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा आउनका लागि कम्तिमा पनि एक महिना लाग्ने भएको छ । कडा चट्टान खसेर बाटोमा जमेका कारण चट्टान फुटाएर बाटो खुलाउने काम निकै कठिन बन्दै गएको छ । पहिरो खसेको क्षेत्रमा ढुंगा माटो खसीरहेका कारण बन्द बाटोमा गोरेटो बनाएर आवतजावत गर्ने अवस्था समेत नरहेको सुरक्षा प्रमुखहरुले बताईरहेका छन् । बन्द बाटोमा जर्बजस्ती हिँडेकी एक महिलाको गत सोमबार ढुंगाले च्यापेर मृत्यु भएपछि स्थानीय थप त्रसित भएका छन् । बैकल्पिक मार्ग निकै लामो दुरीको रहेका कारण तुरतुरेको बाटो प्रयोग गरेर जिल्ला विभिन्न ठाउँ लगायत जिल्ला सदरमुकाममा आवतजावत गर्ने सर्वसाधारण चरम मर्कामा परेका छन् । आवतजावत रोकिएका कारण स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँमा जानको लागि मात्रै हैन स्थानीय बजारमा सकिँदै गएको खाद्य बस्तु तथा दैनिक उपभोग्य बस्तुको आपुर्तिले पिरोल्न थालेको छ ।

ढुवानी नभएका कारण सञ्चित सामान सकिएपछि स्थानीय व्यापारीले बस्तुको मुल्य बढाउन थालेका छन् । बाटोको बहानामा बजारभाउ बढेका कारण स्थानिय सर्वसाधारण मर्का परेका छन् । स्थानीय सरकार र प्रशासनको ध्यान बाटो खुलाउने र सहज आपुर्ति गराउनमा व्यस्त रहेका बेला बजारमा बढेको मुल्यले मौका छोप्ने प्रबृत्ति देखाएको छ । अनुगमन र नियन्त्रण गर्ने निकायको अनुपस्थितीमा बजारमा अभाव कायम गरेर मुल्य बढाउने प्रचलन नयाँ भने होईन् । ब्यवसायीले दुःख परेको बेला मौका छोपेर बजारभाउ बढाउनु दुखद कुरा हो । एकातर्फ बाटोका कारण ढुवानीमा समस्या भैरहेको छभने अर्कोतर्फ नजिकिँदै गरेको चाडपर्वका कारण बजार भाउमा तलमाथि गर्ने अवसर व्यवसायीहरुले पाएका छन् । बाटो खुलाउनका लागि लामो समय लाग्ने अनुमान गरेको प्रशासनले बैकल्पिक मार्गको खोजी गरिरहेको छ । बैकल्पिक मार्गलाई तत्काल सञ्चालनमा लाएर तुरतुरेको पहिरोका कारण रोकिएको ढुवानीलाई सहज बनाउन जरुरी छ ।

व्यवसायीले बैकल्पिक मार्गको प्रयोग गरेर सामानको ढुवानी गर्दा समेत मुल्य बढी पर्ने बहानाबाजी गर्न सक्ने भएकाले बजार मुल्यको अनुगमन र नियन्त्रण गर्नको लागि पनि स्थानीय सरकार र प्रशासन लाग्नु जरुरी छ । संकट परेका बेला मौका छोपेर होईन साथ दिएर उपयुक्त विकल्पको खोजी गरेर व्यवसायीक मर्यादा कायम रहने गरी सर्वसाधारणलाई बस्तु तथा सेवा प्रदान गर्नमा व्यवसायी पनि जिम्मेबार बन्न जरुरी छ । चाडवर्पका बेला मात्रै जिल्ला सदरमुकाममा अनुगमन गर्ने उपभोक्ता हितमा काम गछौं भन्नेहरुले बिपद्को पिडामा रहेको बडिगाड र ढोरपाटन क्षेत्रमा अनुगमन गरेर उपभोक्ता ठगिनबाट जोगाउनु आवश्यक छ । बस्तुको बजारभाउ सडकका कारण होईन व्यवसायीको महत्वकांक्षाका कारण महंगो भैरहेको आम उपभोक्ताले समेत जानकारी राख्ने र उपभोग्य सामानको खरिदमा मुल्य बढेको पाईएमा प्रश्न गर्ने आँट गर्न आवश्यक छ ।